• १६ चैत २०८१, शनिबार

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियो : गृहमन्त्री

blog

गृहमन्त्री रमेश लेखक । फाइल तस्बिर ।

काठमाडाैं, चैत १३ गते । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

जुद्ध वारुणयन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको आवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताउनुभयो । 

उहाँले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताउनुभयो । उहाँले जनताको अवाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको वाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, "अहिले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोसिस भैरहेको छ । लोकतन्त्रले सञ्चारको कुरा सुन्छ, गणतन्त्रले जनताको कुरा सुन्छ । गणतन्त्रले लोकतन्त्रले जनताका आवश्यकता सुन्दोरहेछ, बुझ्दोरहेछ । लोकतन्त्रले जनताको आवाज सुन्छ, पत्रकारिताको आवाज सुन्छ । राजतन्त्र उचित व्यवस्था हो कि गणतन्त्र उचित व्यवस्था हो ? मैले भन्नै परेन नि ।’ 

वारुणयन्त्रको सेवा तीन रोपनी सात आना जग्गामा पाँच करोड ७६ लाख ९८ हजार लागतमा निर्मित नयाँ भवनबाट सुरु भएको छ । नवनिर्मित भवन २०८१ कातिक १ गते कार्यालयलाई हस्तान्तरण गरिएको थियो । ३२ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हललदार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सह लेखापाल र तीन जना कार्यालय सहयोगी रहेको जनाइएको छ ।