• ४ चैत २०८१, सोमबार

नवलपरासीमा चिनी मिलले पैसा नदिएपछि किसान मर्कामा

blog

फाइल तस्बिर ।

विकास अधिकारी

नवलपरासी पश्चिम, चैत ४ गते । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईन्डिष्ट्रिज प्रालिले उखु खरिद बापतको ५ करोड बढि रकम भुक्तानी नदिएपछि किसानहरु मर्कामा परेका छन् । 

यो सिजनमा मिल सञ्चालनमा रहेका बेला उद्योगका सञ्चालक राकेश अग्रवाल नेपाल बाहिर गएपछि झन्डै एक हजार किसान समस्यामा परेका छन् । उद्योगले चालु आर्थिक वर्षमा झन्डै ६ लाख क्वीन्टल उखु क्रसिङ गरेको छ । 

नजिकको उद्योग भएकाले धमाधम ईन्दिरा मिललाई उखु विक्रि गरेको भएपनि उद्योगको साहुनै भागेपछि भुक्तानी नपाईने हो कि भन्ने चिन्ता थपिएको स्थानिय किसान रामभद्र मौर्यले बताउनुभयो । 

उद्योगले भुक्तानीमा ढिलाई गरेपछि किसानको गुनासो अनुसार उद्योगलाई भुक्तानीको लागी ताकेता गरेको प्रतापपुर गाँउपालिकाका अध्यक्ष तथा उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

ईन्दिराले किसानको ५ करोड ३ लाख रुपियाँ भुक्तानी दिन बाँकी छ । “उद्योगका साहु सम्र्पकबाहिर छन्, हामीले उद्योगलाई पटक पटक बक्यौता भुक्तानीको लागी ताकेता गरेका छाँै, अहिले एउटा संयन्त्र बनाएर क्रमैसँग भुक्तानी गर्ने कर्मचारी तहमा सहमति बनेको छ”, अध्यक्ष यादवले भन्नुभयो । 

सो उद्योगमा काम गर्ने मजदुरले समेत पुरा तलब पाउन बाँकी रहेको छ । बक्यौता भुक्तानीको समस्या समाधानका लागी गाँउपालिकाको सक्रियतामा मिलमा कार्यरत व्यवस्थापन तहका कर्मचारी र किसानका प्रतिनिधि सहितको संयन्त्र निर्माण गरिएको अध्यक्ष यादवले बताउनुभयो ।  सो संयन्त्रमार्फत उद्योगमा रहेको चिनि लगायतका समाग्री बिक्रि गरेर क्रमैसंग किसानको रकम भुक्तानी गर्ने सहमति भएको छ ।

जिल्लामा तिनवटा चिनी उद्योग सञ्चालनमा छन् । ती उद्योगले पनि चालु आर्थिक वर्षमा किसानबाट उखु खरिद बापतको भुक्तानी गरेका छैनन् । सुनवलमा रहेको लुम्बिनी चिनी र सुस्तामा रहेको बागमती खाडसारी चिनी मिलबाट किसानले दश करोड बढि रकम भुक्तानी पाउन बाँकी छ । 

समयमै भुक्तानी नपाउदा किसानहरु मर्कामा परेका छन् । विगतमा वर्षौदेखि भुक्तानी नपाउने समस्याले आजित भएका किसानहरु केरा खेतीतर्फ पलायन भएका थिए । पछिल्लो समय विगतको तुलनामा भुक्तानीको समस्या केही समाधान भएपनि नियमित हुन सकेको छैन ।