• ३ असार २०८१, सोमबार

वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व पुरस्कृत

blog

अविनाश चौधरी

धनगढी, जेठ २१ गते । कैलाली जनपुस्तकालयले आफ्नो ६५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्तित्वलाई पुरस्कृत तथा सम्मानित गरेको छ । जनपुस्तकालयले शनिबार कार्यक्रमगरी उहाँहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । 

जनपुस्तकालयले वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरद्वारा स्थापित २५ हजार रुपियाँ राशिको पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७८ धनगढीका वरिष्ठ कवि मनिराज जोशीलाई प्रदान गरेको छ । यसैगरी, दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार पोखराका साहित्यकार प्राध्यापक डा. कुसुमाकर न्यौपाने, कैलाली जनपुस्तकालय पुरस्कार समाजसेवी धनञ्जय तिमिल्सिनालाई प्रदान गरेको छ ।

तिलोत्तमा राष्ट्रिय शैक्षिक साधना पुरस्कार कञ्चनपुरका गोपालदत्त बडूलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ११ हजार रुपियाँ रहेको छ । त्यस्तै, ११ हजार ११५ रुपियाँ राशिको चित्रबहादुर कार्की स्मृति राष्ट्रिय समाजसेवा पुरस्कार हेमराज ओझालाई प्रदान गरिएको छ । 

भोजराज हरिप्रिया राष्ट्रिय समाज सेवा पुरस्कार धनगढीका निवर्तमान मेयर नृपबहादुर वड, हर्ष पार्वती राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार प्राज्ञ यज्ञराज उपाध्यायलाई प्रदान गरिएको छ । यस्तै, सावित्री कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डोटीका पूर्णानन्द ओझा, सूर्यप्रसाद विष्णुदेवी राष्ट्रिय साहित्य पुरस्कार वासुदेव पाण्डेय ‘प्रभाकर’, यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार महेन्द्रनगरका वीरबहादुर चन्दलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ । 

यसैगरी, जनपुस्तकालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएको कदरस्वरुप विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेमा प्रा. शिवराज श्रेष्ठ, पूर्व मेयर खेमराज पाण्डेय, राजयोगिनी ब्रह्माकुमारी हीरा, सुरत रावत डोटेली कान्छा, उदयबहादुर महता, दुर्गाप्रसाद भण्डारी रहेका छन् । 

त्यसैगरी खगेन्द्र नेपाल, सीताराम अवस्थी, कमलसिंह साहु, तेजबहादुर सिंह, छविलाल लटौला जोशी, इन्जिनीयर दीर्घराज जोशी, राजेन्द्र रैका, डिल्लीराज योगी, सानु चौधरी, यशोदा ढकाल र सीताराम जोशी पनि सम्मानित हुनुभएको कैलाली जनपुस्तकालयका अध्यक्ष टीएन जोशीले जानकारी दिनुभयो ।  

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ऋष्टिणा करियाप्रधान थारुद्वारा लिखित ‘लकडाउन डायरी ः प्यान्डेमिक, फेस्टिवल्स एण्ड रिआलिटी’ नामक पुस्तकको विमोचन पनि गरिएको छ । 

प्रदेश प्रमुख देवराज जोशी र सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा थारुले लकडाउन अवधिमा भोगेको समस्यासहित आफ्नो दैनिकी लगायतकाबारेमा चर्चा गर्नुभएको छ । यसैगरी, उहाँले थारु समुदायको गुरही, अट्वारी, माघी लगायतका पर्वबारे पनि पुस्तकमा उल्लेख गर्नुभएको छ ।