गोरखापत्र अनलाइन
काठमाडौँ, चैत १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको हो । आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको उहाँको भनाइ छ । उहाँले शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गर्नुभयो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्र समितिलाई जानकारी गराउने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री भट्टराईले भन्नुभयो, ‘हिजो बिदाको दिन भयो, त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउने छौँ । समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरूले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो । उपकुलपतिले राजीनामा बुझाउनका लागि शिक्षा मन्त्रालय आउनुपर्ने तर हिजो बिदा भएकाले सायद नआउनुभएको उहाँले बताउनुभयो । औपचारिक हिसाबले कुनै पनि जानकारी हामी समक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिनँ, अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि जानकारी गराउने प्रतिबद्धता जनाउँछु, उहाँले भन्नुभयो ।
उपकुलपति प्राडा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिनुभएको समाचार प्रकाशित भएको थियो । उहाँले बिरामीको कारण देखाउँदै राजीनामा दिनुभएको बताइएको छ ।