काठमाडौँ, चैत ४ गते । १७औँ संस्करणको धर्मश्री राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
यही चैत ७, ८ र ९ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।
धर्मश्री प्रतियोगितालाई निरन्तरता दिन धर्मश्री शारीरिक सुगठन, पूर्वमेयर पिएलसिंह मेन्स फिजिक्स एक सय ७० सिएम ओभर अन्डर राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता तथा वुमेन्स वडिविल्डिङ ओपन र ५० वर्षभन्दा माथिका खुला मास्टर शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको पनि आयोजकले जनाएको छ ।
प्रज्ञाभवन कमलादीमा हुने प्रतियोगितामा देशभरबाट ६०० जना खेलाडीको सहभागिता रहने छ । एक करोड रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पुरस्कार राशी मात्र ५२ लाख रुपियाँ राखिएको छ । प्रतियोगितालाई काठमाडौँ महानगर पालिकाले ५० लाख रुपियाँ प्रायोजन सहयोग गरेको पनि अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
फाइनल चरणको खेल चैत ९ गते हुनेछ । फाइनलमा धर्मश्री उपाधि विजेताले १२ लाख रुपियाँसहित ११ किलोको ट्रफी पुरस्कार प्राप्त गर्ने छ । यस्तै उपविजेतालाई ६ लाख र तेस्रो हुनेलाई तीन लाख रुपियाँ प्रदान गरिने छ ।
प्रत्येक विधामा शीर्ष ६ मा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कार राखिएको छ । शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।