जङ्क फुड खाने संस्कार र बच्चालाई जङ्क फुड दिएर गरिने मायालाई डा. अरुणा उप्रेती विषालु मायाको संज्ञा दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यस्ता खानाले तत्कालको भोक निवारण शीघ्रातिशीघ्र गरे पनि नानी बाबु र जङ्क फुड अनहाइजेनिक फुड खानेको स्वास्थ्यलाई दीर्घकालीन क्षति गर्छ ।” त्यसै गरी पार्टीहरूलाई पनि उनीहरूको नाजायज शैली, अभ्यास र गलत छोप्ने परिपाटीलाई यो वा त्यो बहानामा बुद्धिजीवीले गरिदिने संरक्षण र बौद्धिकताको खोल ओढेको तर्कभित्र विषालु माया रहेको पाइन्छ । जङ्क फुड (अनहाइजेनिक) को स्वाद प्राप्त हुन्छ तर यसले बालबच्चा र जङ्क फुडको आदत बनाउनेहरूमा दीर्घकालीन रोगको घर बनेको हुन्छ । यो विषालु माया हो । मायामा घुलेको मन्द विष हो ।
नेता मन पराउने, दल मन पराउने नेता र दलको फ्यान हुने होड नै छ समाजमा । आममान्छेदेखि विभिन्न क्षेत्रका बहुआयामिक मान्छेहरू, सेलिब्रेटी कलाकार गायक, लेखक अभियन्ता, प्रोफेसर, इन्जिनियर डाक्टर आदिले आफूसम्बद्ध दलनिकटप्रति र शुभेच्छा राखेका नेताप्रति चाकरीको चिल्लो घसेर फुस्रो माया प्रदर्शन गरिरहेका छन् । फूल विच्छ्याए खाडल छोपी रहेका छन् । पत्रु खाना खुवाएर मुसारिरहेका हुन्छन् । उनीहरूको गलत पृष्ठपोषणले दलहरू प्रकारान्तरले जाकिने त्यही फूलले छोपेको खाल्डोमा नै हो । अराजनीतिक र नाजायज कामलाई राजनीति भनेर स्वीकार गर्नु, त्यसको विरोध नगर्नु र राजनीतिमा सबै जायज हुन्छ भनेर नाजायज कर्मलाई राजनीतिको बर्कोले ढाकिदिनु दलहरूलाई पुर्ने खाल्डो खन्नु जस्तै हो ।
सत्तामा जाने म्यान्डेड नभएको दललाई सत्तामा जान नरोक्नु, बरु सत्ताप्रेरित गर्नु र सत्तामा जान जसले जसरी म्यान्डेड लिएको थियो, त्यसको विपरीत सत्तामा जानु र सत्तामा जानु नै सबथोक ठान्ने परिपाटीलाई प्रश्रय दिने गरी विचार अभिव्यक्त गर्नु बौद्धिक वर्गको महाभूल हो । बौद्धिकले देशलाई असल विचारले लिड गर्नुपर्नेमा गलत विचार, खराब प्राथमिकता साथ मिसलिड गर्नु पनि अपराध हो । देशका लागि गरेको कुकर्म समान हो । दलहरूलाई सुध्रिन, सच्याउन र सिर्जनात्मक बन्न नदिने विद्वान् बुद्धिजीवी र समर्थक मन्द विष घोलिदिने पात्र हुन् । दलहरू फरक छैनन्, नयाँ हुन् या पुराना, तिनले जुन र जस्तो संस्कृति र संस्कारलाई बढावा दिइरहेका छन् त्यसले प्रत्यक्ष/परोक्ष सम्बन्धित दलहरूको भागमा सत्ताको हिसाबकिताबको जोड घटाउमा नोक्सानी पर्छ । कालान्तरको घाटा देश, जनता, विकास, समृद्धि र सुखी आकाङ्क्षाका हुने छ, सुसंस्कृत र नैतिक राजनीतिका लागि पनि ।
लोकतन्त्र विधि, पद्धति, मानव अधिकार, स्वतन्त्रता, मर्यादा र समताका लागि आवाज उठाउने सचेत पङ्क्ति, आलोचनात्मक चेत भएको बौद्धिक र प्राज्ञिक समूह पब्लिक इन्टेलेक्चुअल हुन् । पब्लिक इन्टेलेक्च्युल परिभाषामा संसारभर विरोधाभाष छ, एकरूपता छैन । बहस जारी छ । भारतीय समाजशास्त्री प्रो.आन्द्रे (सन् १९३४) बेतेका अनुसारः ‘बौद्धिक ती हुन् जसले विद्यमान ज्ञानको आलोचना गर्छन् र नयाँ ज्ञान निर्माण गर्न सक्रिय बन्छन्’ तर पनि मूलभूत मान्यताको रूपमा समाजको बृहत्तर हित प्रवर्धन गर्न तथ्य, तर्क, विवेक र साहस प्रदर्शन गरेर प्रतिकूल परिस्थितिमा पनि आफ्नो धारणा निर्धक्क राख्नेहरू पब्लिक इन्टेलेक्च्युल हुन् ।
