• १५ चैत २०८१, शुक्रबार

डहरेखोला पुल निर्माण

चार महिनामा पचास प्रतिशत प्रगति

blog

रिडी–रुद्रवेणी–वामीटक्सार खण्ड अन्तर्गत निर्माणाधीन डहरेखोला पुल । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), चैत ८ गते । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत डहरेखोला पुल तीव्र रूपमा निर्माण भइरहेको छ । सत्यवती गाउँपालिकामा पर्ने डहरेखोला पुल गत कात्तिक दोस्रो साता गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले शिलान्यास गर्नुभएको थियो । चार महिनामा पुलको ५० प्रतिशतभन्दा बढी प्रगति भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँले बजेट अभाव नभए वर्षाअगावै डहरे र भार्सेखोला पुल निर्माणको काम सक्ने प्रतिबद्धता जनाउनुभयो । आर्थिक प्रगति पनि ४० प्रतिशत भएको छ । 

डहरेखोलामा पहिरोबाट ४५ वर्षको सास्ती खेपेका नागरिक तीव्र रूपमा पुल निर्माणले खुसी छन् । कामको रफ्तार धेरै राम्रो भएकाले बर्सौंको सास्ती अन्त्य हुनेमा आफू विश्वस्त भएको सत्यवती गाउँपालिका–६ का ४१ वर्षीय यमप्रसाद भण्डारीले बताउनुभयो । दैनिक सयौँ गाडी गुड्ने रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड डहरेखोलाका कारण बर्सातमा नागरिकले निकै सास्ती खेप्नु पर्छ । यो सडकखण्डको अधिकांश स्थानमा कालोपत्रे भएको छ तर बिचमा खोलामा पुल नहुँदा समस्या पथ्र्यो । अहिले तिनै स्थानमा चार वटा पुल प्याकेजमा निर्माण हुँदै छन् । 

एउटै ठेक्कामार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजेश्वरी–लुम्बिनी जेभीले पुल निर्माणको सम्झौता गरेको छ । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमका अनुसार भार्सेखोला पुलको २५ प्रतिशत र तल्लाफाँट पुलको पाँच प्रतिशत भौतिक प्रगति भएको छ । भार्सेखोलामा एउटा पिल्लर सकेर अर्कोको काम भइरहेको छ । तल्लाफाँटामा फाउन्डेसन निर्माण गरिए पनि नादेवाखोलामा पुल निर्माणको काम भएको छैन । निर्माण व्यवसायीले २०८० जेठ २२ गते पुल निर्माणको सम्झौता गरेका थिए । पुलको डिजाइन पनि निर्माण व्यवसायीले नै गर्नुपर्ने भएकाले ढिला काम सुरु भएको हो । सबै पुल २०८२ साउन २२ गतेसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चार वटै पुल निर्माणका लागि २२ करोड ३१ लाख रुपियाँ लागत लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार डहरे र भार्से ४०÷४० मिटर, नादेवा र गिदीखोला पुलको लम्बाइ २०÷२० मिटर रहेको छ । सबै पुलको चौडाइ फुटपाथसहित ११ मिटर रहेको छ । सबै पुल प्री स्ट्रेस्ड प्रविधिमा निर्माण हुने गौतमले बताउनुभयो । सरकारले काम गरेको रकम समयमै भुक्तानी गरे सम्झौता समयमै पुल निर्माण गर्ने निर्माण व्यवसायी भागवत गिरीले बताउनुभयो ।