बिपी कोइरालाले एक पटक भन्नुभएको थियो ‘राजा भनेको अलग्गै हो भनेर हामीले सोच्नु पर्दैन । राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ...।’
हुन त यो बिपी बाँचेको समय होइन । उहाँले त्यो बेला भन्नुभएको यस्ता भनाइमा नेपाली कांग्रेसलाई जोडेर अहिले अनेकथरीका मिथक प्रचारमा ल्याइएका छन् । कसैले पनि बिपीका यस्ता भनाइलाई समय सान्दर्भिकता व्याख्या वा विश्लेषण गरिरहेको छैन । स्वयम् नेपाली कांग्रेसले पनि बिपीका यी नीति र सिद्धान्तलाई समयानुकूल व्याख्या, विश्लेषण र नागरिकलाई त्यसको महत्व बुझाउन सकिरहेको छैन । यस मानेमा कांग्रेसको सनातन कमजोरी यो हो कि, परिवर्तनका हरेक इतिहासलाई उसले जनतामाझ स्थापित गराउने वा त्यसलाई संस्थागत गर्ने खालका काम कहिल्यै गर्न सकेन । आमजनताका अपेक्षा सम्बोधन गर्न नसक्नु वा हुन नसक्नुको एउटा राजनीतिक कारण यो पनि हो ।
खास गरी त्यो बेला मेलमिलापको नीति लिएर भारतको निर्वासन त्याग्दै नेपाल आउने बेलामा बिपीले त्यस्तो भन्नुभएको थियो । उहाँको मेलमिलाप नीतिको सान्दर्भिकता आज पनि सकिएको छैन । त्यसैले बिपीका हरेक सिद्धान्त र नीति कालजयी थिए । र पो उहाँलाई हामीले दूरदर्शी राजनेताका रूपमा सधैँ सम्मान गरिरहेका छौँ । बिपीले ‘राजा’ लाई एउटा राष्ट्रिय तत्व भन्नुभएको थियो र एउटा राष्ट्रिय तत्वसँग अरू राजनीतिक शक्तिको मिलाप गराउने ध्येय लिएर उहाँ नेपाल फर्किनुभएको थियो । आज परिस्थिति त्यस्तो छैन । न राजनीतिक परिस्थिति त्यस्तो छ न त यहाँको राजनीतिक व्यवस्था र शासकीय प्रणाली हिजोको जस्तो छ । समय फेरिइसकेको छ । परिस्थितिहरू धेरै तीव्र गतिमा अघि बढिसकेका छन् । त्यसैले यसलाई पछि फर्काउने भन्नेचाहिँ कुतर्क मात्रै होइन, असम्भवप्रायः नै हो । कांग्रेसको अहिलेको नेतृत्वले पनि भनिसकेको छ कि ‘राजा कुनै पनि हालतमा हुँदैनन् ।’ अब धेरै पटक वा पटक पटक भन्नै पर्दैन राजा त हुँदै हुँदैन भनेर । अहिलेको परिस्थितिमा कांग्रेसको एक मात्रै ‘लाइन’ यही मात्रै हो ।
तथापि देशको परिस्थिति भने सहज छैन । अवस्था गम्भीर हुँदै गइरहेका छन् । व्यवस्थाप्रति लक्षित नागरिकका आक्रोश र असन्तुष्टि यति धेरै चुलिइसकेका छन् कि कुनै न कुनै रूपमा ती सडकमा विस्फोट भइरहेका छन् । यस्तोमा हामीले त्यसलाई कमजोर आक्यौँ भने अझ ठुलो मूल्य चुकाउनुपर्ने निश्चित त छँदै छ र त्यसको जिम्मेवार अहिलेको राजनीतिक नेतृत्वले नै लिनु पर्छ । गत चैत १५ गते तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन जसरी हिंसात्मक भयो त्यो यसैको परिणाम हो । किनकि राजावादीको आन्दोलनमा अहिले राजा माग्ने वा चाहनेभन्दा यिनै राजनीतिक दलका असन्तोष, कुण्ठा र बैराग्य पालेका नागरिकको सहभागिता छ ।
