• १६ चैत २०८१, शनिबार

तीन सय रोपनीमा लिफ्ट सिँचाइ

blog

मकवानपुरको बकैया–१२ ठिंगनबेंसीमा निर्माण गरिएको लिफ्ट सिँचाइ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत १३ गते । बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिँचाइ गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका १२ स्थित ठिंगनबेंसीमा बागमती नदीको पानी तीनसय २५ मिटर भन्दामाथि उचाइमा लिफ्टमार्फत तानेर सिँचाइ गरिएको हो । 

हिउँदको समयमा सधैँ उजाड रहने माटोमा सिँचाइ सुविधा भएपछि कृषि उत्पादन गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय हेटौँडाबाट गत आवमा विनियोजन भएको बजेटबाट लिफ्ट सिँचाइ निर्माण भएको हो ।  

बकैया गाउँपालिका १२ ठिंगनबेंसीका ३० घरपरिवारका लागि लिफ्ट सिँचाइ योजना निर्माण भएको हो । यहाँको तीन सय रोपनी जमिनमा सिँचाइ हुने गरी उक्त योजनाको लागत ६७ लाख रुपियाँ रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । उपभोक्ता समितिले लिफ्ट सिँचाइ र नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको काम गरेको हो । 

गत असोज ११ र १२ गते आएको वर्षासँगको बाढीले यहाँको इनार र पानी तान्ने पम्पमा क्षति भएपछि बकैया गाउँपालिकाको तीन लाख आर्थिक सहयोगमा पुनः निर्माण गरिएको ठिंगनवेंशी बागमती लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष रुपेन घलेले जानकारी दिनुभयो । ११ केभिएको प्रसारण लाइनबाट स्टेपडाउन ट्रान्सफर्मरको प्रयोग गरेर लिफ्ट सिचाइ गरिएका उहाँले बताउनुभयो । गत आवमा सुरु भएको योजना चालु आवमा सम्पन्न भई सञ्चालनमा आएको छ। 

गाउँमा लिफ्ट सिँचाइ आएपछि यहाँका स्थानीय नवराज दहाल खुसी हुनुभएको छ । सिचाइ अभावका कारण बाझो रहेको जग्गामा कृषि उत्पादन हुनेभएपछि उहाँ खुसी हुनुभएको हो । बागमतीको पानी लिफ्ट सिँचाइबाट आएपछि स्थानीय चेतनाथ घिमिरे पनि व्यावसायिक तरकारी खेती गर्ने योजनामा हुनुहुन्छ । त्यस्तै यहाँका स्थानीय भूमिनन्द दहाल पनि हिउँदे बाली लगाउने तरखरमा हुनुहुन्छ ।