• १७ असार २०८१, सोमबार

गठबन्धन भत्काउने एमाले अभियान

blog

राजनीतिमा जबजब परिस्थिति फेरिन्छ, नेताहरूका रणनीति पनि बदलिने गर्छन् । स्थानीय तह निर्वाचन परिणामले राजनीतिक दलको हैसियत र परिस्थितिमा बदलाव आएको प्रतीत हुन्छ । हिजो सहज अवस्थामा रहेका दल आज पीडादायी अवस्था भोग्दैछन् भने दुःखी भएकाहरू बौरिने अवस्था निर्माण भएको छ । यस्तै नियति भोग्दैछ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ।

चार वर्षअघि मात्रै दुईतिहाइ जनमत कमाण्ड गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अल्पमतमा हुनुहुन्छ । गएको स्थानीय तह निर्वाचनमा दोस्रो हैसियतमा खुम्चिएको नेपाली कांग्रेस यस पटक एक नम्बर शक्ति बनेको छ । यतिखेर एमालेमा ठूलै सङ्कट मडारिएको अनुभूति नेतृत्वले गरेको देखिन्छ । स्थानीय तह निर्वाचन परिणामले एमाले वृत्तमा भुँइचालो नै गएको छ ।

एमाले अध्यक्ष ओलीले गत मङ्सिरमा चितवनमा सम्पन्न पार्टी महाधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्ष दोहोरिएपछि भन्नुभएको थियो– अब हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन होइन, यो त मिनी जनमतसङ्ग्रह हो । एमालेको कुन उचाइ छ त्यो छर्लङ्ग पार्न निर्वाचन कुरौँ । नभन्दै २०७९ वैशाख ३० मा निर्वाचन सम्पन्न भयो ।

लगभग सबै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ तर परिणाम एमालेका लागि सहज र पाच्य रहेन । कम्तीमा यस्तो दुरवस्थाको कल्पना ओलीले गर्नुभएको थिएन । ओलीले जनताले यसरी दण्डित गर्लान् भन्ने कल्पनासमेत गर्नुभएको थिएन । त्यसैले अब एमाले वृत्तमा नयाँखाले सोच र रणनीति बन्न थालेको छ । बाहिर जेसुकै भने पनि पराजयको कारण गठबन्धन नै हो भन्ने निष्कर्ष एमालेले निकालेको छ । 

पाँच दलीय गठबन्धन जसरी भए पनि भताभुङ्ग पार्न एमाले नेतृत्व कस्सिएको छ । यसका लागि आवश्यकताअनुसारको कार्ड प्रयोग गर्न एमालेले तयारी थालेको छ । सकेसम्म नेकपा माओवादी केन्द्रलाई फकाउने र वाम गठबन्धन गर्ने, नभए एमालेबाटै अलग भएको माधव नेपाल नेतृत्वको नेकपा समाजवादीसँग एकीकरण गर्ने । सकेसम्म माओवादी नै प्राथमिकतामा राख्ने एमाले रणनीति रहेको छ । यस प्रयोजनका लागि ओलीले प्रधानमन्त्री कार्डको समेत प्रयोग गर्ने बुझिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन एमाले तयार रहेको भनी फकाउने पक्षमा छ । कदाचित प्रचण्ड नमाने नेपाललाई नै भए पनि त्यो अफर गर्नुपर्ने पक्षमा एमाले नेतृत्व तयार देखिन्छ । 

उसले चाहेअनुसार गठबन्धन भत्काउन सहज भने छैन । यथास्थितिमा ओलीसँग सहकार्य गर्न न प्रचण्ड तयार हुनुहुन्छ न त नेपाल । बरु ओलीबाहेकको एमालेसँग भने गठबन्धन गर्न सकिने टिप्पणी नेताहरूबाट आएका छन् । हाललाई ओलीबिनाको एमाले परिकल्पना गर्न सकिन्न । त्यसैले वाम गठबन्धन निर्माण वा सत्ता गठबन्धन भत्काउने काम सजिलै होलाजस्तो देखिन्न । 

स्थानीय तह निर्वाचन परिणामले कांग्रेसलाई थोरै राहत दिए पनि उत्साह थप्ने कामचाहिँ भएन । बरु नेकपा माओवादी केन्द्र भने प्राप्त परिणामबाट निकै हौसिएको छ । नवनिर्वाचित स्थानीय तहका प्रमुखहरूलाई दिइएको प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्ड फेरि पुरानै शैलीमा फर्कनुभएको छ । उहाँले कार्यकर्तालाई उत्साहित पार्न कांग्रेसलाई पनि तह लगाउने भाषण गर्नुभयो ।

यद्यपि त्यो हैसियत निर्माणमा स्वयं कांग्रेसकै भूमिका रहेको पक्ष भने प्रचण्डले विस्मृतिमा राख्न खोज्नुभएको छ । चुनावी परिणामले माओवादीको बार्गेनिङ पावर ह्वात्तै बढाएको चर्चा राजनीतिक वृत्तमा छ । त्यसैलाई पुष्टि गर्दै प्रचण्डले यस्तो बोली बोल्नुभएको अनुमान गर्न सकिन्छ । 

उता, एमालेका लागि भने मत परिणाम अनपेक्षित नै रह्यो । पार्टी अध्यक्ष ओलीले धाँधली वा सत्ता प्रभाव भनिरहँदा दोस्रो तहमा भने पार्टी विभाजन नै हारको मुख्य कारण रहेको विश्लेषण गरिएको छ । निर्वाचन परिणाम सार्वजनिक भइरहँदा एमालेका दोस्रो तहका नेताले भने एकीकृत समाजवादीका केही नेतासँग पनि कुरा गरिरहेका छन् । त्यस्तै माओवादी केन्द्रसँग पनि आगामी चुनावमा पार्टी एकता वा तालमेलको विषयमा अनौपचारिक छलफल चलाइएको अवस्था छ । ओली भने जसरी भए पनि सत्ता गठबन्धन भत्काउने एक सूत्रीय अभियानमा लाग्नुभएको छ । 

यसैक्रममा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग चुनावलगत्तै भेट गर्नुभएको थियो । पाँचदलीय गठबन्धन भत्काउने पहिलो प्रयास ओलीले यही बिन्दुबाट थाल्नुभएको हो तर सोचेजस्तो रेस्पोन्स नभएपछि ओलीलगायत एमाले नेता अब प्रचण्ड र नेपाललाई फकाउनेतिर लाग्नुभएको छ । स्रोतहरू भन्छन्–गठबन्धन भत्काउन ओली अब जस्तोसुकै मूल्य चुकाउन तयार हुनुहुन्छ ।

यहाँसम्मकी आवश्यक प-यो भने नेपाललाई प्रधानमन्त्री दिनसमेत ओली तयार भइसक्नु भएको छ । त्यो सम्भव नभए प्रचण्डलाई चुनावी सरकारको प्रधानमन्त्री दिएर तालमेल गर्न ओलीले अनौपचारिक रूपमा प्रस्ताव गरिसक्नुभएको छ । त्यसलाई पुष्टि गर्नेगरी सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भइरहेका छन् ।

हिजो मात्रै एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुर्खेतमा आयोजित एक कार्यक्रममा प्रष्ट भन्नुभयो, “फेरि जस्केलाबाट छिरेर प्रधानमन्त्रीको प्रस्ताव आएको छ ।” उहाँले एमाले वृत्तबाट यस्तो प्रस्ताव आएको सङ्केत गर्नुभयो । एमाले नेतृत्वको यस्तो अफर षड्यन्त्रको अङ्ग भएको उहाँको तर्क छ । आफू कुनै लालच वा प्रलोभनमा नपर्ने भन्दै यस्तै प्रस्ताव प्रचण्डलाई समेत गएको खुलासा गर्नुभएको छ । एमाले अध्यक्ष ओलीको कार्ड अब काम नलाग्ने भएको पनि नेता नेपालले बताउनुभयो । नेपालले मात्र नभई यस्तो प्रस्ताव आफूलाई समेत प्राप्त भएको सङ्केत प्रचण्ड स्वयंले गर्नुभएको छ ।

उहाँले पनि बुधबार पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदा यस्तो जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रचण्डले एमाले र कांग्रेस दुवैलाई माओवादीले आफूअनुकूल चलाउन सक्ने विशिष्ठ परिस्थिति निर्माण भएको अवगत गराउनु भएको थियो तर उहाँले पनि एमालेको प्रस्तावबमोजिम तत्कालै गठबन्धन भत्काउन आफू तयार नभएको प्रष्ट पार्नु भएको छ । 

यति हुँदा पनि एमाले बाहिर भने अझै पनि चुनावमा पराजय भएको स्वीकार्न तयार छैन । उसको तर्क छ– भलै सिट सङ्ख्या घट्यो होला, तर जनमत भने बढेको छ । ०७४ को निर्वाचनभन्दा पनि अहिले २१ प्रतिशतले जममत बढेको एमाले तथ्याङ्क छ । बाजुराको बूढीगङ्गा गाउँपालिकाबाहेक ७५२ तहको निर्वाचन परिणाम आइसक्दा कांग्रेस ३२९ र एमाले २०५ प्रमुख पदमा निर्वाचित भएका छन् । ०७४ मा एमाले २९४ र कांग्रेस २६६ स्थानमा विजयी भएको थियो । यसरी हेर्दा एमालेले यस पटक ८९ वटा प्रमुख गुमाएको छ भने ६ वटै महानगरमा शून्यमा झरेको छ । यति हँुदा पनि एमालेकै जनमत भने अझै बढेको उसको दाबी रहेको छ । चुनाव हार्नुको कारण सत्ताको दुरुपयोग भने पनि चुरो कुरो गठबन्धन नै भएको ठहर एमालेले गरेको छ । 

एमालेको ओरालो यात्राको प्रारम्भ ६ जेठ, २०७७ बाट भएको हो । एमाले अध्यक्षसमेत रहनुभएका तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक जब प्रतिनिधि सभा भङ्ग गर्न सिफारिस गरेपछि पार्टीभित्र त पहिरो नै गयो । कांग्रेसका सभापति तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नेतृत्वमा वैकल्पिक सरकार बनाउन आफूहरू तयार भएको भन्दै प्रचण्ड, माधव नेपाललगायत १४९ जना प्रतिनिधि सभा सदस्यले हस्ताक्षर बुझाउनु भएको थियो । यही बिन्दुबाट एमालेको ओरालो यात्रा सुरु भएको हो । त्यसयता एमालेले सङ्घ, प्रदेश र अहिले स्थानीय सरकार पनि गुमाउनु परेको छ तर ओलीको हुँकार र दम्भ भने कायमै छ । केही दिनअघि मात्रै उहाँले अबको केही दिनभित्रै एमाले बहुमतका साथ सिंहदरबार छिर्ने उद्घोष गर्दै हुनुहुन्थ्यो । 

पाँच दलीय गठबन्धनलाई परमादेशी भन्दै जनताले एमालेलाई नै फेरि बरमाला पहि-याउने ओलीको विश्वास थियो । प्रदेश र सङ्घको निर्वाचन भइनसके पनि अहिलेको मत परिणामबाटै धेरै कुराको प्रक्षेपण गर्न सकिन्छ । एमालेले आफ्नो जनमत नघटेको बरु सत्ताको दुरुपयोग र अन्तर्घातका कारण सिट सङ्ख्या खुम्चिएको भनी प्रतिक्रिया दिएको छ । केही सिट घटेको होला तर पपुलर मत अझै थपिएको छ– ओली कथन छ । एमाले वृत्तमा ओलीको लोकप्रियता चरमचुलीमा रहेको ठम्याइका साथ जनमत थपिने तर्क गरिन्थ्यो । मत परिणामले भने उक्त तर्कलाई खण्डित गरिदिएको छ ।

त्यसैले अब जसरी भए पनि सत्ता गठबन्धन भत्काउनैपर्ने पक्षमा एमाले नेताहरू एकमत भएका छन् । त्यसका लागि वाम गठबन्धन मुद्दा नै प्रभावकारी हुने धेरैको विचार रहेको छ । यद्यपि कतिपयले अहिले माधव नेपालसँग चाहिँ मिल्न नहुने तर्क गर्ने गरेका छन् । ओली पनि यही पक्षमा हुनुहुन्थ्यो । पछिल्लो समय भने लचकता अपनाउने रणनीति बनाउनु भएको एमाले नेताहरू बताउँछन् । प्रचण्ड वा नेपाल जसलाई भए पनि प्रधानमन्त्रीको कार्ड फालेर आगामी संसदीय निर्वाचन जित्ने ओलीको अभीष्ट देखिन्छ । 

Author

शिवकुमार भट्टराई