इटालियन चिन्तक आन्टिनियो ग्राम्सीले (१८९१–१९२७) समाजका बौद्धिक को हुन् भन्ने बारेमा (प्रिजननोट सन् १९२२–१९३५ बुक्समा उल्लिखित) चिन्तन गरेका थिए । उनका दृष्टिमा परम्परागत र जैविक गरी बुद्धिजीवीका दुई चरित्र हुन्छन् । सत्ताका लागि काम गर्ने बुद्धिजीवी वैज्ञानिक, पुजारी, पादरी, लामा, मिडिया आदिले समाजका विभिन्न क्षेत्र र सत्तासँग पहुँच पु¥याएर परम्परागत सत्ताका लागि काम गर्छन् । जैविक अर्थात् अर्गानिक बुद्धिजीवीले समाजिक र ऐतिहासिक रूपमा भिन्न विचारधारा निर्माण गरेर समाजको प्रतिरोधी विचार धारलाई मलजल गर्न सहयोग गर्छन् । कतिपय अवस्थामा सत्ताविरुद्ध अगुवाइसमेत गर्छन् । हेपिएका वर्गका लागि चेतना निर्माण गर्ने काम अर्गानिक बुद्धिजीवीको हो । परम्परागत बुद्धिजीवी भने सत्तामुखी हुन्छन् । अग्य्रानिक बुद्धिजीवी अग्रगामी परिवर्तनको पक्षमा यथास्थितिको विपक्षमा काम गर्छन् ।
हाम्रो देशमा सत्ताको हरियो घाँस ( सत्ताले दिने नियुक्ति, आस, पद र अफर) मा लोभिने प्रचलन हाबी छ । जुनसुकै क्षेत्रको व्यक्ति भए पनि पार्टीमा लागिहाल्ने, नियुक्ति लिन कुदी हाल्ने र रिटायर्ड उच्च तहका कर्मचारीदेखि सामान्य कर्मचारी जागिर छोडेको भोलिपल्टदेखि औपचारिक रूपमा पार्टीमा सक्रिय हुने गर्छन् । टिकट लिने र बार्गेनिङमा लागिहाल्ने कारण पनि दलहरूलाई बाहिर बसेर खबरदारी गर्ने उच्च नैतिक तागत भएका अर्गानिक व्यक्तिको अभाव रहँदै आयो ।
कतिपय बुद्धिजीवी र नागरिक समाजका व्यक्ति छन्, तिनीहरू पार्टीलाई कुपोषित बनाउन उद्धत छन् । त्यसैले हाम्रो राजनीति र दलहरू विशाक्त बन्दै गइरहेका छन् । बोल्नु पर्ने र बोली पत्याइने समुदाय र वर्गले सत्य कुरा बोल्न धकाए, लजाए वा लोभिए भने अर्थात् अलोकप्रिय हुने भयमा मौन बसे भने उसले प्राप्त गरेको बौद्धिकी उसलाई प्राप्त विश्वास र भरोसा राज्यको लगानी व्यर्थ हुन्छ । तसर्थ अप्रिय र कटु नै भए पनि सत्य बोलिदिने अर्गानिक बुद्धिजीवी अत्यावश्यक हुन्छ । सत्य कुरा एन्टी करेन्ट नै भए पनि बोलिदिनु र स्मरण गराइदिनु उसको बौद्धिक धर्म, कर्म र कर्तव्य हो । औसत मान्छेभन्दा सोच्न, बुझ्न र यथार्थ बोल्न सक्ने योग्यता नै बौद्धिकी हो । बौद्धिक र प्राज्ञिक प्राधिकार प्राप्त व्यक्तिहरू समाजमा जे छ, त्यही बोल्ने बहाना र भाइरल हुने लोभमा जे देखिएको छ सोही जस्ताको त्यस्तै, जे सुनिएको छ त्यो सुनिए जस्तै त्यसको सत्यापन नगरी परिस्कृत र परिमार्जित नगरी बोलेर समस्या खडा गरिरहेका छन् । जसले समाजलाई मिसलिड गरिरहेको छ ।
राजनीतिमा जायज र नाजायजबिच भेद हुन्छ तर अराजनीतिमा सबथोक जायज हुन्छ । अराजनीतिलाई राजनीति भन्दै राजनीतिमा सत्ता प्राप्तिका लागि सबथोक जायज हुन्छ भन्ने गलत न्यारेसनको प्रमोसन गर्नेहरूको बाहुल्य छँदै छ । आफूसम्बद्ध दलले गरेको नाजायज कर्मलाई बौद्धिकता र तर्कको लेपन लगाएर ‘डक्ट्रिन अफ नेसेसिटीको थेउरी देखाएर, तत्कालीन पारिस्थितिको उपज भनेर दलहरूलाई अवैध इमोरल र अनिथिकल कार्य गर्न उक्साउने तरिकाको न्यारेसन ठाउँको ठाउँ सिर्जना गर्ने अभ्यास अति खराब छ । यही सिद्धान्तको दुहाइ दिँदै दलहरू रातारात मिल्छन् र अनयास फुट्छन् । चुनावी गठबन्धन गर्छन् । सत्ता समीकरण फेर्छन् र अस्थिर सत्ता राजनीतिको चक्रव्युहमा देशलाई बर्बाद पार्छन् । त्यसैले तपाईंहरूले गरेको राजनीति होइन अराजनीति हो भन्न सक्ने बौद्धिक जमात चाहिन्छ ।
