• ४ चैत २०८१, सोमबार

रेड पान्डा संरक्षणमा जोड

blog

फाइल तस्बिर ।

गार्डेन राई

सोलु, चैत ४ गते । हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले समुदायमा आधारित रेड पान्डा संरक्षण परियोजना सम्बन्धी जिल्ला स्तरीय सरोकारवालासँग अन्तरक्रिया गरेको छ । 

दुर्लभ वन्यजन्तु रेड पान्डाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुमा सञ्चालित हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले जिल्लास्थित सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियाका क्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोलुखुम्बुमा रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिँदै संरक्षण तथा सम्बद्धर्नमा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले संरक्षणको अभावले जोखिममा रहेको दुर्लभ वन्यजन्तु रेड पान्डाको संरक्षणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने बताउनुभयो । हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले रेड पान्डा संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा रहेको बताउँदै रेड पान्डा संरक्षणका लागि सबै निकायले चासो दिनका लागि आग्रह गर्नुभयो ।

सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका, महाकुलुङ गाउँपालिका र  सोताङ गाउँपालिका गरी ४ वटा स्थानीय तहमा रेड पान्डा संरक्षण सम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालनमा रहेको हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले जानकारी दिनुभयो । 

यस्तै फाप्लु सामुदायिक विद्यालय, पिके माध्यमिक विद्यालय तामाखानी, छेस्काम माध्यमिक विद्यालय, चेपेल माध्यमिक विद्यालय र हिमगंगा माध्यमिक विद्यालय गरी ५ वटा सामुदायिक विद्यालयमा रेड पान्डा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले रेड पान्डा संरक्षणका लागि क्यामेरा ट्र्यापको प्रयोग गरी जङ्गली स्तनधारी जनावरहरूको सर्वेक्षण र निगरानी गर्ने, चोरी सिकार विरोधी एकाइको स्थापना गर्ने कार्यक्रम रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । 

यस्तै चोरी सिकार विरोधी एकाइहरूको क्षमता अभिवृद्धि तालिम प्रदान गर्ने, सामुदायिक वनमा चोरी सिकार विरोधी गस्ती र वन्यजन्तु अपराध नियन्त्रण व्यरोको स्थापना र सहयोग गर्ने योजना रहेको हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले जनाएको छ ।

अन्तरक्रियाका क्रममा सोलुखुम्बु जिल्लामा हालसम्म रेड पान्डाको सङ्ख्या यकिन नभएको तर जिल्लाको लिखुपिके गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका र महाकुलुङ गाउँपालिकामा रहेको विभिन्न सामुदायिक वनमा रेड पान्डा रहेको हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।