• ४ चैत २०८१, सोमबार

गोरखापत्रकर्मी नहर्कीलाई मोफसल पत्रकार सम्मान

blog

प्रथम महिला राधिका शाक्य पत्रकार नहर्कीलाई सम्मान गर्नुहुँदै । तस्बिर : बद्री थापा ।

तनहुँ, चैत ४ गते । गोरखापत्रकर्मी अमरराज नहर्की ‘मोफसल पत्रकार पुरस्कारबाट सम्मानित हुनुभएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका–४ दुईपोखरी, मध्यपुर थिमि नगरीमा सम्पन्न पाँचौ एपिक नेपाल म्युजिक अवार्डको अवसरमा उहाँ हालै सम्मानित हुनुभएको हो ।

प्रथम महिला राधिका शाक्यले पत्रकार नहर्कीलाई सम्मानपत्र प्रदान गर्नुभयो । मोफसलमा रहेर पनि पत्रकारिता सेवामा निस्वार्थ कर्म गर्दै पत्रकारिता मार्फत आम नेपाली जनता र देश प्रतिको हितमा अबिरल लाग्दै विचलित नभई नेपाली पत्रकारिता, स्वदेशी चलचित्र, भाषा, साहित्य र विविध विषयमा समसामयिक राष्ट्रिय गतिविधीहरुमा सङ्लग्न भई योगदान पुर्‍याएकोले सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ । 

यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत सङ्गीत र चलचित्रको विकास श्रीवृद्धि गर्न अविछिन्न रुपमा पुर्‍याउनुभएको अमूल्य योगदानको उच्च सम्मान गर्दै पाँचौ एपिक नेपाल म्युजिक अवार्ड–२०८१ को अवसरमा मोफसल पत्रकार सम्मानबाट सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुनुहुन्छ । नहर्की दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । 

मोफसल रहेर योगदान गर्नेहरुलाई छायाँमा नपरुन भनेर पत्रकार नहर्कीलाई छनोट गरिएको कार्यक्रमको संयोजक तथा म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’ ले बताउनुभयो। 

सम्मान कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेत, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्य, मध्यपुरथिमिका निवर्तमान प्रमुख मदनसुन्धर श्रेष्ठ, वरिष्ठ अभिनेताहरु शिव श्रेष्ठ, वसुन्धरा भुषाल, वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, द्धन्द निर्देशक राजेन्द्र खड्गी लगायतका व्यक्तिहरू उपस्थित कार्यक्रम ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो । 

कार्यक्रममा आधुनिक, पप, लोक पप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरी ४० विधामा अवार्ड गरिएको आयोजक एपिक नेपालका अध्यक्ष यमन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेवारी समुदायको धिमेबाजा, लाखेनाच, अष्टलक्ष्मी नाच लगायतको प्रस्तुति देखाइएको थियो ।