संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्छ । यसलाई विश्वको पहिले १० तारे होटेल पनि भनिन्छ । यो होटेलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनभने यो अर्बपति व्यापारी तथा राजपरिवारको पहिलो रोजाइमा पर्छ ।
आममानिसका लागि यो केवल एउटा पूरा नहुने सपना मात्रै हो । जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यहाँ केवल धनाढ्यले मात्र प्रवेश पाउँछन् ।यो होटेलले धनाढ्यहरूलाई विश्वको सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटेलमा पिल्लरदेखि ढोकाका ह्यान्डलसम्ममा सुन लेपन गरिएको छ । बाथरुममा पनि सुनको कला देख्न सकिन्छ । जसले हरेक पाहुनालाई राजर्षि अनुभव मिल्छ ।
यस्तो विचित्र होटेलको नाम बुर्ज अल अरब हो । दुबईको जुमेराहबीचमा अवस्थित यो होटेलको चारैतर्फ नीलो, सफा समुद्र फैलिएको छ । कृत्रिम टापुमा बनेको यो होटलको जग चाहिँ समुद्रभित्र १४८ फिट गहिराइमा छ । यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा विशिष्ट होटेलका रूपमा स्थापित गरेको छ ।
जुमेराह ग्रुपसँग यो होटेलको स्वामित्व रहेको छ । जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी होटेल चेन हो । यो होटेलको निर्माणमा करिब एक अर्ब डलर खर्च लागेको छ । ३२१ मिटर अग्लो यो होटेल भवनको सन् १९९९ मा निर्माण पूरा भएको थियो ।
बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो । टम राइटको नेतृत्वमा यसको निर्माण गरियो । यसको आकार एउटा जहाजको पाल जस्तै डिजाइन गरिएको छ । होटेलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ । यहाँसम्म कि खानाका परिकारमा समेत सुन प्रयोग गरिएको हुन्छ ।
–युवामञ्च