• ४ चैत २०८१, सोमबार

गण्डकी प्रदेशमा ४५ हजारले एसइई दिने

blog

फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ४ गते । गण्डकी प्रदेशका ११ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४५ हजार सात सय ९६ विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशका एक हजार तीन सय ७४ विद्यालयका विद्यार्थीले दुई सय पाँच परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् ।

गण्डकी प्रदेशबाट नियमिततर्फ ३७ हजार १५, प्राविधिकमा एक हजार तीन सय ९० र ग्रेडवृद्धितर्फ सात हजार तीन सय ९१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको परीक्षा शाखाका अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो । 

यसपालिको एसइईमा गोरखाबाट चार हजार चार सय ६२, मनाङबाट ४६, लमजुङबाट दुई हजार नौ सय ४१ जनाले परीक्षा दिँदै छन् । यसैगरी, तनहुँबाट ६ हजार तीन सय दुई, स्याङ्जाबाट चार हजार नौ सय ७६, मुस्ताङका एक सय ९९, म्याग्दीबाट दुई हजार दुई सय १६, बागुलङबाट चार हजार आठ सय ६७, पर्वतबाट दुई हजार तीन सय पाँच र नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट ६ हजार चार सय २२ एसईई परीक्षामा सहभागी हुने शाखा अधिकृत पौडेलले बताउनुभयो । 

बढी विद्यार्थी कास्कीमा

चैत ७ गतेबाट हुने परीक्षामा गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्कीबाट ११ हजार ३७ परीक्षार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बिहीबारबाट सुरु हुने परीक्षाको तयारी लगभग सकिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रश्नपत्र, उत्तरपुस्तिका कास्कीका ३६ वटै परीक्षा केन्द्रमा पुगिससेका छन् । यस वर्ष कास्कीमा एउटा परीक्षा केन्द्र थप भएको छ ।” यसपालीको एसइईमा कास्कीका दुई सय ८७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा संस्थागत एक सय ६५ र समुदायिक विद्यालय एक सय २२ छन् । 

कास्कीमा नियमिततर्फ नौ हजार सात सय ९५, ग्रेडवृद्धितर्फ एक हजार ३४ गरी साधारणतर्फ १० हजार आठ सय २९ जना सहभागी हुँदै छन् । प्राविधिकतर्फ नियमित एक सय ८४, गेड २४ गरी दुई सय आठ परीक्षार्थी छन् । यस वर्ष कास्कीबाट आठ दृष्टिविहीन, २० श्रवणशक्तिविहीन र १६ बाल सुधारगृहका विद्यार्थी सहभागी हुँदै छन् । 

गतवर्ष कास्कीमा ३६ परीक्षा केन्द्र रहेकोमा यसपाली बीरेढाँटी माविमा केन्द्र थप भएको छ । यो केन्द्रबाट यसपाली एक सय ४९ परीक्षार्थीले एसइई दिँदै छन् ।