• २३ चैत २०८१, शनिबार

आफैँतिर फर्केर हेर !

blog

केही दिनपहिले प्रदीप गिरीले सम्पादन गरेको बिपीका रचना, चिठीपत्रहरू, भाषण, अदालती बयान र अन्तर्वार्ताको सङ्कलन पल्टाउँदै थिएँ । लामो कालखण्ड ओगटेका र विषयगत विविधता भएका उहाँका अभिव्यक्ति अत्यन्त सरल र सम्प्रेषणीय लाग्यो । यस्ता सबैखाले अभिव्यक्तिमा बिपी आफ्नो राजनीतिक उद्देश्य र तत्काल लिएका निर्णयहरूको बारेमा व्याख्यान दिनुहुन्थ्यो । समाजवादको अर्थ खुलाउन प्रयत्न गर्नुहुन्थ्यो । तत्कालीन राजनीतिक घटनाबारेका आफ्ना धारणा र विश्लेषण प्रस्तुत गरेर श्रोता या दर्शक या पाठकसँग संवाद गर्नुहुन्थ्यो । उहाँको राजनीतिसँग असहमत भए पनि पुस्तक पढ्दा मलाई लागेको सुन्दर पक्ष भनेको उहाँको भाषामा रहेको शिष्टता र ज्ञानको फराकिलो आयाम हो । आफूलाई त्यतिका वर्ष यातना दिएर जेलमा सडाउने दुःख दिने राजालाई उहाँ प्रायः ‘महाराज’ नै भनेर सम्बोधन गर्नुभएको भेटिन्छन् तर राजतन्त्रका बारेमा आफ्ना मतहरू राख्न र आलोचना गर्न पनि छाड्नु हुन्न् । एक दुई ठाउँमा कसै कसैलाई लक्षित गरेर विदेशी दलाल भन्ने लाञ्छनायुक्त शब्द प्रयोग गर्नुभएको छ । बाँकी सबैप्रति उहाँको तटस्थ भाव रहेको देखिन्छ । एउटा मान्छेका रूपमा आफ्ना भावना र कमजोरीहरू खुलस्त राख्नुभएका पाठहरू पनि छन् । पत्नी सुशीलालाई लेखेको पत्र हेर्दा उहाँमा निहित एउटा भावुक प्रेमी, आममान्छे जस्तै सांसारिक र कमीकमजोरीसहितको मानवीय भावनाले प्रेरित व्यक्ति भेटिन्छ । उहाँका सबै विश्लेषण परिस्थितिसँग ट्याक्क मिल्ने थिएनन्, कतिपय अल्पसूचना र अनुमानका भरमा पनि उहाँले टिप्पणी गर्नुभएको छ तर यसले उहाँको व्यक्तित्व घटाएको छैन । आफ्नै स्वास्थ्यसँग, राजासँग र पार्टीभित्रै त्यत्रो सङ्घर्ष र प्रतिद्वन्द्विता झेलेर आएका उहाँको त्यो सभ्य र शिष्ट भाषासँग आजको हाम्रो नेतृत्वको तुलना गर्छु । दिक्क हुन्छु । 

अहिलेको हाम्रो नेतृत्व वर्ग बिस्तारै आमजनताको भाषामा साधारण मानिससँग संवाद गर्नबाट चुकेको जस्तो देखिन्छ । कतिपय त भाषा प्रयोग गर्दा आफ्नो समग्र व्यक्तित्व नै पुड्को हुने गरी नमिठो र कठोर शब्द खोजी खोजी ल्याउँछन् । एकअर्कासँग भेट हुँदा पनि बोल्न लाज मान्नुपर्ने गरी आरोप लगाउँछन् । जति चर्को गाली, जति कडा आरोप उती राम्रो भाषण हुन्छ भन्ने भ्रममा देखिन्छन् । यस्तो लाग्छ भद्धा र अश्लील पत्रकारिता गरिरहेको कुनै टिभी एङ्कर यिनका मानक हुन् ।