राजनीतिक दल वा भनौँ सरकारले नागरिकका अपेक्षा अनुरूप ‘डेलिभरि’ गर्न सकेको भए सायद यस्ता प्रतिक्रियात्मक आन्दोलनमा स्वाभाविक रूपमा सचेत नागरिकको भिड हुँदै हुँदैन । यसको सम्पूर्ण जिम्मेवारी अहिलेका राजनीतिक दल नै हुन् । यद्यपि संसदीय अङ्क गणितमा कांग्रेसको स्थान जुनसुकै होओस्, राष्ट्रमा हुने यस्ता हरेक प्रकारका परिस्थितिको जिम्मेवारी कांग्रेस नै हुनु पर्छ वा जिम्मेवारी लिनै पर्छ । किनकि कांग्रेस एक राजनीतिक दल मात्रै होइन, राष्ट्रियता, लोकतन्त्र र समाजवादको एउटा पहरेदार पनि हो । त्यसको ऐतिहासिकतासँग कांग्रेसको जुन साइनो छ, त्यसले पनि उसलाई यो दायित्वबाट भाग्ने छुट त छँदै छैन । यद्यपि सरकारले नागरिकका चाहना अनुसार काम गर्ने वातावरण निर्माण गर्न खोजेको आभास हुँदै छ ।
बिपीले के पनि भन्नुभएको छ भने ‘हामीले आफ्ना विरोधीलाई सिद्धान्तका आधारमा जित्नु पर्छ । हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनु पर्छ तर व्यक्तिगत हुनु हुँदैन । हामीले आफ्नो सिद्धान्त त्यागेर कोहीसँग पनि सम्झौता गर्नु हुँदैन ।’ अहिले भइरहेको पनि ठ्याक्कै यस्तै छ । परिस्थिति ठ्याक्कै उही छ । एउटा व्यवस्थाको अन्त्यपछि त्यसका अवशेषित आयामहरू बेला बेलामा चलमलाउनु अस्वाभाविक होइन । परिवर्तनको रक्षार्थ अनि उपलब्धिलाई जोगाइराख्नका लागि त्यस्तो परिस्थितिलाई कसरी सुल्झाउने विषयको नेतृत्व कांग्रेसले लिनु पर्छ । बिपीका उनै आदर्श अनि सिद्धान्तकै जगमा आफूलाई यहाँसम्म ल्याएको कांग्रेस फेरि यस्ता ऐतिहासिक जिम्मेवारीबाट भाग्न पाउँदैन ।
यो लोकतन्त्र हो । लोकतन्त्रका राष्ट्रका हरेक नागरिकलाई उत्तिकै समान अधिकार हुन्छ । राजाको ठाउँमा एउटा नागरिकलाई देशको सर्वोच्च निकाय राष्ट्रपति हुन पाउने अधिकार पनि यही लोकतन्त्रले दिएको छ । त्यो अधिकार पनि यही संविधानले दिएको छ । मात्रै हामीले संविधानको मर्म र भावना अनुसार राजनीतिक व्यवहार लागु गरे पुग्छ । त्यसैले अहिलेको राजनीतिक व्यवस्थाका अरू केही दोष छैनन् । मात्रै त्यसको कार्यान्वयनको जिम्मेवारी पाएका वा नागरिकले आफ्ना प्रतिनिधिका रूपमा चुनेका प्रतिनिधिले नै नागरिकको आकाङ्क्षा अनि अपेक्षा सम्बोधन गर्न नसक्दा मात्रै यस्तो परिस्थिति बल्झिएको हो । हिजो राजतन्त्रको बेला वा दरबारिया शासनका बेला आफूलाई ‘लोकतन्त्रवादी हुँ’ वा ‘समाजवादी हुँ’ भन्न कहाँ पाइन्थ्यो र, जसरी आज संसद्मा छाती पिटिपटी ‘म राजावादी हुँ...’ भन्न पाइएको छ । लोकतन्त्रको सुन्दरता भनेको यही हो । अनि लोकतन्त्रका यस्तै फूलहरूको माली भनेको नेपाली कांग्रेस हो ।
लोकतन्त्र र समाजवादका लागि आफूलाई सधैँ अग्रणी ठान्ने दुई ठुला दलले बलियो सरकार चलाइरहेका बेलामा यसरी सडकमा व्यवस्थाविरोधी नारा लाग्नु राम्रो सङ्केत होइन । हामी नागरिकप्रति कति जिम्मेवार छौँ भन्ने यथार्थ नै अहिलेको सडकमा देखिएको हो । राज्य सञ्चालनका हरेक प्रणालीबाट आमनागरिकलाई जब टाढा राख्ने प्रयास गरिन्छ तब ती शासकीय प्रणाली मात्रै प्राविधिक हुन पुग्छन् र तिनले नागरिकको मन कहिल्यै बुझ्न सक्दैनन् । कुनै पनि व्यवस्था यहिँनेर फेल हुन्छ ।
