कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), चैत १७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरही टोलका ६० वर्षीय देवनारायण राय अहिले चिन्तामा डुब्नुभएको छ । उहाँका एक मात्र छोरा ३० वर्षीय प्रशान्तलाई क्यान्सर रोग लागेका कारण उपचार खर्च जुटाउने पीडाले उहाँलाई चिन्तित बनाएको हो । पायल्स रोगबाट ग्रसित प्रशान्तलाई उपचार गराउन भारतको विहारस्थित पटनाको एम्स अस्पताल लग्दा डाक्टरले छोरालाई क्यान्सर रोग लागेको बताएका थिए । उपचारका लागि क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए ।
पटनाबाट छोरालाई घर ल्याएपछि उहाँसँग रहेको एउटा दुहुनो गाई १९ हजार रुपियाँमा बेचेर चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना गराउनुभएको छ । प्रशान्तको शल्यव्रिmया पनि भइसकेको छ । भरतपुरमा अहिलेसम्म एक लाख ५० हजार खर्च भइसकेको र किमो गर्ने काम पनि बाँकी नै रहेको उहाँले बताउनुभयो । देवनारायणले भन्नुभयो, “थप डेढ/दुई लाख रुपियाँ जति लाग्ने डाक्रले बताएका छन् ।”
प्रशान्तको श्रीमती पुनमले भन्नुभयो, “पहिलेकै उपचार खर्च तिर्न सकिएको छैन, अब थप रकम कहाँबाट ल्याउनु ? रकमको अभावमा डाक्टरले पुर्जामा लेखेको सबै औषधी पनि खुवाउन सकिरहेको छैन ।”
पायल्स रोगबाट बिरामी परेका छोराको उपचार गराउनमै दुई धुर जग्गामा बनेको फुसको घर गाउँकै साहु निर बन्धकी राखेर ऋण उठाइसकेका उहाँलाई थप खर्च जुटाउन समस्या भएको छ ।
दैनिक ज्यालादारी गरी छ जनाको परिवार पाल्दै आएका देवनारायणले १० वर्षअघि दुर्घटनामा एउटा खुट्टा गुमाउनुभएको थियो । आर्थिक अभावमा एक मात्र सहारा छोराको उपचार खर्च जोहो गर्न नसकिरहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले छोरा क्यान्सरसँग लडिरहेको छ, यति बेला मलाई आर्थिक सङ्कटले निद्रा पनि लाग्दैन ।”
क्यान्सरपीडित प्रशान्तका ११ र पाँच वर्षीय दुई छोरा छन् । घरपरिवार चलाउने एक मात्र अभिभावक प्रशान्त बिरामी परेपछि परिवारको बिजोग भएको छ । क्यान्सरपीडित प्रशान्तको पीडामा स्थानीय समाजसेवी किशोरकुमार यादव ‘केसी’ ले आर्थिक सहयोगका लागि पहल सुरु गर्नुभएको छ । केसीले भन्नुभयो, “केही रकम त जुट्यो तर उपचारका लागि पर्याप्त छैन्, प्रशान्तको जीवन बचाउन हामी अभियान चलाएका छौँ ।”