• ६ चैत २०८१, बुधबार

बालबालिकाको आँखामा लाग्ने क्यान्सर रेटिनोब्लास्टोमा

blog

काठमाडौँ,चैत ६ गते । बालबालिकाको आँखा डेढो भएमा धेरलै भाग्यमानीको संज्ञा दिने चलन आज पनि उस्तै छ । 

बालबालिकाको आँखा डेढो भएमा तथा आँखाको कालो भागमा सेतो दाग देखिनु भाग्यमानीको निसानी नभएको चिकित्सक बताउँछन् । 

आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले बालबालिकाको आँखा टेढो भएमा तथा आँखाको कालो भागमा सेतो दाग देखिएमा क्यान्सरको लक्षण हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, “यदि बच्चाको आँखा सामान्यभन्दा फरक भएमा क्यान्सरको लक्षण हुने हुँदा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

यस्तो लक्षण देखिएका अधिकांश बालबालिकाको आँखामा लाग्ने क्यान्सर रेटिनोब्लास्टोमा पुष्टि हुने गरेको डा.राजकर्णिकारको भनाइ ।  

लक्षण देखिएका धेरै बालबालिकाले समयमा नै उपचार नगराउँदा जटिल समस्या देखिने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“बालबालिकाको आँखा टेढो भएमा तथा आँखाको कालो भागमा सेतो दाग देखिए भाग्यमानी हुन्छ भनेर उपचार नगराउँदा पछि गएर गम्भीर समस्या निम्तिएका थुप्रै उदाहरण छन्।”  

तिलगङ्गा आँखा प्रतिष्ठानमा बर्सेनि ४० जना यस्ता बिरामी आउन गर्छन् । देशभरका आँखा अस्पतालको तथ्याङ्क हेर्ने हो भने वार्षिक ५० जना रेटिनोब्लास्टोमा नयाँ बिरामी थपिने अनुमान गरिएको छ । जसमध्ये १५ जनामा रोग दुवै आँखामा फैलिसकेको अस्पतालमा पुग्ने उहाँले बताउनुभयो । अध्ययनले १५ हजार नवजात शिशु जन्मेकामध्ये एक जनामा रेटिनोब्लास्टोमा पुष्टि हुने देखाएको छ ।  

के हो रेटिनोब्लास्टोमा ?

रेटिनोब्लास्टोमा बालबालिकाको आँखामा लाग्ने क्यान्सर रोग हो । डा.राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । रेटिनोब्लास्टोमा क्यान्सर पाँच वर्षमुनिका बालबालिकाका बढी देखिन्छ । बालबालिकामा देखिने क्यान्सरमध्ये ५० प्रतिशतमा रेटिनोब्लास्टोमा पुष्टि हुने गरेको छ । 

यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्ने डा.राजकर्णिकारको तर्क छ । 

नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत छ  । तर विकसित देशमा भने ५ प्रतिशतभन्दा कम छ । आँखा क्यान्सर विशेषज्ञ डा. राजकर्णिकारले रेटिनोब्लास्टोमा प्रारम्भिक अवस्थामा नै रोग पत्ता लगाएर उपचार गरेको खण्डमा पूर्ण रूपमा क्यान्सरमुक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिने बताउनुहुन्छ । 

लक्षण 

रेटिनोब्लास्टोमा प्रमुख लक्षण आँखाको कालो नानीको बिच भागमा असाधारण सेतो दाग देखिने गर्छ । त्यो बाहेक रङ्गीन  फोटोमा आँखाको नानीमा सेतो टीका देखिनु, आँखाको नानी  फरक फरक देखिने, आँखा टेढो हुनु, आँखा रातो हुनु, आँखा दुख्ने, दृष्टि कम हुने, आँखाको आकार ठुलो हुँदै जानु यो रोगका प्रमुख लक्षण हुन् ।   

हेलचेक्राइँ गरेमा यो रोग शरीरका अन्य भागमा पनि क्यान्सर फैलने सम्भावना बढी हुन्छ । डा.राजकर्णिकारका अनुसार यो रोग समयमा नै उपचार भएन भने आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्यरूपमा बढ्ने र विस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम बढ्छ । 

यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । परिवार एक जनामा यो रोग लागेको छ भने परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन् । 

यो रोगको उपचार लेजर तथा शल्यक्रिया  किमोथेरापी, रेडियोथोरपी, थर्मोथेरापी, शल्यक्रियाको माध्यमबाट गरिन्छ । समयमा रोग पत्ता लगाएमा उपचार सम्भव भएकाले रोग लागेको शङ्का लागे वा लक्षण देखिएमा ढिला नगरी तुरुन्त आँखाको जाँच गराउन आँखारोग विशेषज्ञको सुझाव छ ।


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।