गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्भाला’ ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ । त्यस्तै चलचित्र ‘आँखा’ ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाउँदा चलचित्र ‘पुजार सार्की’ बाट निर्देशक दिनेश राउत उत्कृष्ट निर्देशक बन्न सफल हुनुभएको छ ।
यसै गरी चलचित्र ‘पुजार सार्की’ बाट नायिका अञ्जना बराइली उत्कृष्ट अभिनेतृ तथा चलचित्र ‘आँखा’ बाट आरके मेहताले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्नुभएको छ । राष्ट्रिय फिचर फिल्म अवार्ड छायाकार राजेश श्रेष्ठले पाउनुभएको छ । उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाउनुभयो । भारतीय फिल्म ‘रुक्मिणी’ ले डन क्विजोटे अवार्ड पाउँदा मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र ‘दी अविस’ ले प्राप्त गर्यो ।
छोटो चलचित्र विधातर्फ ‘अ विट्नेस’ बाट निसान खत्री उत्कृष्ट निर्देशक, माउन्ट एभरेस्ट अवार्ड बेल्जियमको ‘मेल्टिङ स्नो’ ले पाएको छ । बागमती अवार्ड स्पेनी फिल्म ‘लुसिया जी रोमेरो’ ले प्राप्त गर्यो । अडिएन्स च्वाइसतर्फ लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ उत्कृष्ट कथानक फिल्म बन्यो । यही विधामा लव प्याकुरेलको ‘गल्स री राइटिङ डेस्टिनी’ उत्कृष्ट डकुमेन्ट्री र साक्षी रुख उत्कृष्ट छोटो फिल्म घोषित भए ।
त्यस्तै उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवी’ बन्यो । उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड नीराजनराज भेटवालको चलचित्र ‘दी विट्नेस ट्रु’ ले पायो । चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए ।