ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १३ गते । म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाले सुरुङबाट निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई सिधै नदीमा फालेको छ । आयोजनाले लापरबाही तरिकाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।
कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको जिल्लाको मालिका गाउँपालिका ६ मा निर्माणाधीन ३५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाले सुरुङ खन्दा निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई व्यवस्थित नगरेर म्याग्दी नदीमा फालेको हो ।
आयोजनाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुले गुनासो गरेका छन्। आयोजनाले सुरुङ खन्दा निस्केको ढुङ्गा र माटो(मकिङ) लाई खाली जग्गा खरिद गरेर व्यवस्थित गर्नुपर्दछ । सिधै खोलामा फाल्दा नदीको धार परिवर्तन हुने,नदीमा बाढी अउने, कटानको जोखिम बढ्ने र जलचर संकटमा पर्ने जोखिम बढेको स्थानीयहरु बताउँछन् ।
आयोजनाले कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्कीएको ढुङ्गा र माटो नीतिगत व्यवस्था विपरित खोलामा फाल्ने गरेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
उहाँले भन्नुभयो, "हामीले आयोजनालाई पटक–पटक यस्तो लापरबाही नगर्नुहोस् भनेर मौखिक रुपमा भनेका छौं । तर आयोजनाले जनप्रतिनिधिको कुरा सुनुवाई गर्दैन । सुरुङबाट निस्केको ढुङ्गा, माटो जथाभावी रुपमा नदी किनारमा फालेको छ ।" जलविद्युत आयोजनालाई जवाफदेही बनाउने कसले होला उहाँले गुनासो पोख्नुभयो ।
नदीमा फालेको ढुङ्गा र माटोका कारण नदी किनारमा रहेको दरवाङ, बाबियाचौर, तातोपानी, सिंगा र बेनीमा कटानको जोखिम समेत बढ्ने वडाध्यक्ष रोकाले बताउनुभयो । दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्कीएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको उहाँले बताउनुभयो । "हामीले भनेको आयोजनाले मानेको छैन । आयोजनाले गरेको यो लापरबाहीलाई नियन्त्रण गर्ने निकाय कुन हो ? सम्बन्धीत निकायले चाँढो यता तर्फ ध्यान दिनुपर्याे," वडाध्यक्ष रोकाले भन्नुभयो । जनप्रतिनिधि र स्थानीयहरुको कुरा आयोजनाले सुनुवाई नगरेपछि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्विकार गर्दै जग्गा व्यवस्थापनमा ढिलाई भएका कारण खोलामा फालिएको बताउनुभयो । आयोजना जग्गाको खोजीमा लागेकाले आगामी दिनमा मकिङलाई चाँडै व्यवस्थित गरिने उहाँको भनाइ थियो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ मा सुरु भएको दरवाङ म्याग्दीखोला जलविद्युत जलविद्युत आयोजनाको छ वर्षमा २० प्रतिशत पनि भौतिक प्रगति भएको छैन । आयोजनाका स्थानीय शेयर लगानीकर्ताहरु निर्माणमा भएको ढिलाइका कारण निराश भएका छन् ।
निर्माण सम्पन्न हुने समयमा पनि आयोजना निर्माणले गति लिन नसकेको भन्दै लगानीकर्ताहरुले असन्तुष्टी पोख्न थालेका छन् । मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ इल्पुमा बाँध र वडा नं.–१ खोप्तिमा विद्युतगृह प्रस्ताव गरिएको आयोजनाको सुरुङ बाहेकका अन्य भौतिक संरचना निर्माण अझै सुरुनै भएको छैन ।