तिलाचन पाण्डे
तम्घास, चैत ४ गते । गुल्मीमा निरन्तर तीन वर्ष ओरालो लागेको एसइई दिने विद्यार्थीको सङ्ख्या यस वर्ष उकालो लागेको छ। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार विगत तीन वर्षदेखि एसइई दिने विद्यार्थीको सङ्ख्या घट्दै गएकोमा यस वर्ष भने छिनो सङ्ख्याले वृद्धि भएको जनाएको छ ।
यस वर्ष गुल्मीमा कूल चार हजार ८५७ जना विद्यार्थीहरु एसइइमा सहभागी हुँदैछन् । यस वर्ष साधारणतर्फ तीन हजार ५२६, प्राविधिक तर्फ २६० जना नियमित परीक्षामा सहभागी हुने छन् भने ग्रेडवृद्धिमा साधारण तर्फ ९९३ र प्राविधक तर्फ ७२ जना सहभागी हुने परीक्षा शाखाका प्रमुख राधिका पन्थीले जानकारी दिनुभयो ।
गत वर्ष साधारण तर्फ तीन हजार ७९०, प्राविधिकतर्फ २९५ जना र ग्रेडवृद्धि तर्फ १२ जना गरी चार हजार ९७ सहभागी थिए । पन्थीका अनुसार २०७८ सालमा चार हजार ८२३, २०७९ मा चार हजार ७२२ र २०८० सालमा चार हजार ९७ जना विद्यार्थीले एसइइ परीक्षामा सहभागी भएका थिए ।
सङ्ख्यात्मक रुपमा यस वर्ष वृद्धि भएपनि नियमिततर्फ विद्यार्थीहरु कम हुँदै गएको इकाइ प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । यस वर्ष ग्रेड वृद्धिका विद्यार्थीहरु बढी भएका कारण सङख्यात्मक रुपमा बढेको देखिएको उहाँको भनाइ छ।
यस वर्ष गुल्मीमा एसइइका लागि २६ वटा केन्द्र निर्धारण गरिएको छ । केन्द्रका केन्द्राध्यक्षलाई तालिम प्रदान गरी केन्द्र तर्फ पठाइएको घिमिरेले बताउनुभयो । केन्द्रको नजिक रहेको प्रहरी चौकीमा उत्तर पुस्तिका र प्रश्नपत्र पुगिसकेको उहाँले बताउनुभयो ।
एसइईमा २६० जना सुरक्षाकर्मी खटिने र आवश्यकताको आधारमा थप पनि हुन सक्ने घिमिरेले बताउनुभयो । परीक्षालाई प्रभावकारी बनाउन नियमित रुपमा अनुगमन गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।