मदिरा र मदिराजन्य पेय पदार्थमा इथानोल नामक रसायन हुन्छ, जसमा निर्भरता बढाउने गुणहरू हुनुका साथै त्यो एक साइकोएक्टिभ र विषाक्त पदार्थ हो । शताब्दीयौँदेखि धेरै समाज तथा संस्कृतिमा रक्सीको प्रयोग गरिँदैआएको छ तर यसको अत्यन्त न्यून प्रयोगले पनि भयानक स्वास्थ्य जोखिम र हानि निम्त्याउँछ । नसर्ने रोगको मुख्य चार कारक तत्वमध्ये मदिराको सेवन एक मुख्य कारकको रूपमा रहेको छ । अमेरिकाको प्रतिष्ठित संस्था सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार रक्सीको सेवनले क्यान्सर, उच्च रक्तचाप तथा मुटुरोगहरू, पक्षघात, कलेजोको रोग, पेट रोग, डिप्रेसन तथा मानसिक रोग निम्त्याउनुका साथै दुर्घटनाबाट हुने चोटपटक एवं मृत्यु, सामाजिक तथा पारिवारिक सम्बन्धमा खटपट जस्ता समस्या सिर्जना गर्ने जनाएको छ ।
एडिक्सन नामक वैज्ञानिक जर्नलमा प्रकाशित लेख अनुसार रक्सी सेवन एक्लैको कारणले नसर्ने रोगबाट विश्वमा हुने कुल मृत्युको चार प्रतिशत हिस्सा ओगट्ने जनाएको छ भने बिएमसी पब्लिक हेल्थ नामक जर्नलमा सन् २०१५ मा प्रकाशित लेखले रक्सी सेवन नगर्नेको दाँजोमा सेवन गर्नेमा नसर्ने रोग लाग्ने सम्भावना कम्तीमा दुई गुणा बढी हुने देखाएको छ । विश्वभर गरिएको अनुसन्धान ‘बर्डेन अफ डिजिज’ को प्रतिवेदन २०१९ का अनुसार पछिल्ला केही दशकमा नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर भयावह तवरले बढेको देखिन्छ । सन् १९९० मा नेपालमा नसर्ने रोगका कारण हुने मृत्युदर ३१.३ प्रतिशत रहेकोमा सन् २००० मा उक्त दर बढेर ४३.२ प्रतिशत पुगेको थियो भने सन् २०१० मा ५९.१ प्रतिशत हुँदै सन् २०१९ मा आइपुग्दा ७१.१ प्रतिशत मृत्युको कारण नसर्ने रोग हुन गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा करिब ४० करोड पन्ध्र वर्षमाथिका वयस्कले रक्सी सेवन गर्छन् । जसमध्ये लगभग २१ करोड (विश्वका चार प्रतिशत वयस्क जनसङ्ख्या) वयस्क मानिस रक्सीको कुलतमा फसेका छन् । नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भे अनुसार २४ प्रतिशत मानिसले रक्सी सेवन गर्दथे जसमा सबैभन्दा बढी न्यून आय भएका (३० प्रतिशत) ले सेवन गरेका थिए । अझ उक्त सर्भेको मननयोग्य पक्ष त के छ भने रक्सी सेवन कर्तामध्ये करिब ५१ प्रतिशतले घर पालुवा रक्सी सेवन गर्दथे जबकि बियर, वाइन, भोड्का खाने २३ प्रतिशत मात्र थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको स्टेप्स सर्भे अनुसार २८ प्रतिशत पुरुष तथा ७.१ प्रतिशत महिलाले रक्सी सेवन गर्ने गरेकोमा सन् २०१९ मा आइपुग्दा उक्त दर बढेर ३४.४ प्रतिशत पुरुष र ८.८ प्रतिशत महिलाले रक्सी सेवन गरेको पाइयो । अझ सन् २०२२ मा गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार मदिरा सेवनकर्ताको दरमा फराकिलो बढोत्तरी हुँदै ४२ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले रक्सी सेवन गर्ने गरेको तथ्य रहेको छ । उक्त तथ्यलाई केलाउँदा गत नौ वर्षको अन्तरालमा रक्सी सेवन गर्ने पुरुषको दरमा ५० प्रतिशत र महिलाको दरमा ५४.९ प्रतिशतले बढेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । यी अध्ययनहरूले प्रस्टसँग नेपालमा मदिराजन्य पदार्थ सेवन गर्नेको दर दिनानुदिन बढ्दै गरेको प्रस्ट पार्छ, जसलाई पुष्टि गर्ने गरी ग्लोबल इस्टाटस रिपोर्ट अन अल्कोहल एन्ड हेल्थ २०१८ को प्रतिवेदन अनुसार नेपालमा सन् १९९० देखि २०१६ को बिचमा मदिरा सेवनको कारणले हुने मृत्युदर ३७.