• २१ चैत २०८१, बिहिबार

अधिकांश पुस्तकालय बन्द

blog

दोलखा समाचारदाता

दोलखा, चैत ९ गते । दोलखामा रहेका अधिकांंश पुस्तकालय बन्द भएका छन् । शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाको अभिलेखमा भेटिएका नौ वटामध्ये छ वटा बन्द भइसकेका छन् । अभिलेख अनुसार भीम पुस्तकालय दोलखा, सयपत्री पुस्तकालय काभ्रे, महाकाली भगवती पुस्तकालय माटी, मदन आश्रित पुस्तकालय चरीकोट, महाकाली जनहित पुस्तकालय, गौरीशङ्कर सामुदायिक पुस्तकालय, ललित पुस्तकालय मेलुङ र कारागारमा पुस्तकालय खुलेका छन् । 

सयपत्री पुस्तकालय काभे्र र महाकाली जनहित पुस्तकालय भीमेश्वर–९ को अभिलेखमा भए पनि अस्तित्वमा छैन । महाकाली भगवती पुस्तकालय माटी २०४६ सालमा स्थापना भएको थियो । यसका केही थान पुस्तक भीमेश्वर नगरपालिका–५ को विसुनटोल आधारभूत विद्यालयमा रहेका छन् । विद्यालयका प्रधानाध्यापक बाबुराम थापाले भन्नुभयो, “पुस्तक के कति थिए भन्ने एकिन छैन । अहिले करिब दुई सय थान पुस्तक धमिरा लागेको अवस्थामा छन् । अभिलेख पाइँदैन ।”  

मदन आश्रित पुस्तकालयका केही अवशेष नेकपा (एमाले) दोलखाको मनमोहन स्मृति प्रतिष्ठानको एक कोठामा रहेका छन् । बाहिरपट्टि पुस्तकालय लेखिएको कोठामा केही कम्युनिस्ट सिद्धान्तका पुस्तक रहेका छन् । सो पुस्तकालय कसरी र कहिले स्थापना भएको भन्ने कहीँ कतै उल्लेख रहेको पाइँदैन । 

जिल्लाको जेठो भनिएको भीम पुस्तकालय विसं २०१० सालमा स्थापना भई प्रसिद्धि कमाएको थियो । भूकम्पले भवन भत्किएपछि पुस्तकालय आफ्नै जग्गामा पुनः भवन निर्माण हुन थालेको छ । चाँडैै सञ्चालनमा आउने स्थानीय एवं समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठले बताउनुभयो ।  रूपा फाउन्डेसन काठमाडौँले पुस्तकालय भवन निर्माण सुरु गरेको हो । फाउन्डेसनको १५ लाख रुपियाँ लगानीमा भवन निर्माण हुन थालेको छ । 

फाउन्डेसनका सल्लाहकारसमेत रहनुभएका श्रेष्ठका अनुसार भवनको संरचना ढलान तथा स्टिल हुने छ । भवन निर्माण सम्पन्न गरी वडालाई हस्तान्तरण गर्न लागिएको छ । निर्मित भुइँ तला व्यावसायिक रूपमा बनाइने भएको छ । जसबाट आएको भाडाले पुस्तकालय सञ्चालन गरिने र माथिल्लो तलामा पुस्तकालय सञ्चालन हुने छ । पुस्तकालय वडाले सञ्चालन गरी केही पुस्तकको सहयोग भने फाउन्डेसनले गर्ने लक्ष्य राखेको छ ।  

मेलुङ गाउँपालिकाका स्थानीय ललितबहादुर कार्कीले निजी खर्चमा स्थापना गर्नुभएको ललित पुस्तकालयको केही अवशेष बाँकी रहेको छ ।  स्व. ललितबहादुरले नै स्थापना गरिदिनुभएको त्रिभुवन माध्यमिक विद्यालकै आसपासमा पुस्तकालय रहेको छ । स्थापनाको मिति र पुस्तकको विवरण राखिएको छैन ।   

चरीकोट बजारमा रहेको गौरीशङ्कर सामुदायिक पुस्तकालय अहिले सञ्चालनमा रहेको छ । २०६० सालमा स्थापना भएको यो पुस्ताकालय निर्माणमा रिड नेपालले आर्थिक सहयोग गरेको थियो । यो पुस्तकालय जिल्लामा उत्कृष्ट पुस्तकालयका रूपमा स्थापित रहेको छ ।