• १६ चैत २०८१, शनिबार

सिरिजमार्फत अरुणिमाको पुनरागमन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’ मा प्रसारण हुने जानकारी दिनुभयो । विमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट प्रसारण हुने छ । पहिलो सिजनका लागि १२ वटा शृङ्खला तयार भएका उहाँले बताउनुभयो ।

सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेसनसिपमा रहेकी छोरीको कथा समेटिएको छ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । अभिनेतृ अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्नुभएको छ । सिरिजमा अरुणिमाको मुख्य भूमिका रहेको छ । सिरिजमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारको अभिनय रहेको छ । निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेख्नुभएको हो । निर्माता रोशन घिमिरे हुनुहुन्छ भने सहनिर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुनुहुन्छ । सिरिजको सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन विक्रान्तमान श्रेष्ठ र सान थापाले पोस्टर डिजाइन गर्नुभएको छ ।