• १९ चैत २०८१, मङ्गलबार

गोरक्ष सिद्धरत्ननाथ मठको पुनःनिर्माण

blog

घोराही उपमहनगरपालिका –१७ चौघेरामा निर्माण गरिएको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, चैत १६ गते । दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको पुननिर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१७ चौघेरामा मन्दिरलाई पुरानै शैलीमा करिब पाँच वर्षपछि पुनःनिर्माण गरिएको हो । 

मठको पुनःनिर्माण भएसँगै मूल मठमा देवता र मूर्तिलाई सारेर सञ्चालनमा ल्याइएको छ । स्थायी रूपमा सञ्चालन गरिएको ठाउँबाट मूल मठमा गोरखनाथ, मच्छिद्रनाथ, रत्ननाथ, आदीनाथ, कालभैरव, बुटक भैरव, बाला सन्दरी, शिवालय लगायतका मूर्ति सारिएको मठका व्यवस्थापक हिरानाथ योगीले बताउनुभयो । पुरानै शैलीमा निर्माण गरिएको मठ भव्य र आकर्षक देखिने गरेको बताउनुभयो । 

व्यवस्थापक योगीका अनुसार १३ सय वर्ष पुरानो धार्मिक आस्था बोकेको चौघेरामा मठ पुरानोसँगै जीर्ण बनेपछि २०७५ सालमा नयाँ मठ निर्माणको काम सुरु भएको थियो । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागको सहयोगमा दुई वर्षभित्र मठको निर्माणको काम सक्ने गरी सुरु भए पनि निर्माणका क्रममा फैलिएको कोराना भाइरससँगै निर्माण सामग्री काठमाडौँ र भक्तपुर लगायतका ठाउँबाट ल्याएर काम गर्दा ढिलाइ भएको उहाँ बताउनुहुन्छ । 

निर्माणको काम सकिएपछि मूल मठमै दैनिक पूजापाठको काम सुरु भएको भन्दै व्यवस्थापक योगीले भन्नुभयो, ‘सम्झौता अनुसार मठ निर्माणको काम सकेर हस्तान्तरण भएपछि बैदिक परम्परा अनुसार मूर्तिको प्राण प्रतिष्ठा, कोठा पूजा र हवन गरेर मठलाई चैतको १३ गतेदेखि सञ्चालनमा ल्याएका हौँ ।’ 

उहाँका अनुसार मठ ढुङ्गा, चुना, सुर्की र काठको प्रयोग गरेर निर्माण गरिएको छ । मठमा इँट्टा, बालुक र माटो प्रयोग गरिएको छैन । प्यागोडा शैलीमा निर्माण गरिएको मठ आकर्षकसँगै खुला र फराकिलो भएको छ । नवनिर्मित मठमा दैनिक पूजा स्थलसँगै मठाधिस, महन्त, सिरने, भण्डारीलगायत बस्ने आवास गृहसँगै भजन कृतन गर्ने ठाउँ, अतिथिलाई राख्ने कोठाहरू निर्माण गरिएको छ । 

करिब ६ करोेड ६५ लाख बढी रुपियाँ खर्च गरेर मठको पुनःनिर्माणको काम प्रकृति–सानु, सुवाल–पवन जेभी काठमाडौँले गरेको थियो । भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रूपमा गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ रहेको छ । 

मठभेष पन्थी बाह्रनाथ समुदायको महत्त्वपूर्ण धार्मिक केन्द्रका रूपमा रहेको छ । मठलाई आकर्षक बनाउनका लागि झ्याल, ढोका र टुडालहरूमा विभिन्न देवीदेवताका मूर्तिहरू कुदिएको भन्दै व्यवस्थापक योगीले भन्नुभयो, ‘पहिलेको तुलनामा अहिलेको नयाँ मठ आकर्षण र कलात्मक बनेको छ । मठ यस क्षेत्रको थप आकर्षक बन्ने छ ।’

चौघेरामा मुल मठसँगै भैरवनाथ मन्दिर, दलिचा, कालसेन मन्दिर, गोरक्षनाथ नवनाथ मन्दिर, ऐतिहासिक रत्नेश्वर महादेव मन्दिर,ऐतिहासिक कुवासँगै गोरक्षरत्ननाथ पुस्तकला र प्रभात चित्रकला रहेको छ ।