• ४ चैत २०८१, सोमबार

सुशासन प्रवर्धनसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत ४ गते । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ । 

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव पारितका लागि सोमबार बैठकमा स्वीकृतिको प्रस्ताव गर्नुभएको थियो । विधेयक निर्णयार्थ बैठकमा प्रस्तुत हुँदा पक्षमा ९६ र विपक्षमा ४९ मत परेको थियो । उपसभामुख इन्दिरा रानाका अनुसार बैठकमा विधेयक निर्णयार्थ पेस हुँदा सांसद सङ्ख्या १४५ रहेको थियो ।

सोअघि मन्त्री गुरुङले सो विधेयक दफाबार छलफलका लागि संसद बैठकमा प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि दफाबार छलफलपछि उपसभामुख राणाले विधेयक पारितका लागि विधेयक निर्णयार्थ पेस गर्नुभएको थियो । 

बैठकमा सांसदहरू चित्रबहादुर केसी, प्रकाश ज्वाला, अमरेशकुमार सिंह, अशोककुमार चौधरी, प्रेम सुवाल लगायत सांसदहरूले धारणा राख्नुभएको थियो ।