• २ असार २०८२, सोमबार

आगलागीपछि अवरूद्ध हिथ्रो विमानस्थल पूर्णरुपमा सञ्चालित

blog

लण्डन, चैत ९ गते । युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ’पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले बताएको छ । विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताउनुभयो । 

विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिकरूपमा उडान सेवा सञ्चालनमा आएका थिए । “हिथ्रो विमानस्थल आज पूर्णरूपमा खुला भई पुनः सञ्चालनमा आएको छ,” उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलभरिका टोलीहरूले ‘अफ-एयरपोर्ट पावर सबस्टेसन’मा हिजोको आगलागी र विद्युत् कटौतीका कारण प्रभावित यात्रुहरूलाई सहयोग गर्न सक्दो प्रयास जारी राखेका छन् ।”

फ्लाइटराडार २४ ट्रयाकिङ वेबसाइटका अनुसार शुक्रबारको बन्दका कारण करिब एक हजार ३५० उडान प्रभावित भएका छन् । शनिबार सेवा पुनः सुरु भएपछि पनि केही उडानको छुट्ने र अवतरण गर्ने तालिका प्रभावित हुने अपेक्षा गरिएको छ । “हामीसँग हाम्रा टर्मिनलहरूमा सयौं अतिरिक्त सहकर्मीहरू छन् र हामीले विमानस्थलमार्फत यात्रा गर्ने थप १० हजार यात्रुहरूलाई सुविधा प्रदान गर्न आजको तालिकामा उडानहरू थपेका छौँ,” उहाँले भन्नुभयो । 

विमानस्थल प्रशासनले एक विज्ञप्ति जारी गरी भनेको छ, “आज यात्रा गर्ने यात्रुहरूले आफ्नो उडानको बारेमा नवीनतम जानकारीको लागि आफ्नो एयरलाइनसँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरिएको छ ।” ब्रिटिस एयरवेजले दिनभरि विमानस्थलमा निर्धारित उडानको करिब ८५ प्रतिशत उडान गर्ने अपेक्षा गरेको जनाएको छ । भीडभाड कम गर्नका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायीरूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ ।

हरेक दिन करिब दुई लाख ३० हजार यात्रुले हिथ्रो विमानस्थलको प्रयोग गर्छन् । विमानस्थलले वार्षिक आठ करोड ३० लाख यात्रीलाई सेवा दिन्छ । हिथ्रो विमानस्थलबाट करिब ८० देशमा उडान हुँदै आएको छ । अवरोधको परिमाणले बेलायतको यात्रा पूर्वाधारको महत्त्वपूर्ण टुक्राहरू मध्ये एकको कमजोरीको बारेमा प्रश्न उठाएको छ । 

बिहीबार राति भएको आगलागी ‘शङ्कास्पद नभएको’ र अनुसन्धान ‘विद्युतीय वितरण उपकरणमा केन्द्रित हुने’ अधिकारीहरूले बताएका छन् । यसअघि लण्डनको महानगरीय प्रहरी बलको आतङ्कवादप्रतिरोधी कमान्डले आगोको प्रभावलाई ध्यानमा राखेर अनुसन्धानको नेतृत्व गरिरहेको बताएको छ । रासस/एएफपी