• २० चैत २०८१, बुधबार

तीनकुने क्षतिको जिम्मेवार पूर्वराजा हुन् : उपमहासचिव ज्ञवाली

blog

फिदिममा आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, चैत १८ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र फर्काउने बहानामा उदण्ड मच्चाउने जोकोही कारबाहीको दायरामा आउने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसन पाँचथरले सोमबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले आन्दोलनको नाममा व्यक्तिहत्या, आगजनी र तोडफोडको नेतृत्व गरेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने स्पष्ट पार्नुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर फागुन ७ गते दिएको अभिव्यक्तिका कारण उनका समर्थक सल्बलाएका हुन, तसर्थ यो घट्नाको मुख्य जिम्मेवार पनि उनै हुन’ ज्ञवालीले भन्नुभयो ।

राजा फर्काउने नाममा गरिएको आन्दोलनलाई कुनै पनि कोणबाट राजनीतिक भन्न नसकिने बताउँदै ज्ञवालीले राजसंस्था फर्काउँछौं भन्नेहरूको असली अनुहार उनीहरूको व्यवहारबाट प्रष्ट देखिएको बताउनुभयो ।

‘कोटेश्वरमा पत्रकारलाई जिउँदै जलाउनु, भाटभटेनीमा लुटपाट गर्नु, कान्तिपुर र अन्नपूर्ण पोष्टसहितका सञ्चार गृहमा हुलहुज्जत गर्नु र प्रहरीको बन्दुक खोसिरहेको दृश्य कैदगर्दा पत्रकारका खुट्टा भॉच्नु आदि क्रियाकलापले राजावादीको असली व्यवहार छर्लङ्गै भएको छ’ उहाँले भन्नुभयो ।

आन्दोलनका नाममा उदण्डता मच्चाउने भिडको नेतृत्व गरिरहेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने र घट्नामा दोशी ठहरिएकालाई कानुनी कारबाही हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

‘दुर्गा प्रसाई जुन दल र समूहमा जान्छन, उनले त्यही दल र समूहलाई भजाएर व्यक्तिगत फाइदा लुट्ने र भाइरल हुने काम मात्र काम गर्छन, कुनै बेला उनी एमालेका केन्द्रीय सदस्य थिए । उनले एमालेमा प्रवेश पाउनु पार्टीका लागि दुर्भाग्य थियो’ ज्ञवालीले भन्नुभयो ।