काठमाडौँ, चैत १६ गते । समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
शनिवार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पत्रकारहरूले आन्दोलन सुरु गरेका छन् । शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएसँगै उहाँको जलेर मृत्यु भएको थियो ।यो घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारबाहीको माग गर्दै आउने दिनमा मिडियामाथि प्रहार नगर्न समेत माग गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), प्रेस सेन्टर नेपाल, सञ्चारिका समूह, मधेसी पत्रकार सङ्घ, थारू पत्रकार सङ्घ, नेपाल लगायतका पत्रकार सम्बद्ध सङ्घ संस्थाका पत्रकारको सहभागिता रहेको थियो । स्वर्गीय पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय नदिएसम्म अभियान जारी रहने महासङ्घका पदाधिकारीहरूको भनाइ छ ।
प्रदर्शनको क्रममा आयोजित कोणसभामा महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकार रजकको मृत्यु नभई हत्या गरिएको बताउनुभयो । पूर्व राजावादीहरूले आतातायी ढङ्गले पत्रकार रजकको जलाएर हत्या गरेको उहाँको भनाइ छ । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला लगायतले प्रेस स्वतन्त्रताको पक्षमा सुरु गरिएको अभियानलाई सफल बनाएर छाड्ने बताउनुभयो । उहाँहरूले यस अभियानमा सबै पत्रकारलाई एकताबद्ध भएर लाग्न आव्हान गर्नुभयो ।