• १२ चैत २०८१, मङ्गलबार

कालिगण्डकी कोरिडोर : पर्वत बेनी खण्ड सडक निर्माण अवरुद्ध

blog

सडक निर्माणमा अवरोध भएको खण्ड पर्वत बेनी बजार क्षेत्र । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत १० गते । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन माढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयवासीहरुले अवरोध सिर्जना गरेका छन् । 

जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी बजार क्षेत्रको सडक निर्माणमा घरधनीहरुले अवरोध पुर्‍याएका हुन् । घरधनीहरुले सडक निर्माणमा अवरोध सिर्जना गरेपछि यो खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रेको काम रोकिएको छ ।  

म्याग्दीको सदरमुकाम बेनी जोड्ने कालिगण्डकी मोटरेबल पुलदेखि सात सय ८० मिटर दूरीमा पर्वत बेनी बजारका २८ वटा पक्की घर पर्दछन् । नाली सहितको ११ मिटर सडकको मापदण्ड भएपनि हाललाई घरहरु नभत्काई ९ मिटरको सडक कायम गरी आयोजनाले कालोपत्रे गर्न खोजे पनि घरधनीहरुले काम गर्न अवरोध सिर्जना गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईंले बताउनुभयो । 

घरधनीहरुले आयोजनाबाट खटिएका इन्जिनियर तथा कर्मचारीलाई काममा अवरोध सिर्जना गर्ने, सडक नाप्न नदिने र उपकरण खोसेर फालिदिने लगायतका कार्य गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "सडकको मापदण्ड ११ मिटर चौढाइ हो । ११ मिटर कायम गर्दा अहिले बजार क्षेत्रका धेरै घरहरु भत्काउनुपर्ने देखियो । त्यसैले सडक आसपासका घरहरुलाई क्षति नपुर्‍याइ हाललाई ९ मिटर चौढाई कायम गरी सडक कालोपत्रे गर्न आयोजनाले खोजेको थियो । तर घरधनीहरु मान्नुभएन ।" 

सडक विस्तारमा अवरोध भएपछि अहिलेलाई यो खण्डको कालोपत्रे गर्ने कार्यलाई ठेक्काबाट हटाउने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । आयोजना कार्यालयले प्रभावित घरधनी, स्थानीय जनप्रतिनिधि र पर्वतका प्रमुख जिल्ला अधिकारी सहित समस्या समाधान गर्न पटकपटक छलफल गरेपनि घरधनीहरु सकरात्मक नभएको उहाँले बताउनुभयो । 

सडक विस्तार गर्दा धेरै घरहरु विस्थापित हुने भएकाले यो खण्डको विकल्प खोज्नुपर्ने धरधनीहरुको गुनासो छ । अहिले ९ मिटरमा सडक कालोपत्रे गर्न दिएपनि यो राष्ट्रिय राजमार्ग भएकाले भोलीका दिनहरुमा सरकारले मापदण्ड अनुसार ३० मिटर चौढाई कायम गर्दा आफू सकुम्बासी हुनुपर्ने पर्वत बेनीकी जुना जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, "जीवनभरको कमाईले बनाएको घर सडक विस्तार गर्दा भत्किएपछि हामी घरविहिन हुनुपर्दछ । अहिले घरहरु नभत्काएपनि भोलीका दिनहरुमा जसरी पनि सरकारले सडक विस्तार गर्दा भत्काउँछ । त्यसैले बजार क्षेत्रको विकल्प खोजेर सडक निर्माण होस् भन्ने हाम्रो माग हो ।"    

घरलाई क्षति नपुर्‍याइ हाललाई ८ देखि ९ मिटर चौढाई कायम गरेर सडक कालोपत्रे गर्न जनप्रतिनिधिहरुले सहजीकरण गर्दा पनि घरधनीहरुले अटेरी गरेको जलजला गाउँपालिका ४ का वडाध्यक्ष भरत क्षेत्रले बताउनुभयो । "अहिले बजार क्षेत्रको सडक जिर्ण बनेको छ । धुलो र हिलोले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ," वडाध्यक्ष क्षेत्रीले भन्नुभयो, "सडक राम्रो नहुँदा बजार नै कुरुप देखिएको छ । आयोजना र जनप्रतिनिधिले धेरै प्रयास गर्दा पनि घरधनीहरु सडक विस्तार गर्न तयार हुनुभएन ।"

आयोजना अन्तर्गत अहिलेसम्म पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर सडक कालोपत्रे भएको आयोजनाका सव–इञ्जिनियर सोहनजङ कार्कीले बताउनुभयो । उहाँका अनुसार पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर सडक ढलान गरिएको छ । 

फर्सेदेखि पर्वत बेनी सम्म विभिन्न स्थानहरुमा निर्माण व्यवसायीले अहिले सडक निर्माणको कामलाई तिव्रता दिएको उहाँले बताउनुभयो । मिलनचोक बजार र लस्ती बजारमा सडक विस्तारमा भएको समस्यालाई हटाई यस क्षेत्रमा पनि निर्माण व्यवसायीले काम थालेको उहाँले बताउनुभयो । लस्ती खोला देखि पर्वत बेनी सम्म करिब थप ५ किलोमिटर सडक एकमहिना भित्रमा कालोपत्रे गर्ने लक्ष्यसहित संरचना निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 

आयोजनाले १३ किलोमिटर दूरी रहेको मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्रे र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीसँग २०७७ चैतमा ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

मुख्य ठेकेदारले सहायक ठेकेदार ओमकारेश्वरलाई सडक निर्माणको जिम्मा दिएको थियो । सहायक ठेकेदारले एक वर्ष काम गरेपछि सडक अलपत्र पारेर आयोजनाबाट बाहिरिएको थियो । 

सडक अलपत्र परेपछि म्याग्दी र पर्वतका जनप्रतिनिधि लगायत सरोकारवालाहरुको दबाब पछि मुख्य ठेकेदार कार्यस्थलमा फर्किएर मजदुर र उपकरण परिचालन गरेर सडक निर्माणको कामलाई अहिले तिव्रता दिएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी असार मसान्तका सकिँदै छ । हालसम्मको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । 

कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्रे गरेपनि दुई वर्षमै जिर्ण भएको थियो । ट्रयाक खुलेको करिब ३० वर्ष पछि यो सडक फराकिलो सहित कालोपत्रे हुन लागेको हो ।