एउटा लोकतन्त्रवादी दल वा व्यक्ति वा राजनीतिक भाषामा सिधासिधा भन्दा एउटा लोकतन्त्रवादी शासकले सधैँ लोकतान्त्रिक मूल्य र मान्यताको खोजी गरिरहेको हुन्छ । त्यसलाई जोगाउने हरप्रकारका सम्भावनाका लागि आफूलाई लीन बनाइराखेको हुन्छ । त्यही लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा राजनीतिक र शासकीय अभ्यास गरिरहेको हुन्छ । त्यसको लाभ नागरिकले पाए कि पाएनन् भनेर सधैँ चनाखो भइरहन्छ । नागरिकका असन्तोष, असन्तुष्टि र आक्रोश अनि अपेक्षाका तत्काल सम्बोधन र समाधानका उपायका लागि हरसम्भव प्रयासले नै नागरिकमा लोकतन्त्रप्रतिको भरोसा सधैँ जीवन्त रहन्छ । नत्र त न लोकतन्त्र रहन्छ, न कुनै शासकीय व्यवस्था नै ।
कांग्रेसकै नेतृत्वमा यो देशमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि हामी अनि हाम्रा अघिल्ला पुस्ताले थुप्रै लडाइँ लडेको छ । थुप्रै क्रान्ति अनि आन्दोलनका साक्षी अहिले पनि जीवितै छन् र ती राजनीति र सत्ताशक्तिको केन्द्रमा पनि छन् । अर्थात् त्यो एउटा पुस्ता अझै पनि देशको नीति निर्माणको तहमा शीर्षस्थानमै छ । हरेक परिवर्तनपछि जनतासँग यति धेरै अपेक्षा गाँसिएका हुन्छन् कि लाग्छ, ती रातारात पूरा भइसक्छन् ।
हाम्रा नीति निर्माताले जनताको त्यो अपेक्षा अनुसार कहिल्यै काम गर्न नसकेको तितो यथार्थ नकार्न सकिन्न । रातारात देशको मुहार फेर्न सकिन्न । यो सत्य हो कि काम गर्दै जाँदा समय लाग्छ । अझ त्यसमा पनि खलबलिएको राजनीति र परिवर्तनपछिको सङ्क्रमणकालीन समय लयमा फर्किन लामो समय लाग्छ । त्यो बिचमा पनि हाम्रो नेतृत्वले यो भरोसा दिन सकिरहेका हुँदैनन् कि देश बन्दै छ । अर्थात् नागरिकलाई त्यसको आभास नहुँदा व्यवस्थाप्रति चाँडै नै निराशा अनि आक्रोश पैदा हुनु स्वाभाविकै हो । अहिलेको पुस्तामा निर्माण भइरहेको ‘देश बन्दैन...’ वा ‘देशमा केही हुँदैन’ भन्ने खालका भाष्य जसरी गहिरो गरी गडेको छ, त्यसको खास कारण नेतृत्वले जनतालाई भरोसा दिलाउन नसकेको हो । यसरी हाम्रो देश अनि राजनीति कहिल्यै स्थिर हुन सक्दैन । अस्थिर राजनीतिक परिस्थितिमा विकासका भाका भनेका मात्रै आवधिक हुन्छन् । ती कहिल्यै पनि पूरा हुँदैनन् । त्यसले जनतालाई झन् झन् निराशातिर लैजान्छ । अहिले सडकमा भइरहेको नागरिक विस्फोट पनि त्यसैको परिणाम हो । त्यसैले अब बेला आयो । समय आयो । यसलाई अब धेरै ढल्किन नदिउँ र सडकमा नागरिकको आक्रोशको थप विस्फोटको बाटो नकुरौँ ।
‘हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ’ बिपीको यही मूलमन्त्रबाट मात्रै अब देशमा शान्ति र सुव्यवस्था कायम गर्न सकिन्छ र त्यसको नेतृत्व मात्रै कांग्रेसले गर्न सक्छ ।