नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय र दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दक्षिण एसियाका दुई यस्ता मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहासले एसियाको मानचित्रमा सँगसँगै गाँसिदिएको छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबिचको मित्रतालाई अझै बढी प्रगाढ बनाइदिएको छ । अर्काे शब्दमा भन्नुपर्दा नेपाल र भारतबिचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । नेपाल र भारतको सम्बन्धलाई परिभाषित गर्नु सहज र सरल छैन । सरकारहरूको आफ्नै समस्या, परिस्थिति र अवस्था हुन सक्छ तर नयाँ दिल्ली र काठमाडौँले निर्धारण गरेको सम्बन्धभन्दा निकै गहिरो र व्यापक यी दुई देशका जनताबिचको सम्बन्ध छ ।
लेखक श्रीमननारायण मिश्रको पूर्वप्रकाशित लेखहरूको सङ्ग्रह पुस्तक ‘बहुआयामिक महŒवका द्विपक्षीय सम्बन्ध’ मा नेपाल–भारत सम्बन्धका विविध आयामलाई केलाउने प्रयास गरिएको छ । नेपाल–भारत सम्बन्धबारे लेखक मिश्रले लेख्नुभएका ४६ वटा लेखलाई पुस्तकमा समावेश गरिएको छ । विशेष गरी नेपाल र भारतबिचको अतुलनीय सम्बन्धका विभिन्न पक्षबारे उहाँले कलम चलाउनुभएको छ । लेखक मिश्रले अन्य क्षेत्र वा विषयमा समेत कलम चलाउँदै आउनुभएको छ । यस पुस्तकमा भने नेपाल–भारत सम्बन्धमा केन्द्रित रही लेखिएका लेख मात्र सङ्ग्रह गरिएको छ । गौतम बुद्ध, सीता–राम विवाहको प्रसङ्गदेखि लिएर रामायण र बुद्धिस्ट सर्किटले गाँसेको हाम्रा सांस्कृतिक सम्बन्धलाई पुस्तकमा चर्चा गरिएको छ ।
सनातन धर्म, संस्कृतिका वाहक हामी भगवान् गौतम बुद्धलाई पनि आफ्ना आराध्यदेवकै रूपमा मान्दै र पूजा गर्दै आएका छाँै । भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, कपिलवस्तु र ज्ञान प्राप्तिको भूमि देवदह नेपालमा पर्छ । बुद्धले थप ज्ञान तथा निर्वाण प्राप्त गर्नुभएको भूमि बोधगया, सारनाथ र कुशीनगर अहिले भारतमा रहेको छ । गौतम बुद्धको जन्म, ज्ञान तथा निर्वाण प्राप्ति पनि एउटै तिथि वैशाख शुक्ल पूर्णिमाको दिए भएकाले यो दिनको विशेष महŒव छ । यो दिन नेपाल र भारतका बासिन्दाले बुद्धजयन्ती मनाउने गरेका छन् । गौतम बुद्धसँग सम्बन्धित नेपालको लुम्बिनी क्षेत्र र भारतको बोधगया, सारनाथ र कुशीनगर क्षेत्र पवित्र स्थल हुन् । यहाँबाटै गौतम बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागमा फैलिएको थियो ।
नेपालको जनकपुरधामकी जानकी (सीता) र भारत अयोध्याका रामबिच भएको विवाहले त्रेतायुगको ऐतिहासिक सम्बन्धलाई अहिलेसम्म जीवित राखेको छ । भगवान् राम र सीताबिचको वैवाहिक सम्बन्ध कायम भएको दिन विवाहपञ्चमीलाई जनकपुरधाममा विवाहोत्सवका रूपमा मनाइन्छ । यस दिन सार्वजनिक बिदासमेत दिने गरिएको छ । यसले पनि दुवै देशबिचको कसिलो र अटुट सम्बन्धलाई दर्साउँछ । त्रेतायुगमा सीताराम पुग्नुभएका नेपाल, भारत र श्रीलङ्काका धार्मिक स्थललाई एउटै मार्गले जोड्ने गरी ‘रामायण सर्किट’ को अवधारणा आएको हो । नेपाल भ्रमणमा आएका बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभएको थियो । उहाँले ‘रामायण सर्किट’ र ‘बुद्धिस्ट सर्किट’ निर्माण गरी दुवै देशको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने र त्यसले आर्थिक समृद्धिको आधार तयार पार्ने बताउनुभएको थियो । निश्चय नै यी दुवै सर्किट निर्माण भएमा दुवै देशले यसको आर्थिक लाभ लिन सक्ने छन् ।
