काठमाडौँ, चैत १३ गते । चलचित्र ‘अभिमन्यु’ का लागि कलाकार छनोट सुरु भएको छ । निर्माण पक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गरेको छ । चलचित्रमा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध हुनुभएको निर्माण पक्षले जानकारी दिएको छ ।
“हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायालाई अनुबन्ध गरेका छौँ,” निर्माता विनोद पौडेलले भन्नुभयो, “अन्य कलाकार पनि अनुबन्ध गर्दै जाने छौँ ।” उहाँले चलचित्रको प्रदर्शन आगामी भदौ २७ गते हुने पनि बताउनुभयो । चलचित्रको पोस्टरले चक्रव्यूह र पैसाबिचको सङ्घर्षलाई प्रस्तुत गर्ने छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने सङ्घर्षको कथा चलचित्रले भन्ने छ । सेभेन सिज प्रस्तुतिमा निर्माण हुने चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्नुहुने छ । उहाँको यो डेब्यु निर्देशकीय चलचित्र हो ।