• १८ चैत २०८१, सोमबार

श्रवण दृष्टिविहीन भएकालाई समाजमा घुलमिल गराउनुपर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १५ गते । साइन शेर्पाले आफ्नो बाबालाई छुनेबित्तिकै बाबाको हातमा सुँघ्न थाल्नुभयो । एक पटक सँुघेर नचिनेझैँ गर्नुभयो । उहाँले फेरि दोहोर्‍याएर सुँघेपछि चिनेर अँगालो हाल्नुभयो । साइन आँखा पनि देख्नुहुन्न, कान पनि सुन्नुहुन्न ।  अपाङ्गताको १० प्रकारको वर्गीकरणमध्ये साइन श्रवण दृष्टिविहीनमा पर्नुहुन्छ । श्रवण दृष्टिविहीन भएका व्यक्तिले सुँघेर, छामेर व्यक्ति तथा बस्तुलाई चिन्नुहुन्छ । 

ललितपुर सुनाकोठीनिवासी विधाता थापा र सविना तामाङले पनि हरेक बस्तु तथा आफ्नो आफन्त, शिक्षकलाई साइनले जस्तै गरी चिन्नुहुन्छ । श्रवण दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पानुरू शेर्पाले अपाङ्गता भएका बालबालिकालाई घरबाहिर लिएर हिँड्दा नयाँ वातावरणमा सम्हाल्न गाह्रो मान्दै अभिभावकले बाहिर ननिकाल्ने प्रवृत्तिले साइन जस्तै प्रकृतिका व्यक्तिलाई बाहिर कमै देखिने बताउनुभयो । विधाता, सविना र साइन हाल श्रवण दृष्टिविहीन बालबालिका, श्रवण दृष्टिविहीन अभिभावक समाज, काठमाडौँ महानगर र सिनामङ्गलस्थित बालापीठ आधारभूत विद्यालयको स्रोत कक्षामा दैनिक जीवनशैली तथा सामान्य खेल, शिक्षाका गतिविधि सिकिरहनुभएको छ । 

श्रवण दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पानुरू शेर्पाका अनुसार उहाँहरूलाई मध्यबानेश्वरस्थित दिवा हेरचाह केन्द्रबाट विगत दुई वर्षदेखि सो बालापीठमा गएर सामान्य दैनिक गतिविधि, सञ्चार र समाजमा घुलमिल हुन वातावरण मिलाइएको हो । 

अध्यक्ष शेर्पाले काठमाडौँ महानगरपालिका, श्रवण दृष्टिविहीन अभिभावक सङ्घ र बालापीठ आधारभूत विद्यालयसँगको त्रिपक्षीय सम्झौतापछि सञ्चालित स्रोत कक्षाका लागि सरकारले १८ जना श्रवण दृष्टिविहीन बालबालिकाका लागि प्रतिव्यक्ति चार हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराएको र खाजा, यातायात, दुई जना स्पेसल एजुकेटर, फिजियो थेरापिस्ट व्यवस्थापन भने समाजको तर्फबाट गरिएको बताउनुभयो । उहाँले आगामी शैक्षिक सत्रदेखि सो छात्रवृत्ति पाँच हजार रुपियाँको दरले प्राप्त हुने पनि बताउनुभयो ।

समाजका अध्यक्ष एवं साइनका बाबा लाक्पानुरू शेर्पाले विभिन्न रोगका कारण, जन्मेपछि स्वास्थ्योपचारका क्रममा र दुर्घटनामा परेर पनि कानको सुन्ने शक्ति र आँखाको देख्ने शक्ति गुम्न सक्ने बताउनुहुन्छ । 

आँखा/कानमा समस्या भएपछि उनीहरूले अरूले जस्तै गरी खानेकुरा खान, सामान, व्यक्ति, चिन्न, पढ्न/लेख्न र विभिन्न कुरा सिक्न सक्दैनन् तर अभिभावक र अपाङ्गता भएका बालबालिका वा व्यक्तिको हेरचाह गर्नेसम्बन्धी अध्ययन गर्नुभएका स्पेसल एजुकेटरले निरन्तर सिकाएपछि दैनिक जीवनमा गर्नुपर्ने काम सिक्न सक्छन् । 

श्रवण दृष्टिविहीन अभिभावक समाजले त्यस्तै समस्यामा रहेका बालबालिकाको हेरचाहका लागि काठमाडौँ, रुपन्देही, मोरङ र पोखरामा दिवा स्याहार केन्द्र सञ्चालन गर्दै आएको छ । 

समाजले सो विद्यापीठसम्म पनि ल्याउने स्रोत र साधन नभएका ललितपुर, भक्तपुर र काठमाडौँका श्रवण दृष्टिविहीनका लागि दैनिक जीवनमा आवश्यक तालिम घरघरमा पुगेरसमेत दिँदै आएको छ । 

विक्रम संवत् २०६२ देखि समाजले घरभित्रै थुनिएर बस्न बाध्य श्रवण दृष्टिविहीन, अपाङ्गता भएका बालबालिका र अभिभावकको समेत तालिमका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यापीठमा हाल स्पेसल एजुकेटर करुणा महर्जन र शैलु खरेलले श्रवण दृष्टिविहीन बालबालिकालाई सञ्चार, खाना खान, खेल्न, छोएर, पामराइटिङ विधिबाट जीवनशैलीका अभ्यास गराइरहनुभएको छ ।

स्पेसल एजुकेटर महर्जनले बालबालिकालाई मायाले सिकाएमा ढिलो सिक्छन् तर सामान्य जीवनमा गर्नुपर्ने सबैखालको काम सिक्ने बताउनुभयो । साइनकी आमा चन्दना गुरुङले अपाङ्गता भएका बालबालिकालाई घरभित्रै राख्नुको साटो घरबाहिर आफन्त तथा बजारमा समेत लैजाने गरेपछि सञ्चार गर्न जानेका छन् भने साथी, शिक्षक चिन्नेलगायतका कला सिकेको अनुभव सुनाउनुभयो ।

नेपालमा पनि अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र, ऐन, नीति पनि बनाएका छन् तर कार्यान्वयन फितलो छ । साइन शेर्पा जस्तै बालबालिका वा व्यक्तिलाई सरकारले जारी गरेको अपाङ्गता ऐन–२०७४ ले श्रवण दृष्टिविहीन अपाङ्गता भएका वा दुई वटा इन्द्रियसम्बन्धी अपाङ्गताको संयुक्त अन्तर्क्रिया रहेको व्यक्ति भनेर परिभाषित गरेको छ । समाजले काठमाडौँ, मोरङ, रुपन्देही र पोखरामा रहेको दिवा स्याहार केन्द्रमा श्रवण दृष्टिविहीन स्रोत कक्षा, घरमा आधारित शिक्षा र थेरापी सेवा करिब १५० जना श्रवण दृष्टिविहीन बालबालिकाले पाइरहेको जनाएको छ ।