धार्मिक, सांस्कृतिक सम्बन्धसँगै नेपाल र भारतबिच सीमावर्ती क्षेत्रमा दुवै देशका बासिन्दामा कायम पारस्परिक सम्बन्ध संसारमै उदाहरणीय छ । यी सम्बन्धलाई हुलाकी सडक, रेल सेवालगायतले थप नजिक बनाइदिएको छ । “यी दुवै देशबिचको सिमाना १७ सय किलोमिटरभन्दा लामो छ । भारतले नेपाललाई पूर्व, पश्चिम र दक्षिणतर्फबाट घेरेको छ । खुला सिमानाका आफ्नै विशेषता छन् । यस्तो खुला सम्बन्ध सभ्यतासितै गाँसिएको र सन् १८१६ को सुगौली सन्धिपश्चात् राजनीतिक सीमा कायम गरिए पनि यथास्थितिमै रहिआएको छ । खुला सिमाना नेपाल एवं भारतबिचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा सशक्त एवं बलियो आधार पनि हो,” खुला सिमाना अभिशाप होइन वरदान हो भन्ने शीर्षकमा उहाँले लेख्नुभएको छ । सनातनकालदेखि चल्दै आएको यो सहज, स्वतन्त्र र खुला आवागमनको परिपाटी अध्ययन गर्न रोचक हुनुका साथै यो एउटा संवेदनशील विषय पनि रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको नेपाल भ्रमणका विषयमा पनि पुस्तकमा समेटिएको छ । मोदीको नेपाल भ्रमणलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मात्रै नभई समग्र दृष्टिकोणले सफल मानिएको जनाउँदै उहाँको पुस्तकमा लेखिएको छ, “भारतका प्रधानमन्त्री मोदी वर्तमान समयमा विश्वकै चर्चित राजनेताहरूमध्ये एक हुन् । उनले नेपालका तीन प्रमुख तीर्थस्थल जगत्जननी जानकीको भूमि जनकपुरधाम, पवित्र मुक्तिनाथधाम तथा भगवान पशुतिनाथको दर्शनसहित पूजाअर्चना गर्नुले उपर्युक्त तीर्थस्थललाई विश्वसामु थप लोकप्रिय एवं आकर्षक बनाउने निश्चित छ । यो भ्रमणले बहुआयामिक महŒव बोकेको छ ।” कोरोना महामारीविरुद्ध दक्षिण एसियाली मुलुकले गरेको साझा प्रतिबद्धतालाई समेत लेखक मिश्रले सविस्तार पुस्तकमा समावेश गर्नुभएको छ । ‘पहिले छिमेकी’ को सिद्धान्तलाई आत्मसात् गर्दै भारतीय प्रम मोदीले सार्क देशका प्रमुखहरूसँग भर्चुअल संवाद गर्नुभएको थियो । त्यस बखत प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ रहनुभएको थियो । भर्खरै अस्पतालबाट डिस्चार्ज भई स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्थालाई समेत दाउमा राखी त्यस संवादमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री ओलीले त्यस बखत कोरोनाविरुद्धको लडाइँमा नेपालले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबारे जानकारी गराउनुभएको थियो । सार्क सदस्यराष्ट्रका सरकार प्रमुखहरूबिच भएको त्यस संवादबारे ‘कोरोना महामारीविरुद्ध साझा प्रतिबद्धता’ शीर्षक अन्तर्गत पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकमा समावेश गरिएका लेखहरूमा छिमेकी राष्ट्रबाट उदारताको अपेक्षा, व्यावहारिक ऊर्जा नीतिको खाँचो, ऊर्जा सम्झौता विकासमा महŒवपूर्ण उपलब्धि, संवेदनशील पत्रकारिताको आवश्यकता, ऊर्जा विकास समृद्धिको आधार, राष्ट्र विकासका लागि वैदेशिक लगानीको अपरिहार्यता, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को ढाँचामा सुधार अपेक्षित, २१ औँ शताब्दीमा सन् १९५० को सन्धिको सान्दर्भिकता, नेपालमा रेल सेवा र नयाँ परराष्ट्र नीतिको सान्दर्भिकतालगायत शीर्षकका लेख पठनीय छन् । नेपाल–भारत सम्बन्ध अतुलनीय रहे पनि केही समययता उत्पन्न असमझदारी वा सीमा क्षेत्रका बासिन्दाले भोग्नु परेका कठिनाइलाई समेत समेटेर लेखमा स्थान दिइएको भए पुस्तक थप पठनीय हुने थियो । यस्तै नेपाल र भारतबिचको सम्बन्ध कसिलो एवं थप प्रगाढ बनाउन दुवै देशले अपनाउनुपर्ने उपायका बारेमा समेत आलेखमा जुन रूपमा आउनुपर्ने थियो, ती विषय छुटेका जस्तो अनुभव भयो । समग्रमा नेपाल र भारतबिचको बहुआयामिक महŒवका द्विपक्षीय सम्बन्धबारे लेखक मिश्रले लेख्नुभएका आलेखहरू सान्दर्भिक एवं पठनीय छन् ।