गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १७ गते । शुक्रबार राजधानीको तीनकुनेलगायतका क्षेत्रमा आन्दोलनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति निजी क्षेत्रका संस्थाले विरोध जनाएका छन् ।
राजावादी प्रदर्शनकारीले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्दा प्रदर्शनकारीले तीनकुनेमा निजी घरहरू तोडफोड र आगजनी गरेका थिए । विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भिड भड्किँदा सो क्षेत्रमा सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका थिए ।
राजावादी समर्थकले तीनकुनेस्थित एक घरमा आगजनी गर्नुका साथै सो क्षेत्रवरपर दर्जनौँ सवारीसाधन र मोटरसाइकलमा तोडफोड आगजानी गरेका थिए । राजावादीहरूले कोटेश्वरको भाटभटेनीमा तोडफोड गर्नुका साथै लुटपाट पनि मच्चाएका थिए भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका थिए । उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका थिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार भएको आन्दोलन/प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुःखद भएको महासङ्घले जनाएको छ ।
“सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायतका हिंस्रक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने,” महासङ्घको माग छ ।
महासङ्घले विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय भएको उल्लेख गरेको छ । कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति महासङ्घले घोर निन्दा र भत्र्सना गरेको छ । साथै महासङ्घ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ, विज्ञप्तिमा उल्लेख छ ।
यस्तै शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद भएको नेपाल उद्योग परिसङ्घले जनाएको छ । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमसर्वसाधारण, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनीय रहेको परिसङ्घले जनाएको छ ।
निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसङ्घले माग गरेको छ । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसङ्घले सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।
विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरू कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसङ्घ आग्रह गरेको छ ।