• १३ चैत २०८१, बुधबार

लालपुर्जा उपलब्ध गराउने तयारी

blog

जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न ‘कन्ट्रोल प्वाइन्ट’ स्थापना गर्दै नापीका कर्मचारी ।

केदार तिमिल्सिना

बनेपा, चैत १३ गते  । जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ का भूमिहीन स्थानीयलाई लालपुर्जा उपलब्ध गराउन नापी कार्यालयका कर्मचारीले काम तीव्र बनाएका छन् । लालपुर्जाविहीन स्थानीय नागरिकलाई लालपुर्जा उपलब्ध गराउन नापीका दुई टोली कार्यक्षेत्रमा गई काम सुरु गरेसँगै नागरिकमा लालपुर्जा पाउने आशा बढेको हो । 

प्रमुख नापी अधिकृत अशोककुमार भुसालले गाउँपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार कित्ता कायम गराउन तथा २०३२ सालपछि निर्माण भएका सडकलगायतका संरचनालाई नक्सामा अङ्कित गर्न नियामक विन्दु (कन्ट्रोल पोइन्ट) स्थापना गरिएको बताउनुभयो । उहाँले नापी विभागको समन्वयमा एक साताअघि गाउँपालिकाका दुवै वडालाई समेट्ने गरी डिजिपिएस प्रविधिबाट २४ वटा नियामक विन्दु स्थापना गरिएको जानकारी दिनुभयो ।

जग्गाको काम गर्न २४ वटा नियामक विन्दु स्थापना गरिएको छ । त्यसको परीक्षणसमेत भएकाले ‘टोटल स्टेसन’ प्रयोग गरी २०३२ सालदेखि हालसम्म निर्माण भएका संरचनालाई नक्सामा उल्लेख गरिने छ,” प्रमुख नापी अधिकृत भुसालले भन्नुभयो । उहाँले नक्सामा गाउँपालिकाले आवास, कृषिलगायतका क्षेत्र भनेर वर्गीकरण गरेको जग्गासमेत उल्लेख गरिने बताउनुभयो । उहाँले भूमि समस्या समाधान आयोगमार्फत जिल्लामा खटिएका जनशक्तिमध्ये सात जनालाई अनुशिक्षण गराउने उद्देश्यले भुम्लुका दुई वटा वडामा खटाइएको बताउनुभयो । भुम्लु गाउँपालिका–७ र ८ मा खटिएको नापी टोलीले कार्यक्षेत्रमा गएर कित्ता पहिचान, कित्ताकाट गर्नुका साथै प्रारम्भिक तेरिज तयार गर्ने काम सकिएको नापी कार्यालयले जनाएको छ । प्रमुख नापी अधिकृत भुसालले भुम्लुमा भएको लालपुर्जा समस्या समाधानका लागि स्थानीय तह र मालपोत कार्यालयले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । 

स्थानीय तहले स्थानीय नागरिकसँग जग्गाको राजस्व लिने, सिफारिस दिने काम गर्दै आएको छ । “मालपोत कार्यालयले जग्गा पास, नामसारी गर्दै आएकाले हामीले गरेको काममा दुवै निकायबाट सहयोग भए काम गर्न सहज हुने छ,” प्रमुख नापी अधिकृत भुसालले थप्नुभयो । उहाँले नापी कार्यालयबाट लगत भिडाउन मालपोत कार्यालय पठाइएका निवेदनमाथि तुरुन्त लगत भिडाएर पठाएको खण्डमा नागरिकले छिट्टै लालपुर्जा पाउने बताउनुभयो । 

सिमाना विवादका कारण ५० वर्षसम्म लालपुर्जाविहीन बनेका भुम्लु गाउँपालिका–७ र ८ का सर्वसाधारणलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्ने उद्देश्यले नापी कार्यालयले २०७१ साल जेठ २५ देखि नापी टोली गाउँ पठाउँदै आएको छ । कार्यालयले हालसम्म पटक पटक नापी टोली गाउँ पठाए पनि अहिलेसम्म मुख्य समस्या समाधान हुन भने सकेको छैन । 

५० वर्षदेखि लालपुर्जाविहीन बनेका यी दुई वडावासीको समस्या समाधान गर्न नापी कार्यालयले पुस पहिलो सातादेखि नापी अधिकृतको नेतृत्वमा नापी टोलीलाई कार्यक्षेत्रमा पठाई काम सुरु गरेको हो । विभिन्न समयमा गाउँमा पुगेको नापी टोलीलाई दुवै वडाका करिब एक हजार स्थानीयले लालपुर्जा पाउनका लागि निवेदन दिएका छन् । कार्यालयमा परेको निवेदनमध्ये हालसम्म १५४ वटा जग्गाधनी प्रमाण पुर्जा तयार भएको छ । करिब छ सय वटा निवेदनको लगत भिडाउन मालपोत कार्यालयमा पठाइएको कार्यालयले जनाएको छ । मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत दीपक कोइरालाले पछिल्लो समय कार्यालयमा लगत भिडाउन आएकामध्ये १३६ वटाको लगत भिडाएर पठाइएको बताउनुभयो । उहाँले पहिला पुर्जा बनेका १५४ वटाको पुर्जा अद्यावधिक गरेर बाँड्नयोग्य रहेको जानकारी दिनुभयो ।

उहाँले नयाँ बन्ने लालपुर्जामा स्थानीय भूउपयोग नियमावलीबमोजिम जग्गाको वर्गीकरण गरी त्यस अनुसार पुर्जा वितरण गर्नुपर्ने बताउनुभयो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३२ मा विवाद भएपछि २०३५ मा पुनः नापी टोली उक्त गाविसमा गएको थियो । २०३५ सालमा पनि सिमानाको विषयलाई लिएर दुई गाविसबिच झगडा भएको करिब ५० वर्ष पुग्दासमेत स्थानीयले हालसम्म पनि आफ्नो जमिनको लालपुर्जा पाउन सकेका छैनन् । यहाँको लालपुर्जाको समस्या बर्सौंसम्म समाधान नभएपछि २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति र २०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरिएको थियो । त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्ययोजना तयार गरी पेस गर्न नापी अधिकृत इ. ग्रीष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदनसमेत तयार गरिसकेको छ ।