उता लामो समयसम्म उही अनुहारका नेताहरू, उस्तै बोली र हाउभाउ तथा दोहोरिरहने अर्थ गुम्दै गएका शब्दहरूका कारण नेतृत्वसँग टाढिँदै गएको सर्वसाधारणको पङ्क्तिको निराशा आक्रोशमा बदलिँदै छ । नयाँ र निराश हुँदै गएको पुस्तासँग संवादमा रहनुपर्ने पार्टीका दोस्रो र तेस्रो तहको नेतृत्व पनि पूराका पूरा आफ्ना अधिपतिको छायाँमा परेर ओइलाएका जस्ता देखिन्छन् । तिनीहरू एकैछिन् जनतातिर फर्के झैँ गर्छन् फेरी दौडदै आफ्नो कुर्सीको सुरक्षार्थ मुख्य नेतृत्वसामु शिर निहुर्‍याएर बस्छन् । यसरी सर्वसाधारण जनता र सत्तामा भएका या संसद्को मुख्य शक्तिका रूपमा रहेका दलहरूकाबिच दुरी बढ्दै जाँदा के हुन्छ भन्ने कुरा चैत १५ गतेको प्रदर्शनमा अराजक गतिविधिमा संलग्न भिडले देखाएको छ । राजनीतिक दल, तिनका नेता कार्यकर्ता र जनताका बिच खुला र जीवन्त संवादले मात्र नागरिक र राज्यका बिच सकारात्मक सम्बन्ध स्थापित हुन्छ, मानिसहरूले आफ्ना कुरा राज्यले सुनेको छ भन्ने विश्वास गर्न सक्छन् । त्यसैले नेतृत्वले खुलस्त र विश्वसनीय संवाद गर्नु जरुरी छ । सरकारमा रहेका या गैसकेकाले छलछाम या झुटमुट कुरा गरेर जनता झुक्याउने जमाना पनि सकिए । आममानिसलाई आफ्नो जीवनसँग राज्यका नीति र व्यवहार कत्तिको जोडिएका छन्, नेतृत्वको जीवनशैली र उनीहरूका भनाइ तथा गराइका बिच कति भिन्नता छ भन्ने थाहा छ । अहिलेको सङ्कटको अर्को कारण नेताहरूको भनाइ र वास्तवमा गराइका बिच कत्ति पनि तालमेल नभएको आममानिसलाई लाग्नु हो, विश्वास हुनु हो । त्यसैले जनतासँग नढाँटीकन गरिने संवाद मात्रै अब अहिलेको नेतृत्व र जनताका बिचको दुरी घटाउने उपाय हो ।

एक पटक सरकारमा गइसकेका या सत्तारूढ दलको नेतृत्वमा रहेकाहरूले त आफ्नो सरकार हुँदा के के सुधार गरियो शिक्षामा, स्वास्थ्य सेवामा, श्रमिकहरूको हितमा, किसान र भूमिहीनहरूका पक्षमा, युवा र बालबालिकाको हितमा, पूर्वाधार निर्माणमा के गरियो, के गर्न प्रयास गरियो, के के गर्न सकिएन, किन सकिएन, के गर्न कसकसले बाधा हाल्यो भन्ने विषय सहजसँग नढाँटीकन सम्प्रेषित गर्नुपथ्र्यो । यस्तो कुरा भन्न चर्को बोलिरहनु पनि पर्दैन । मानिसहरूसँग उनीहरूले बुझ्ने भाषामा संवाद गर्ने, आलोचना र प्रश्नहरू धैर्यपूर्वक सुन्ने र आवश्यक ठाउँमा आत्मालोचना गर्दै माफी माग्दै हिँड्ने हो भने मात्र त्यस्तो संवादले जनताको विश्वास जित्न सकिन्छ । 

