• ३ साउन २०८१, बिहिबार

बिजुली भारतमा निर्यात

blog

काठमाडौँ, जेठ २० गते । पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत् निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली २४सै घण्टा भारततर्फ निर्यात सुरु भएको छ ।

देशभित्रका जलविद्युत् आयोजनाहरूमा जलप्रवाह बढ्दै जाँदा स्वदेशी उत्पादन पनि बढेकाले निर्यात थालिएको हो । प्राधिकरणले विद्युत् प्रतिस्पर्धी बजारमा औसत ७.३० भारतीय रुपियाँमा बिक्री गरेको छ । उहाँले भन्नुभयो, “अब शनिबारदेखि क्रमिक रूपमा अन्य सूचीकृत आयोजनाको विद्युत् पनि भारततर्फ निर्यात सुरु गछौँ ।”

बिहीबार मात्रै करिब एक करोड नेपाली रुपियाँको विद्युत् निर्यात भएको छ । कमिसन तथा ह्विलिङ चार्ज घटाउँदा प्राधिकरणले करिब ९४ लाख रुपियाँ प्राप्त गर्नेछ । कारोबारमा शनिबारदेखि कालीगण्डकी र मध्यमस्र्याङ्दीको विद्युत् निर्यात सुरु गर्ने उहाँले जानकारी दिनुभयो । कालीगण्डकीको १४० मेगावाट, मध्यमर्याङ्दीको ६८ मेगावाट निर्यात गर्ने तयारीमा प्राधिकरण जुटेको छ । कोइला सङ्कटका कारण भारतमा अहिले विद्युत्को माग अत्यधिक रहेकाले यो वर्षातमा महँगोमा बिजुली बेच्न पाउने आशा प्राधिकरणको छ ।

त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली २४सै घण्टा भारततर्फ निर्यात सुरु भएको हो ।

भारतीय बजारमा निर्यात सुरु गरे पनि हाललाई आयात भने रोकिएको छैन । खास गरी पश्चिम नेपालमा विद्युत् आपूर्ति सन्तुलन गर्नका लागि भारतबाट दिउँसोको समयमा आयात भइरहेको छ । प्राधिकरणका अनुसार बुधबार ३४ हजार ३१३ मेगावाट घण्टा विद्युत् खपत भएकोमा तीन हजार ३५६ मेगावाट घण्टा विद्युत् आयात भएको देखिएको छ । घिसिङका अनुसार करिब दुई साता भारतबाट सामान्य आयात निरन्तर हुनेछ । 

पूर्वी नेपालबाट पश्चिममा आपूर्ति गर्न प्रसारण लाइनको सीमितताका कारण टनकपुरबाट आयात गरिएको हो । भरतपुर–बर्दघाट चार सय केभी प्रसारण लाइन निर्माण नसकिएकाले यस्तो समस्या रहँदै आएको हो । प्राधिकरणले यो वर्षात्मा भारतीय खुला बजारमा पाँच सय मेगावाटसम्म बिजुली बिक्री गर्ने योजना बनाएको छ । प्राधिकरणले भारतीय खुला बजारमा निर्यात गर्नका लागि हालसम्म छवटा आयोजनाबाट ३६४ मेगावाटको अनुमति पाएको छ । 

गत चैतमा कालीगण्डकी ‘ए’ को १४० मेगावाट, मध्य मस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ को ४१ मेगावाट विद्युत् आईआईएक्समा सूचीकृत हुने अनुमति पाएको हो । हालकै अनुमतिको अतिरिक्त व्यवस्थाका आधारमा प्राधिकरणले ४१२ मेगावाटसम्म बिजुली बिक्री गर्न पाउने प्रमुख कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गत चैतमा सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुक्त दृष्टिकोणमा नेपाल–भारत विद्युत् व्यापार सहज बनाउँदै जाने उल्लेख छ । 

Author

गोपालचन्द्र सुवेदी