• २५ चैत २०८१, सोमबार

पुस्तकालय साथी र यात्रा

blog

मनम वाग्लेलाई पुस्तकालय एकदम मन पर्छ । उनी विद्यालयबाट फुर्सद पाउनासाथ साथीहरूसँग पुस्तकालय जान्छन् । उनी सधैँ नयाँ किताब पढ्न मन पराउँछन् । पुस्तकालयभित्र प्रवेश गरेपछि ठुलो स्वरले बोल्न हुँदैन भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ । उनी किताब पढेर कहिल्यै थाक्दैनन् । उनी आफ्नी सानी बहिनी मानवीसँग मिलेर खेल्छन् । उनी सधैँ सफा भएर हिँड्छन् । हात धोएर खाना खाने उनको बानी छ । उनी बिहान र बेलुका खाना खाएपछि राम्रोसँग दाँत माझ्छन् । उनको अक्षर एकदम राम्रो छ । उनी साथीहरूलाई जस्तै किताबलाई पनि माया गर्छन् । उनी सधैँ गृहकार्य गर्छन् । किताब पढ्नु, पौडी खेल्नु र फुटबल खेल्नु उनको सोखको विषय हो । 

मनमलाई लाइफ ज्याकेट लगाएर पौडी पोखरी र समुद्रमा पौडी खेल्न धेरै मन पर्छ । पौडी खेल्दा शरीर स्वस्थ हुन्छ । यदि कुनै समयमा पानीमा खसियो भने पौडी खेलेर बाहिर जमिनमा आउन सकिन्छ । शरीर स्वस्थ भएपछि सबै कुरा राम्रोसँग गर्न सकिन्छ ।  

उनका आमाबुवा अमेरिका जानुभएको धेरै वर्ष भयो । मनम अमेरिकामा जन्मिएका हुन् । उनी आफ्नो पुख्र्यौली देश नेपाललाई एकदम माया गर्छन् । उनी आफ्नो घरमा सधैँ नेपाली भाषामा राम्रोसँग हाँसीहाँसी कुरा गर्छन् । उनी आफ्नी सानी बहिनी मानवीसँग मिलेर बस्छन् । बहिनीसँग खानेकुरा बाँडेर खान्छन् । उनलाई बहिनी रोएको मन पर्दैन । यदि बहिनी लडिन् भने मनम उनलाई माया गरेर उठाउँछन् । बहिनी खुसी भइन् भने उनी पनि खुसी हुन्छन् । उनी आफ्नो घरको सानो काम गरेर आमालाई सघाउँछन् । 

उनी कापीमा राम्रा राम्रा चित्र बनाएर विभिन्न किसिमका रङ लगाउँछन् । उनले बनाएका रङ्गीन चित्रहरू घरको भित्तामा टाँस्ने गर्छन् । उनलाई नेपाली झन्डा बनाएर रङ्ग्याउन धेरै मन पर्छ । उनी आफ्ना नातेदार र नेपाली समुदायसँग भेट हुँदा पनि नेपाली भाषा नै बोल्छन् । उनले नेपाली भाषा फररर बोलेको सुनेर सबै जना छक्क पर्छन् । उनलाई नेपाली गीत गाउन मन पर्छ । उनी नेपाली टेलिफिल्म धेरै मन पराउँछन् । उनी भर्खर छ वर्षको भए । 

अमेरिकाको साउथवेस्ट एयरलाइन्सका विमानचालक र विमान परिचारिकासँग तस्बिर खिच्न पाउँदा मनम ज्यादै हर्षित भएको देखिन्छ । 

मनम अन्तरिक्षका कुरा पढ्न, सुन्न र हेर्न एकदम मन पराउँछन् । उनलाई सबै ग्रहका नामहरू थाहा छ । उनी रकेट, जहाज र रेलसम्बन्धी कुरामा धेरै जानकारी लिन्छन् । उनी रकेट र जहाज कसरी उड्छ ? त्यसमा कति जनासम्म बस्न मिल्छ भन्ने कुरामा पनि उत्सुक भएर हेर्छन् ।  उनी विभिन्न किसिमका जहाज, रेल र बसका बारेमा हाँसीहाँसी गफ गर्छन् । 

मनमलाई ग्रहका नामहरू सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु मजासँग भन्न सक्छन् । उनलाई अन्तरिक्षमा घुम्ने रहर छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र बुद्ध जन्मेको देश नेपाल हो भन्न पाउँदा उनी धेरै गौरवान्वित हुन्छन् । नेपाल गएको समयमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसँग मनमले आफ्ना अभिभावकसहित भेट्ने अवसर पाएका थिए ।

मनम नेपाल गएर काठमाडौँ उपत्यका र देशका पर्यटकीय स्थलहरूको भ्रमण गरिसकेका छन् । उनलाई काठमाडौँको घण्टाघर, रानीपोखरी, धरहरा, हनुमानढोका, वसन्तपुर, पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्ध स्तूप, भक्तपुर, नगरकोट, पाटन दरबार, चिडियाखाना, चन्द्रागिरि केबुलकार मन पर्छ । मनमलाई असन बजार, इन्द्रचोक, नेपाली खानाका परिकार, राम्रा राम्रा रङ्गीचङ्गी लुगाहरू, नेपाली झन्डा, सहयोगी र हँसिला मानिस देख्दा एकदम रमाइलो लाग्छ । स्वयम्भूनाथ र पशुपतिनाथका बाँदरहरू, काठमाडौँ र पाटन दरबारमा झुम्मिँदै नडराइकन आउने परेवाहरू देख्दा उनी ज्यादै रमाउँछन् । परेवाहरूलाई दाना दिएर रमाउने र उनीहरूसँगै खेल्न पाउँदा उनी धेरै खुसी हुन्छन् । 

उनी नेपाली विवाहमा सहभागी भएर पञ्चेबाजाको तालमा नाचेका छन् । विवाहको भोजका मिठा मिठा परिकार स्वाद लिएर खाएका छन् । उनलाई विवाहमा बजाउने बाजाहरू नरसिङ्गा, सनई, दमाहा, झ्याम्टा (झ्याली), ढोलक, ट्याम्को इत्यादिका सङ्गीतमय आवाज सुन्दा नाच्न मन लाग्छ । उनी आफ्नै उमेरका साथीहरूसँग छमछमी नाच्छन् । 

मनमले आफ्नो विद्यालयमा शिक्षक तथा शिक्षिका र दमकल कार्यालयमा काम गर्ने कर्मचारीद्वारा कसैको घर, गाउँ, सहर अथवा वनजङ्गलमा आगो लाग्यो भने कसरी नियन्त्रण गरेर निभाउने भन्ने कुराको जानकारी लिएका छन् । आगो लागेको ठाउँबाट कसरी बच्ने भन्ने कुरा उनले सिकेका छन् । 

बिदाको दिन आमाबुवासँग उनी घुम्न जान्छन् । रिसाउने बानी राम्रो होइन भन्ने कुरा उनले आफ्नो अभिभावक र विद्यालयका शिक्षक तथा शिक्षिकाबाट सिकेका छन् । यदि कुनै साना केटाकेटीले भनेको नमानेर रुँदै धेरै पिरोलेमा केही मानिसले मनम जस्तो ज्ञानी र अनुशासित हुनु पर्छ भनेको सुन्दा मनमलाई एकदम आनन्द लाग्छ । 

मुना  

Author

डा. मुकुन्द पथिक