सरकारमा हुँदा जनताले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा सुधार भयो भएन, रोजगारी सिर्जना भयो भएन, महँगीबाट साधारण मानिसलाई राहत दिन के के गरियो भन्ने कुरा महìवपूर्ण हुन्छ । सर्वसाधारण जनताले घरभित्र बाहिर आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन अनुभव गरेका छन् भने त्यस्तो गर्ने नेताको भाषणमा यसै ताली बज्छ । प्रतिपक्षमा रहेको र उदाउँदो व्यक्तिले सपनाका कुरा र उधारो कुरा गर्दा पनि हुन्छ । सरकारमा हुनेले गरेका काम नै उसको योग्यता र वक्तव्यको परीक्षणको कसी  हो । आफूलाई जबर्जस्त सही र सत्य साबित गर्न खोजियो भने चाहिँ राम्रो कुरा पनि सुनिन छाड्छ । यस्तो कुरा सर्वसाधारण नागरिकले पनि बुझेका हुन्छन् । नेताहरूले सधैँ मानिसलाई उधारो भविष्यको सपना देखाएर लट्याउन सकिन्न भन्ने बुझ्दा राम्रो हुन्थ्यो ।

अहिलेका धेरै जसो नेता र दलहरू आलोपालो सरकार चलाइरहेका छन् तर अहिले पनि जनतालाई उधारो आश्वासन बाँडिरहेका छन् । जो आजै सत्तामा छ, जसका मन्त्री र मुख्यमन्त्रीहरू छन्, स्थानीय तहका प्रमुख छन्, प्रतिनिधि सभामा धेरै सदस्य छन् । उसको सङ्गठन आबद्ध मान्छेहरू विश्वविद्यालयका भिसी छन्, सचिवदेखि पियनसम्म कर्मचारी र शिक्षक प्रहरी यिनैका छन् । तिनले अहिले के काम भइरहेको छ, अर्को वर्ष के गरिन्छ, जनताका असुविधा कसरी हटाइन्छ, गरिबी हटाउन के योजना छ, पूर्वाधारमा के के गरिँदै छ, शिक्षा क्षेत्रमा सुधार गर्न के के गरिँदै छ, लोकतन्त्रलाई बलियो बनाउने संस्थाहरूलाई बलियो बनाउन के के गरियो भन्ने फेहरिस्त पो सुनाउनु पर्छ । सुशासनका क्षेत्रमा, कानुनी शासनका क्षेत्रमा, औद्योगिक विकास र लगानीयोग्य वातावरण बनाउने विषयमा के गरियो र त्यसले देशलाई आउने तीन वर्ष या पाँच वर्षमा कहाँ पु¥याउँछ भनेर पो भन्नु पर्छ । यहाँ त चर्को स्वरमा अर्कोलाई गाली गरेर आफूलाई असल देखाउने प्रयत्नमा नै नेता कार्यकर्ता जोर जुलुम गरिरहेका भेटिन्छन् । अनि कसरी पत्याउँछन् र विश्वास गर्छन् जनताले ? 

यसको परिणाम के भएको छ भने मुख्य राजनीतिक दलको पहिलो पुस्ता मात्र होइन दोस्रो, तेस्रो पुस्ताले पनि क्रमशः जनताको विश्वास र आकर्षण गुमाउँदै गइरहेको छ । उनीहरूको सार्वजनिक अपिल गर्ने नैतिक धरातलमा पहिरो गएको छ । हुन सक्ला शङ्कर, गगन, योगेश या वर्षमान, जनार्दन जिल्लातिर जाँदा कार्यकर्ता र समर्थकको सानो ठुलो भिड जम्मा भएको होला । ती साधारण जनताभन्दा शक्तिको नजिक हुन उहाँका अघिपछि लागेर सेल्फी खिच्ने सेल्फिस कार्यकर्ता र बिचौलिया बढी हुन् कि जनता हुन् भन्ने पनि छुट्याएर हेर्नु पर्छ ।

