• ५ जेठ २०८१, शनिबार

प्रविधिमैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ २१ गते । डिजिटल प्रविधिबाट कक्षा सञ्चालन गर्न कपिलवस्तुको गौतमबुद्ध माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत १७ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको हो । 

विद्यालयले सिकाइलाई प्रविधिसँग जोड्नका लागि ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक शिशिर अर्यालले बताउनुभयो । गत वर्ष विद्यालयले ७ शिक्षकलाई ल्यापटप वितरण गरेको थियो । 

ल्यापटप खरिदका लागि विद्यालयले चालु आर्थिक वर्षमा १२ लाख रुपियाँ खर्च गरेको जनाएको छ । विद्यालयले माध्यमिक तह र प्राविधिक धारतर्फका कक्षामा स्मार्ट बोर्ड र प्रोजेक्टरको प्रयोग गरी शिक्षण गर्दैआएको सहप्रधानाध्यापक मोहन गौतमले बताउनुभयो । 

ल्यापटपको प्रयोग पछि इन्टरनेटमा सिकाई सामग्री खोज्न, विषयवस्तुका भिजुअल सामग्री खोज्न, सहजीकरण सीपको विषय जानकारी दिन सहज भएको विद्यालयका शिक्षक शेखर न्यौपानेले बताउनुभयो । कुल ४४ जना शिक्षकलाई आगामी वर्षभित्र ल्यापटप वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।