• १२ चैत २०८१, मङ्गलबार

लालबन्दीका १९ स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

blog

लालबन्दीमा स्वास्थ्य संस्थाको अनुगमन गर्नुहुँदै मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत १० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएको थियो । उहाँले राति अबेरसम्म लालबन्दी र नवलपुरका २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको छ ।

त्यसक्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति पत्र नरहेका र मापदण्ड अनुसार सेवा सञ्चालन नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको हो । अनुगमन गरिएका २३ वटा स्वास्थ्य संस्थामध्ये दुईवटा अस्पतालसँग सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको र दुईवटा अस्पताल नवीकरण गर्नुपर्ने देखिएको मुख्यमन्त्री सिंहले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले केही साताअघि पनि लालबन्दी नगरपालिकास्थित नवलपुरको स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । मुख्यमन्त्री सिंहले आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएको अस्पताल पुनः सञ्चालन भइरहेको गुनासो आएको र त्यससम्बन्धमा स्थानीय प्रहरी परिचालन गरेर निगरानी गर्न प्रदेश प्रहरी प्रमुख (डीआईजी) लाई निर्देशन दिएको लालबन्दीमा सञ्चारकर्मीसँग बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले शनिबार बेलुका महोत्तरीको बर्दिवास र सर्लाहीको लालबन्दीका स्वास्थ्य संस्थाको अनुगमन गर्नुअघि शुक्रबारसम्ममा प्रदेशभरका ७५ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको जानकारी दिनुभयो । केही ठाउँमा पालिकाले अधिकार क्षेत्रबाहिर गएर आफूले बन्द गर्न निर्देशन दिएको स्वास्थ्य संस्थालाई अल्पकालिन सञ्चालन अनुमति पत्र दिएको पाइएको भन्दै त्यसो नगर्न पालिकासँग आग्रह गर्नुभएको छ । 

अनुगमनपश्चात सबै ठाउँमा पुनः प्रदेश सरकार पुग्न नसक्ने भन्दै अब स्थानीय प्रहरीमार्फत निगरानी गर्न सुरु गरिसकिएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले केही साताअघि सर्लाही सदरमुकाम मलङ्गवामा अनुगमन गरी बन्द गर्न निर्देशन दिएको अवैध निजी अस्पताल अहिले पुनः खुलेयाम सञ्चालन भइरहेको व्यापक जनगुनासो आइरहेको छ ।