साहारा लिम्बू
फुङलिङ, चैत ४ गते । १२ महिला र एक पुरुष सम्मिलित टोलीले विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जीएचटी) को एक सय दिने पदयात्रा सोमबारदेखि सुरु गरेको छ ।
विश्वभरका पर्यटक तथा व्यावसायीहरूमाझ ग्रेट हिमालयन ट्रेल (जिएचटी) लाई चिनाउन १२ नेपाली महिला र एक पुरुष सम्मिलित टोलीले पदयात्राको अभियान आजदेखि सुरु गरेका हुन् । कोशी प्रदेशको ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि कञ्चनजङ्घा हिमालको आधार शिविर घुन्सा हुँदै सुदूरपश्चिम प्रदेशको दार्चुलामा पुगेर एक सय दिनमा यो अभियान टुङ्गिने गरी सुरुवात गरिएको हो ।
१७ वटा हिमाली जिल्लाको फेदैफेद करिब १ हजार ७ सय किलोमिटर लामो पैदलयात्राको नेतृत्व सिन्धुपाल्चोककी आरोही माया गुरुङले गर्नुभएको छ । उहाँको नेतृत्वमा सिन्धुपाल्चोककै ११ महिला र दाङका १ पुरुष रहेका छन् ।
साहसिक पदयात्रामा सिन्धुपाल्चोकका सरस्वती तामाङ, सङ्गीता तामाङ, वर्षा विक, सङ्गीता विश्वकर्मा, अनिशा श्रेष्ठ, रंजिता लामा, शान्ति थिङ तामाङ, श्रृष्टी तामाङ, मनमाया तामाङ, दिपा लामिछाने, र प्रमिता सापकोटा रहनुभएको छ । यस्तै, यही टोलिमा दाङका ६५ वर्षीय पुरुष सुन्दरकुमार चौधरी समेत रहनुभएको छ । टोलीमा सहयोगीको रूपमा अन्य ११ जना पुरुषहरू समेत गरी २४ जनाको समूह रहेको छ ।
पदयात्राभरी हुने खर्च पदयात्री आफैँले जुटाएको नेतृ गुरुङको भनाइ छ । उहाँका अनुसार १ सय दिनको अवधिमा प्रतिव्यक्ति करिब १५ लाख रुपियाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
ग्रेट हिमालयन ट्रेल अन्तर्गत पूर्वी नेपालको कञ्चनजङ्घादेखि पश्चिमको फारवेष्ट दार्चुलासम्मका यी सम्भावित पर्यटकीय स्थललाई समेटिएको छ । उक्त १० वटा भाग अन्तर्गत कञ्चनजङ्घा क्षेत्र, मकालु–बरुण, एभरेस्ट–रोलवालिङ, हेलम्बु–लामटाङ, गणेश हिमाल–मनास्लु, अन्नपूर्ण र मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला र फारवेस्ट नेपाल रहेका छन् ।