• ११ पुस २०८१, बिहिबार

फलफूल उद्योग अलपत्र

blog

सिन्धुली समाचारदाता 

सिन्धुलीमाढी, जेठ २२ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ मा निर्माणाधीन फलफूल प्रशोधन उद्योग लगानी अभावमा अलपत्र परेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा सरकार, उद्योगी र किसानको सहभागितामा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन कम्पनी निर्माण गरिएको थियो । सो कम्पनीले छ करोड रुपियाँको लागतमा आठ वर्षअघि उद्योग निर्माण सुरु गरेको थियो । सरकारी अनुदान रोकिँदा उद्योग निर्माण अधुरो भएको सञ्चालकको गुनासो छ । 

उद्योग वाणिज्य महासङ्घको एक गाउँ, एक उत्पादन परियोजनाअन्तर्गत फलफूल प्रशोधन उद्योग निर्माण सुरु गरिएको थियो । “महासङ्घले हात झिकेपछि सरकारले दिने करिब दुई करोड रुपियाँ रोकियो,” उद्योग सञ्चालक समितिका सदस्य दीपक कोइरालाले भन्नुभयो ।महासङ्घमा सुरुज वैद्यको नेतृत्व हुँदा उक्त परियोजनामार्फत उद्योग निर्माण सुरु भएको हो । महासङ्घमा नेतृत्व परिवर्तन भएपछि यो योजनालाई बेवास्ता गरिएको स्थानीयवासीको गुनासो छ । 

“उक्त उद्योग निर्माणका क्रममा अहिलेसम्म सरकारको करिब दुई करोड रुपियाँ अनुदान र किसानको लगानीसमेत गरेर चार करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ । भौतिक संरचना निर्माण पूरा भइसकेको छ । अहिले भवन र ग्रेडिङ मेसिन मात्रै रहेको छ । जुस उत्पादन गर्ने मेसिन पूरा भएको छैन,” उहाँले भन्नुभयो । 

सञ्चालक कोइरालाका अनुसार कृषक आफैँले लगानी गरी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने अवस्था छैन । मुख्य गरी जुनार, भुइँकटहर र आँप प्रशोधन गरी गुणस्तरीय फलफूल बजारमा पु-याउने उद्देश्यले उद्योग निर्माण सुरु भएको थियो । प्रशोधन उद्योगमा उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यसमेतको लगानी रहेको छ ।  सिन्धुली उद्योग वाणिज्य सङ्घका महासचिव रामकुमार राजभण्डारीका अनुसार पाँच वर्षअघि नै उक्त उद्योगले निर्माण पूरा गरी परीक्षणका रुपमा जुनारको जुस पनि उत्पादन गरेको थियो । “अहिले किन सञ्चालन नभएको हो, हामीलाई पनि जानकारी छैन,” उहाँले भन्नुभयो ।