काठमाडाैं, चैत १३ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताउनुभएको छ । बुधवार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताउनुभयो । उहाँले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताउनुभयो ।
उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उहाँको भनाइ छ । उहाँले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानूनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानुनको बर्खिलाप गरेको उल्लेख गर्नुभयाे । उहाँले विना लेवलका सिमेन्ट र डन्डी विक्री गर्ने केही डिलरलाई विक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाल बजारमा सिमेन्ट र डन्डी लगायतका केही वस्तुहरुमा अत्यधिक मूल्य वृद्धि भएको विषयमा सिमेन्ट र डन्डी उत्पादक तथा व्यवसायी एवं उत्पादक संघसँग छलफल र अन्तरक्रिया गरिएको र उनीहरुलाई मूल्य वृद्धिको कारण औचित्य पुष्टि गर्न निर्देशन दिइएको छ । केही सिमेन्ट र डन्डीका डिलरहरुलाई विक्री वितरणमा रोक पनि लगाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानूनको बर्खिलाप गरी केही उत्पादकहरुले बिना लेवलका उत्पादन बजारमा खुल्ला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको छ ।"
महानिर्देशक दाहालले कानुनको भावना र मर्मविपरित हुनेगरी विना लेवलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गर्नुभयो । उहाँले बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, "उल्लेखित ऐनको भावना र मर्मविपरित अब उप्रान्त कुनैपनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेवलमा उत्पादकको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोक्ता गरिसक्नुपर्ने मिति, अधिकतम खुद्रा मूल्य, परिणाम, तौल, गुणस्तर उल्लिखित विवरण र सोमा हुनपर्ने विवरणहरु उल्लेख गरी बिक्री वितरण गर्नु हुन अनुरोध गरिन्छ । साथै बिना लेवलका वस्तुहरु बजारमा बिक्री वितरण गर्न राखिएमा प्रचलित कानुन बमोजिम सजाय हुने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।"
महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो । उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानून अनुसार कारबाही हुने उहाँको भनाइ छ ।