गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते । प्रतिनिधि सभामा विचाराधीन भएको दुई वर्षपछि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक पारित भएको छ । समितिको प्रतिवेदन सभामा पेस भएको करिब एक वर्षपछि विधेयक पारित भएको हो । समितिको प्रतिवेदन अनुसारै विधेयक पारित भएको छ । पारित विधेयक अब माथिल्लो सभामा जाने छ ।
अध्यादेश निस्क्रिय भएपछि रिक्त रहेको कानुनी व्यवस्था जगाउने गरी सरकारले विधेयक २०७९ फागुन १४ गते नै दर्ता गरेको थियो । लामो समय प्रक्रियामा जान नसकेको विधेयक २०८० वैशाख १५ मा दफावार छलफलका लागि समितिमा पठाइएको थियो । समितिले २०८१ जेठ १७ मा प्रतिवेदन पेस गरेको थियो ।
विधेयकले परिषद् बैठकको सूचना, गणपूरक सङ्ख्या र निर्णयको प्रक्रियालगायतका व्यवस्था परिमार्जन गरेको छ । विधेयकले अध्यक्ष र तत्काल बहाल रहेको कम्तीमा ५० प्रतिशत सदस्यको उपस्थितिलाई गणपूरक सङ्ख्या पुगेको मानिने व्यवस्था गरेको छ । यस्तै सर्वसम्मतबाट कुनै निर्णय हुन नसकेमा अध्यक्ष र बहाल रहेका ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय हुन सक्ने व्यवस्था गरिएको छ ।
यसैबिच प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलशमशेर राणा पक्राउको जानकारी दिइएको छ । संविधानको व्यवस्था अनुसार सदस्य पक्राउको जानकारी प्रहरीले दिएको हो । राणाविरुद्ध राज्यविरुद्धको अपराधसमेतमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले संसद्लाई दिएको छ ।
यस्तै बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक टेबुल गरिएको छ । यस्तै पूर्वाधार विकास समितिका तर्फबाट सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकको प्रतिवेदन सभामा पेस गर्नुभएको छ । यस्तै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक सभामा पेस भएको छ । सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा समितिको प्रतिवेदन पनि सभामा पेस भएको छ ।
यस्तै नेपाल कानुन व्यवसायी परिषद् विधेयक संशोधन दर्ताका लागि स्वीकृत भएको छ । यस्तै नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुने छ । यस्तै निकासी पैठारी (नियमन) विधेयक पनि दफावार छलफलका लागि समितिमा पठाइएको छ । नवीकरणीय ऊर्जा विधेयक पनि दफावार छफलका लागि समितिमा पठाइएको छ । अधिवेशन अन्त्यको तयारी भइरहँदा विचाराधीन विधेयक सभाले समितिमा पठाएको हो ।