हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिन्छ । यस वर्ष पनि चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार : ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ सरकारी, गैरसरकारी निकायबाट भव्य रूपमा मनाइयो । विडम्बना आस्थाका धरोहरका रूपमा परिचित ज्येष्ठ नागरिक कतै दुव्र्यवहारको सिकार भएका छन् भने कतै वृद्धाश्रममा दिन काटिरहेका छन् । कतै सन्तानको आड, भरोसा, विश्वासमा परी भएको सम्पत्ति सन्तानको नाममा गरिदिँदा सडकमा अलपत्र हुन पुगेका छन् । विडम्बना परिवर्तनको वाहकका रूपमा रहेका ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सिप, क्षमता र अनुभवलाई पुस्तान्तरण गरी समाज परिवर्तनमा उपयोग गर्ने विषय ऐनमा नै व्यवस्था गरिएको छ ।
विश्वमा हाल ज्येष्ठ नागरिक (६५ वर्षमाथिका) को सङ्ख्या बढ्दो क्रममा रहेको संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२१ मा प्रति १० जनामा एक जना व्यक्ति (१० प्रतिशत) ६५ वर्षमाथिको देखाएको छ । प्रतिवेदनले यस्तो जनसङ्ख्या सन् २०५० सम्ममा विश्वभरि नै प्रतिछ जना व्यक्तिमध्ये एक जना ६५ वर्ष (१६ प्रतिशत) भन्दा माथिको हुने अनुमान गरेको छ । सार्क राष्ट्रमा ६० वर्षमाथिको उमेर समूहको जनसङ्ख्या ६.९४ प्रतिशत रहेको तथ्याङ्क छ । नेपालमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्याको कुल जनसङ्ख्याको अनुपात बढ्दो छ । विसं २०५८ देखि २०६८ सम्म वार्षिक जनसङ्ख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर तीन गुणाले वृद्धि भएको थियो । विसं २०६८ देखि २०७८ सम्म आइपुग्दा १० वर्षमा ज्येष्ठ नागरिकको सङ्ख्या ३८.२ प्रतिशतले बढेको छ । हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको १०.२१ प्रतिशत अर्थात् २९ लाख ७७ हजार ३१८ छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्भाव्य उमेरको जनसङ्ख्या ५.२३ प्रतिशत रहेको छ । जनसङ्ख्याको वार्षिक औसत वृद्धिदर ०.९२ प्रतिशत रहँदा ज्येष्ठ नागरिकको वार्षिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ । प्रजननदर घट्दै गइरहेको छ भने औसत आयु बढिरहेको छ । युवापुस्ता पनि बिदेसिने क्रम तीव्र छ । यस अवस्थाले निकट भविष्यमा नै नेपाल पनि वृद्ध समाजमा परिणत हुन सक्ने सङ्केत गर्दछ ।
एकातिर बढ्दो सहरीकरण, औद्योगिकीकरण, आन्तरिक बसाइँसराइ, अध्ययन तथा कामकाजमा व्यस्त जीवनका कारण परिवारमा ज्येष्ठ नागरिक एक्लो हुँदै गइरहेका छन् । स्वार्थपूर्ण भावना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिक सहाराविहीन भएर बाँच्न बाध्य र विवश छन् । ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र संवर्धन गर्ने जिम्मेवारी स्थानीय तहलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको छ । साथै स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्रको स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्थासमेत रहेको छ । ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना र सञ्चालनका लागि अनुदान उपलब्ध गराउने कार्यविधि, २०७६ रहेको छ । प्रदेश तथा स्थानीय तहमा ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई पालनपोषण वा हेरचाह गर्नका लागि वृद्धाश्रम, दिवा सेवा केन्द्र, त्यस्तै गरी ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ अनुसार ज्येष्ठ नागरिकको वर्गीकरण गरेको छ । यस अन्तर्गत वरिष्ठ ज्येष्ठ नागरिक, असहाय, अशक्त र एकल ज्येष्ठ नागरिक भनिएको छ ।