२०४७ पछिको कालखण्डमा देशमा राजनीतिक परजीवीहरूको राम्रै उत्थान भएको छ । राजनीतिक कार्यकर्ताहरू यसको अग्रभागमा पर्छन् । तिनको काम कमिसन एजेन्ट, ठेकेदार र व्यापारीलाई नेतृत्वसँग भेटाइदिनु, तिनको काम पट्याइदिनु, सरकारी कार्यालयबाट अनुमति या लाइसेन्स मिलाइदिनु, प्रहरी र कर्मचारीहरूको सरुवा बढुवामा भनसुन गरिदिनु, ढुङ्गा, गिटी र बालुवाको व्यापारमा कब्जा जमाउन सघाउनु, ठग, गुन्डा लफङ्गाहरूलाई उनीहरूको अपराध कर्मबाट दण्डित हुनबाट बचाइदिनु । अरू बन्द व्यापार, उद्योगधन्दा नगरी यसरी हुर्केको तप्का त नेताहरूको अघिपछि सेल्फी खिच्न जता पनि सवारी साधन लिएर पुग्छ । खुवाउँछ, पियाउँछ र त्यो सम्पर्क र सम्बन्ध बेचेर निर्वाह गर्छ । यस्तो पङ्क्तिलाई देखेर नेताहरू लट्ठ परिरहेको देख्छु । 

यसबाहेक आमसाधारण नागरिक अहिले मुख्य राजनीतिक दल र नेतृत्वसँग दुरीमा छ । त्यो पङ्क्ति धेरै जसो घृणा ओकल्छ र चियापसल या सामाजिक सञ्जालमा पसेर वर्तमान अवस्था र व्यवस्थाप्रति धारेहात लगाउँछ । के यसका लागि अहिलेको नेतृत्व आफैँ जिम्मेवार छैन ? यसरी घृणा ओकल्नेमा कांग्रेस, एमाले या माओवादीमा लागेर लामो समय कार्यकर्ता भएका, सदस्य या समर्थक बनेका र मत दिएर आफ्नो जीवनमा परिवर्तन होला कि भनेर पर्खंदा पर्खंदा निराश भएका धेरै छन् । देशभित्र पनि छन् र विदेशका चिसा या भयानक ताता कर्मथलोमा पनि छन् ।

यी सन्दर्भ यहाँ झिक्नुको तात्पर्य हाम्रो नेतृत्वको बद्ख्वाइँ गर्न पटक्कै होइन । बरु देशले अहिले पनि आर्थिक वृद्धि र सामाजिक परिवर्तन र रूपान्तरणको लय समात्न नसकेकाले उत्पन्न निराशाका लागि अहिलेको नेतृत्वले आफ्नो भागको जिम्मेवारी बहन गर्नै पर्छ भन्ने बताउन हो । यसबिचमा नहुनुपर्ने धेरै कुरा भएका छन् र हुनुपर्ने साह्रै थोरै मात्र भएका छन् ।

नयाँ संविधान बनेपछि मात्र पनि लोकतन्त्रलाई संस्थागत गर्न संविधानले तोकेका जिम्मेवारी सरकारहरूले पूरा गरेका भए, अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक कदम चालिएको भए यो निराशा र आक्रोशको सामाजिक उन्माद हुर्कने थिएन । जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतिर लक्षित गरेको भए मात्र पनि जनता यति आक्रोशित हुने थिएनन् । बेरोजगारीले रित्तो पेटमा लखेट्दै गाउँबाट सहर र सहरबाट गाउँ गर्दा पनि जीविकाको स्रोत नभेटिने गरी अर्थतन्त्र नखुम्चिएको भए मानिसहरू निराशाका कुरा गर्ने  थिएनन् र दलहरू गतिशील छन् र नेतृत्व हस्तान्तरणका विधि दलमा नयाँ रगत इन्जेक्ट गर्न अवरोधक छैनन् भन्ने प्रस्ट सन्देश हुँदा पनि मानिसले आशा गुमाउने थिएनन् । यस विषयमा जे जस्तो भएको हो त्यही भाषामा जनतासँग संवाद नगरिकन त कसरी उनीहरूको चित्त बुझाउन सकिन्छ र ? यो निराशा र आक्रोशलाई कुनै लोकरिझ्याँइवाला अराजनीतिक बज्रस्वाँठले उपयोग गर्नु अगाडि नेतृत्वले जनतासँग खुला संवाद गरेको राम्रो ।