• ४ चैत २०८१, सोमबार

युएनडिपीको सहयोग प्रभावकारी : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका क्रिस्टोफ बहुये । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), चैत ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गरेकोे सहयोग प्रभावकारी रहेको बताउनुभएको छ । 

युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबिच सोमबार भएको भेटवार्तामा उहाँले युएनडिपीले दिगो विकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । 

“पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न तयार छौँ ।” उहाँले भन्नुभयो, “सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रवर्धनमा सहयोग पुग्ने छ ।’’

युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । युएनडिपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) सञ्चालनमा छ । 

गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो ।