• ३ साउन २०८१, बिहिबार

मौसमको जानकारी नहुँदा उडान प्रभावित

blog

काठमाडौँ, जेठ २० गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । 

भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न  पाएनन् । प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्व र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।

विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्राधिकरणले निर्णय गरे पनि मौसम पूर्वानुमान महाशाखासँग कुनै समन्वय नहुँदा पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको बताउनुभएको छ । उहाँले समन्वयकै अभावले बिहीबार तारा एयरको काठमाडौँबाट लुक्ला विमानस्थलका लागि तय भएका पाँचवटा र नेपालगञ्जबाट जुफाल (डोल्पा), सिमकोट (हुम्ला), कोल्टी (बाजुरा), जुम्ला र ताल्चा (मुगु) विमानस्थलका लागि तय भएका उडान रद्द भएको बताउनुभयो । मौसमसम्बन्धी समन्वयकै अभावले तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि बन्द गरिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जेठभित्रै नेपालमा मनसुन सक्रिय हुनसक्ने देखिएकाले थप उडान प्रभावित हुने चिन्ता व्यक्त गर्नुभयो ।

विमानस्थलको टावरले मौसम तथा हवाई मौसम शाखाले मौसम सफा भएको पुष्टि नगरेसम्म उडान अनुमति नदिने र यात्रुले समयमै किन जानकारी नगराएको भन्ने जवाफ खोज्दा एयरलाइन्सहरू थप समस्यामा पर्न थालेको उहाँले बताउनुभयो ।

दुई जना पाइलट असम्भव

नेपाल वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने निर्णयको कार्यान्वयन सम्भव नरहेको बताएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको जनाउँदै सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको छ । हेलिकप्टरमा दुई जना पाइलट राख्नेबारे प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको  छ ।

एक इन्जिन भएको हेलिकप्टरमा दुई जना पाइलट राख्दा तलबमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धराशायी हुने सञ्चालकहरूको भनाइ छ । नौ सिटभन्दा माथिका हेलिकप्टरमा दुई जना पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई जना पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँहरूको धारणा छ  । हाल नेपालमा ११ वटा हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ वटा र दुई वटा इन्जिन भएका पाँच वटा हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । १० जना विदेशी र २६ जना नेपाली पाइलटले एक इन्जिन भएका हेलिकप्टर उडाउँदै आएका छन् ।

Author

मीनराज भण्डारी