आश्रममा रहेका कतिपय ज्येष्ठ नागरिक जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका र कसैका छोराछोरी विदेशबाट फर्केर घर नआउने भएका जग्गाजमिनमा पनि खेतीपाती गरी खान नसक्ने हुँदा सरकारद्वारा सञ्चालित सुविधासम्पन्न आश्रममा बस्ने चाहना व्यक्त गर्ने ज्येष्ठ नागरिक रहेको पाइन्छ । जीवित देवता समान रहेका बाबाआमालाई घरबाट निकाली वृद्धाश्रम पु¥याउने, उचित लालनपालन, स्याहारसुसार नगर्ने, गैरनैतिक चरित्र, गैरजिम्मेवार, यान्त्रिक चरित्र भएका मानवीयता र संवेदनशीलता नभएका सन्तानको मात्रामा वृद्धि हुँदै गएको छ ।
एकातिर विदेशमा बसी स्वदेशमा आमाबाबाको खोजी नगर्ने सन्तानकै कारण ज्येष्ठ नागरिक एक्लो हुँदै गएका छन् । चिन्ताजनक पक्ष त चाहेर या नचाहेरै पनि जिउँदा प्रयोगशाला वृद्धाश्रममा जान विवश र बाध्य भएका घटना रहेका छन् । अर्कातिर घरपरिवार, सन्तानबाट ज्येष्ठ नागरिकमाथि हुने, हेला, घृणा, तिरस्कार, दुव्र्यवहारलगायतका यावत् समस्याले गर्दा हाम्रो मुलुकमा ज्येष्ठ नागरिकका समस्या दिनप्रतिदिन थपिँदै जीवन कष्टकर बन्दै गएका छन् । कुन स्थानका ज्येष्ठ नागरिकको समस्या के कस्तो भनी आवश्यकता पहिचान नै नगरी एउटै बास्केटमा सेवा सुविधा प्रदान गरिएको छ । तीन तहका सरकारले गरेका लोकप्रिय कार्यक्रमले जराधारमा रहेका ज्येष्ठ नागरिकका समस्यालाई सम्बोधन गर्न नसकी जस्ताको तस्तै रहेको छ ।
सरकारले ज्येष्ठ नागरिकको अधिकारको हकहितको संरक्षणका लागि नीतिगत तथा कानुनी, संस्थागत र कार्यक्रमगत व्यवस्था विद्यमान रहेको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा छोराछोरीको आमाबाबुप्रतिको कर्तव्यबारे विभिन्न व्यवस्था उल्लेख गरेको छ । आज उनै वृद्धवृद्धा आफैँले जन्म दिएका सन्तानबाट हेला, दुव्र्यवहारको सिकार, अपहेलित भएर बाँच्नु परेको छ । उमेर ढल्दै जाँदा झन् पारिवारिक स्नेह, उचित स्याहारसुसार, माया, ममता र सम्मानको खाँचो पर्दछ । विडम्बना अपहेलित, शारीरिक, आर्थिक र यौनजन्य दुव्र्यवहारको सिकारसमेत बन्न पुगेका छन् । संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । वृद्ध भत्तासमेत छोराछोरीले खाइदिने, आफूखुसी प्रयोग गर्न नपाउने अवस्थासमेत रहेको छ । ज्येष्ठ नागरिकलाई दिनभरि हेरचाह र स्याहारसुसार गर्नका लागि दिवा सेवाको स्थापना गर्ने भन्ने व्यवस्था कानुनमा रहेको छ । धेरै जसो स्थानीय तहले पनि दिवा सेवा केन्द्र स्थापना गरेको देखिन्छ ।
पालो सबैको घुमिफिरी आउँछ भने झैँ ज्ञानका पुञ्ज, जिउँदो इतिहासलाई उचित पालनपोषण, स्याहारसुसार गरी उनीहरूमा भएको अथाह ज्ञानको सागरलाई प्रयोग गर्न सिकौँ र सिकाऊँ । आमाबाबाप्रतिको आफ्नो दायित्व बिर्सने सन्तानलाई कानुनी कारबाहीमा ल्याई उत्तरदायी बनाउन सबैले पहल गरौँ । तिनै तहका सरकारले स्थान अनुसार ज्येष्ठ नागरिकको आवश्यकता पहिचान गरी नीति, योजना कार्यक्रम र बजेटको प्राथमिकतामा राखी ज्येष्ठ नागरिकको मर्यादित जीवनका लागि विशेष जोड दिन आवश्यक छ ।