ज्ञानु पंगेनी
मध्यविन्दु, चैत ४ गते । नवलपरासी पूर्वमा सुन्तला खेतीको क्षेत्र विस्तार हुने क्रम बढ्दो अवस्थामा रहको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरले सोमबार कावासोतीमा आयोजना गरेको पकेट-ब्लक-जोन-सुपरजोन कार्यक्रमको प्रगती समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले जिल्लामा सुन्तला खेती क्षेत्र दोब्बरभन्दा बढीले वृद्धि भएको जानकारी दिनुभयो ।
जिल्लाको बौदीकाली, बुलिङ्टार, गैंडाकोटका विभिन्न नयाँ ठाउँमा परियोजनाले क्षेत्र विस्तार गरेको छ । बुलिङटार र बौदीकाली गाउँपालिका, हुप्सेकोटको-५, देवचुलीको-६, मध्यबिन्दुको ५, ८,१३ र १५ नम्बर वडा तथा गैँडाकोट ३ र १८, कावासोतीको १७ नम्बर वडामा फलफूल जोन कार्यक्रम सञ्चालन रहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।
२०७५-०७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना लागू हुँदा ३३१ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको थियो भने चालु आर्थिक वर्षको अहिलेसम्म ८५३ हेक्टर क्षेत्रफलमा फलफूल खेतीको क्षेत्र विस्तार भएको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो ।
परियोजना लागु भएपछि जिल्लामा नै सुन्तलाजात फलफूलको नर्सरी समेत स्थापना भएपछि क्षेत्र विस्तारमा समेत टेवा पुगेको छ । कार्यालय प्रमुख सिंहका अनुसार अहिले वार्षिक रूपमा ७० देखि ९० हजार बिरुवा उत्पादन गर्नसक्ने जाली घर युक्त नर्सरी स्थापना भई आवश्यक बिरुवा उत्पादन सुरु भएको छ ।
परियोजनाको सहयोगमा १५ सयभन्दा बढी बिरुवा लगाउने किसानको सङ्ख्या २० नाघेको छ । जिल्लाका पहाडी क्षेत्रहरूमा जोन कार्यक्रम मार्फत क्षेत्रफल विस्तारमा धेरै टेवा पुगेको किसान गेसबहादुर रानाले बताउनुभयो । परियोजना लागु भएपछि नयाँ किसान समेत उत्साहित भएर लागेको उहाँले सुनाउनुभयो ।
बगैँचाको रेखदेख, मलजल र रोग कीरा लाग्दा परियोजनाले प्राविधिक सहयोग गर्ने तथा विभिन्न तालिम सञ्चालन गरेर किसानलाई सचेतना जगाउने र नयाँ कामका रूपमा फलफूलको नर्सरी स्थापना भएपछि किसानलाई धेरै सहज भएको रानाको भनाइ छ । रानाले अहिले १५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ ।
परियोजना अन्तर्गत सुन्तलाको बिरुवामा ५० प्रतिशत, सिँचाइका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५०, निःशुल्क प्राविधिक सेवा, सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ ।
यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् तरकारी सुपर जोन र धान जोन कार्यक्रम सञ्चालनमा छ भने यसै वर्षबाट व्यावसायिक प्याज प्रवर्धन कार्यक्रम मार्फत २० बिघा क्षेत्रफलमा उन्नत प्रविधि सहित व्यावसायिक प्याज खेती सुरु गरिएको छ ।
हुप्सेकोट १ २ ३ र ४, कावासोती-४, ९, १०, १२, १५,१६, १७, मध्यविन्दु १ २ ३ ६ ९, बुलिङ्गटार ५, बौदिकाली ५ र ६ गरी १९ वटा वडाहरूमा तरकारी सुपर जोन लागु भएको छ भने गैँडाकोट ११,१२,१४,१५ र १७ गरी ५ वटा वडाहरूमा धान जोन कार्यक्रम सञ्चालनमा रहेको सिंहले बताउनुभयो ।
सुरुमा तरकारी जोन कार्यक्रम सुरु हुँदा ५१२ हेक्टर क्षेत्रफलमा तरकारी खेती सुरुवात गरिएको थियो भने अहिले तरकारी सुपर जोन लागु भएपछि क्षेत्रफल विस्तार भई ८१० हेक्टर पुगेको छ ।
यस्तै, कार्यक्रममा कृषहरूले विभिन्न माग समेत राखेका थिए । कृषकका आवश्यकता अनुसारका कार्यक्रम छनाेट भएमा कृषि सफल हुने र परियोजनाको लक्ष्य समेत पुरा हुने हुँदा कृषकले टिपोट नै गरी कार्यक्रम माग गरेका थिए ।
सुन्तला जातमा मुख्य कृषि उपकरण तथा सिँचाइ, धान जोनमा बिउ तथा सिँचाइलाई मुख्य प्राथमिकतामा राखिएको छ भने तरकारी सुपर जोनतर्फ आधुनिक कृषि प्रणाली भित्र्याउन आग्रह गर्दै कृषि उपकरण र सिँचाइलाई नै प्राथमिकतामा राखिएको छ ।