‘फ्रुट अफ द पोइजनस ट्री’ को सिद्धान्त अनुसार गलत तरिकाले गरिएको कामको नतिजा अन्ततः गलत नै हुन्छ भन्ने तथ्य र न्यारेसनबाट दलहरू प्रशिक्षित हुनु अपरिहार्य छ । अन्यथा राजनीतिको नदी फोहोर हुने, विषाक्त बन्ने र राजनीतिप्रति चरम वितृष्णा आउने स्थितिमा कमी आउने छैन । धमिलो पानीमा माछा मार्न जाँदा माछा मात्रै होइन विषालु सर्प पनि फेला पर्न सक्छ भन्ने हेक्का राख्न नसक्नु हाम्रो राजनीतिको गम्भीर भूल हो । पानी धमिलो बनाएर मात्र हुँदैन, सङ्लो पानीमा प्रतिस्पर्धात्मक बनेर माछा मार्ने निष्ठा र यत्न गर्नु पर्छ । नेता हुन् नेतृत्व लिन ज्ञान, विज्ञान, प्रविधि, नीति, नैतिकता, सामाजिक र कानुनी वैधताको खोजी गरिन्छ । हामी सत्ताका लागि मरिहत्ते गर्छौं र राजनीति पटक पटक दुर्घटनाग्रस्त बनेको छ ।
दलहरूको समालोचना र आलोचना गर्न दलभित्रकै हुनु पर्छ भन्ने छैन । किनकि दलहरू सार्वजनिक राजनीतिक वित्त हुन् तिनलाई जवाफदेही बनाउन, प्रश्न सोध्न, आलोचना गर्न र सुझाव पेस गर्ने सबैको सार्वजनिक हक हुन्छ । सार्वजनिक फोरमको माध्यमबाट प्रशंसा, आलोचना, सुझाव र दृष्टिबोध गर्न सकिन्छ । दलहरूका मामला आन्तरिक मामला होइनन् किनभने तिनले लिने नीति तय गर्ने बाटो, देखाउने नैतिकता गर्ने अभ्यासले तमाम मान्छेको जीवनसँग सरोकार राख्छन्, प्रभाव र दबाब महसुस गराउँछन् । तसर्थ कुनै पनि दलमा आबद्ध नभए पनि दलको विषयमा बोल्ने टिप्पणी गर्ने र सुझाव पेस गर्ने अधिकार राख्छन् ।
दलहरूसँग लामो सङ्घर्ष गरेको, योगदान दिएको, व्यवस्था परिवर्तनका लागि ज्यान हत्केलामा राखेकोदेखि नयाँ दलसँग पुरानालाई विस्थापित गरेर नयाँ ढङ्गले देश बनाउने सपना ल्याकत र हुटहुटी छ । अठोटको कमी छैन, दुर्भाग्य नैतिक धरातल भने सबैको आआफ्नो हैसियत अनुसार उस्ताउस्तै छ । कमजोर नैतिक धरातलको जगमा उभिएर नैतिकताको कुरा गर्न त्यति सहज देखिँदैन । दलहरूले एकले अर्कोलाई प्रतिरोध गर्दा हामी क्लिन छौँ, पारदर्शी छौँ, भन्न नसकी तिमीहरू जति त अलि होइन नि भनेर प्रतिरक्षा गर्नु परेको स्थिति छ । यो अवस्थाले हाम्रो देशको अनेक बेथितिलाई सङ्केत गर्छ ।
कोही छैनन् त सफेद मान्छेहरू ? छन्, पक्कै छन्, तिनीहरू सबै दलमा छन्, बस् तिनीहरू उमेर अनुहार र स्वरले होइन एजेन्डा अठोट र सक्रियताले अगाडि आउनु पर्यो र नेतृत्व दाबी गर्नु पर्यो । प्रतिस्पर्धा आधारभूत रूपमा स्वच्छहरूका बिच हुनु पर्यो । एउटा मात्र सुसंस्कृत र स्वच्छ पार्टी भयो भने अरूलाई सुध्राने वा सकिने विकल्प रहन्छ । हाम्रो ध्येय पार्टीहरू सकिने होइन, सुध्रिउन्, सच्चिउन् र प्रतिस्पर्धा गरुन् भन्ने हो । दलहरूका लागि हाइजेनिक डाइट भनेको अनुशासन, गतिशीलता, पारदर्शिता, नैतिकता, व्यावहरिकता, योग्यता र मर्यादा हो । पत्रु खाना, गलत सोच, अपारदर्शिता, भ्रष्टाचार, अनैतिकता र अयोग्यता र अस्पष्टता हुन् ।