सन्तोष सुवेदी
धनकुटा, चैत्र १२ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, स्थित डाँडाबजारमा वैशाख १७ गतेदेखी चौथो संस्करणको डाँडाबजार गोल्डकप संचालन हुने भएको छ ।आयोजक डाँडाबजार फुटबल क्लबले मङ्गलबार पत्रकार सम्मेलन गरी गोल्कड बारे जनाकारी गराएको हो ।
साँगुरीगढीको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको आर्थिक सहयोग र जंगबहादुर स्मृति कोष डाँडाबजार र ब्रदरहुड सह–प्रायोजनमा प्रतियोगिता संचालन हुन लागेको हो ।
‘डाँडाबजारको सान–खेलकुद तथा पर्यटनबाट पहिचान’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगीता धनकुटा सहित मोरङ र सुनसरी लगायतका आठ टिमको सहभागिता रहेने छ ।
प्रतियोगिताको विजेता टिमले तिन लाख रुपियाँ र उपविजेताले नगद एकलाख ५५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गर्नेछन् । प्रतियोगिता संचालनका लागि २२ लाख रुपियाँ लाग्ने आयोजकको अनुमान रहेको छ ।
जसमा पालिकाले सात लाख, वडाकार्यालयले तिन लाख र सह–प्रायोजकले चार लाख रुपियाँ उपलब्ध गराउने आयोजक क्लबका अध्यक्ष राजकुमार थेगिन लिम्बुले जानकारी दिनुभयो । गत बर्षको तुलनमा यस बर्ष पुरस्कार राशि बढाईएको उहाँले जानकारी दिनुभयो ।
गतबर्ष विजेता टिमले दुई लाख २० हजार र उपविजेता टिमले एकलाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका थिए । खेलले पर्यटन प्रवद्धनमा टेवा पुग्ने र खेलकुदका माध्यमबाट साँगुरीगढीका खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडी बनाउन सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो ।
यस्तै कुलतमा लागेकाहरुको लत छुटाउन पनि सकिने भएकाले खेल क्षेत्रलाई प्रथामिकता दिईएको अध्यक्ष रुम्दालीले बताउनु भयो । वैशाख १७ गतेदेखि हुने चौथो संस्करणको डाँडाबजार गोल्डकप प्रतियोगिता वैशाख २० गतेसम्म संचालन हुनेछ ।