५ प्रतिशतले बढेको देखाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार नेपालमा अझै पनि जम्मा एक चौथाइले मात्र बजारमा पाइने मदिरा तथा मदिराजन्य पदार्थ सेवन गरेको देखिन्छ । नेपालका तीन चौथाइभन्दा बढी रक्सी सेवनकर्ताले कर कारोबारमा प्रत्यक्ष समावेश नहुने घरायसी रक्सी सेवन गरेको तथ्य रहेको छ । अर्कोतर्फ मदिरा तथा मदिराजन्य पदार्थ नेपालमा उत्पादन भई अन्य देशमा ठुलो मात्रामा निकासी नभएको अवस्थामा समेत पनि विगत वर्षमा मदिराजन्य वस्तु उत्पादन एवं वितरण गर्ने कम्पनीले नेपाल सरकारलाई सबैभन्दा बढी कर तिरेर पुरस्कृत भएको तथ्य छ । यसले नेपालमा रक्सी र रक्सीजन्य पदार्थको प्रयोग निकै भयावह अवस्थामा रहेको तथ्य उजागर गर्छ । जबकि नेपालका छिमेकी देशहरू भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्समा प्रमुख करदातामा मदिरा कम्पनी परेको देखिँदैन । अझ रोचक विषय के पनि छ भने नसर्ने रोगको प्रमुख कारक तत्व मानिने चुरोट उत्पादन गर्ने नेपालका चुरोट कम्पनीहरू पनि विगतदेखि नै प्रमुख करदाताभित्रै पर्छन् ।
नेपालमा मदिराको उत्पादन, वितरणलाई नियमन एवं नियन्त्रण गर्न मदिरा ऐन, २०३१, तथा नियमावली, २०३३, मदिराजन्य पदार्थको प्रवर्धन एवं विज्ञापनमा रोक लगाउन जनस्वास्थ्य ऐन, २०७५ तथा राष्ट्रिय प्रसारण ऐन, २०४९, उपभोक्ता संरक्षण ऐन, २०७५, मदिरा बिक्री तथा वितरण नियामक निर्देशिका, २०६५, सेफर इनिसियटिभलगायतका नीतिगत, कानुनी तथा कार्यक्रमगत प्रयास भएका छन् । तथापि तिनीहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मदिरा तथा मदिराजन्य उत्पादन, प्रवर्धन, विज्ञापन, वितरण, व्यापार तथा प्रयोगमा सहजता रहेकाले धेरै मानिस यसको कुलतमा परी आर्थिक, शारीरिक, मानसिक तथा सामाजिक समस्यामा परेको कारुणिक अवस्था जगजाहेर छ ।
नेपालमा धेरै पहिले विसं २०३१ मा आएको मदिरा ऐन हालको अवस्थामा समयसापेक्ष नरहेको तथा अहिलेको समयमा मदिरा सेवनको रोकथाम, नियमन, विज्ञापन तथा प्रवर्धनमा प्रतिबन्ध गर्नसमेत पर्याप्त नभएको अवस्थालाई ध्यानमा राखी सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही वर्षदेखि मदिराजन्य पदार्थ रोकथाम तथा नियमनसम्बन्धी ऐन ल्याउन प्रयास गरे तापनि सम्भव भइनसकेको अवस्था रहेको छ । तथापि देशका केही स्थानीय तहले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रभित्र मदिराजन्य पदार्थ रोकथाम र नियमनमा कानुनी प्रबन्ध तथा व्यवहारगत अभ्यासमार्फत अनुकरणीय कार्य गर्दै आइरहेका छन् । सामाजिक सङ्घसंस्था, आमनागरिक समाज, जनस्वास्थ्य एवं उपभोक्ता हितमा काम गर्ने अधिकारकर्मीहरू, पत्रकार तथा सञ्चारकर्मीहरूले आआफ्नो क्षेत्रबाट मदिराजन्य पदार्थको खुलमखुला व्यापार, सहज पहुँच, तथा खुला सेवनमा आवश्यक रोकथाम र नियमन गरी आमनागरिकको स्वास्थ्य प्रवर्धन गर्न सार्वजनिक खबरदारीलाई सशक्त बनाउनुपर्ने आवश्यकता रहेको छ । मदिराजन्य पदार्थलाई नियन्त्रण, नियमन गरी हाल रहेको उच्च दरको मदिराजन्य पदार्थको सेवनको दरलाई घटाउनका लागि तिनै तहका सरकारले नीतिगत तथा कानुनी प्रबन्ध गर्ने, कर वृद्धि र बजार नियमन गरी सहज पहुँचमा निरुत्साहन गर्ने, समुदाय सहभागितामा आधारित सामाजिक परिचालनमार्फत स्वास्थ्य साक्षरता बढाउँदै सामाजिक व्यवहार तथा जीवनशैलीमा परिवर्तन गरी हालको प्रयोगको दरलाई नियन्त्रण गर्न सकिन्छ । साथै हाल रहेका मदिराजन्य पदार्थ सेवनकर्तालाई समेत वैज्ञानिक स्वास्थ्य परामर्श तथा भरपर्दो उपचारको सेवामार्फत सहयोग गरी कुलतबाट छुटकारा गराउन सम्बद्ध सरोकारवालाले भूमिका खेल्न सक्छन् ।
अहिलेको एक्काइसौँ शताब्दीको युगमा विकासको केन्द्रमा मानव हुनु पर्छ, मानव हितबिनाको विकासको फाइदा कसलाई हुने हो ? तसर्थ नेपालमा हाल भुसको आगो जसरी फैलिरहेको नसर्ने रोगको प्रमुख कारक तत्वका रूपमा रहेका मदिरा तथा सुर्तीजन्य पदार्थबाट उठ्ने करले देशको सामाजिक, आर्थिक तथा भौतिक प्रगति गरी देशलाई समृद्ध गर्ने सोचलाई बदल्ने समय आएको छ । तिनै तहका सरकारले बिस्तारै उद्योग, पर्यटन, सूचना प्रविधि, व्यापार तथा रोजगारका अन्य उपायहरूको विकास एवं विस्तारमार्फत करको दायरा बढाउँदै वर्तमान समयमा मानव मृत्युको प्रमुख कारक बनेको नसर्ने रोगका प्रमुख जोखिम तìवलाई नियन्त्रण, नियमन, प्रतिबन्ध तथा उच्च कर वृद्धि गरी सही तवरले रोकथाम र नियन्त्रण गर्ने अभियानको नेतृत्व लिन ढिला गर्नु हुँदैन ।