• ४ चैत २०८१, सोमबार

लागुऔषधविरुद्ध अभियानका लागि रुलिङ गर्न सांसद तामाङको आग्रह

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै सांसद तारा लामा तामाङ ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ४ गते । सांसद तारा लामा तामाङले प्रहरीले काठमाडौंमा थालेको लागुऔषधविरूद्धको अभियान देशभर सुरू गर्न सभामुखसँग रूलिङको माग गर्नुभएको छ ।  

प्रतिनिधिसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद तामाङले लागुऔषधले समाजलाई खोक्रो बनाउँदै लगेकाले यो अभियान  तीनवटै तहका सरकार र सरोकारवाला सबै मिलेर प्रत्येक जिल्ला, पालिका, टोल, विद्यालय र क्याम्पससम्म सञ्चालन गर्नुपर्ने बताउनुभयो। 

‘लागुऔषध नियन्त्रण र लागुऔषध अपराध नियन्त्रणका लागि कठोर तथा ठोस नीति अवलम्बन गर्नुपर्ने देखिन्छ, तसर्थ सभामुखज्यू मार्फत गृह मन्त्रालय र सरकारलाई रुलिङ गर्न आग्रह गर्छु’ उहाँले भन्नुभयो ।  

कञ्चनपुरबाट निर्वाचित भएका एमाले सांसद लामाले सीमासँग जोडिएको कञ्चनपुरमा लागुऔषध मुख्य चुनौती बनेको बताउनुभयो। उहाँले चालु आवको ८ महिनामा मात्र ९९ मुद्दा चलेको र १५७ जना पक्राउ परेको तथ्यांक पनि प्रस्तुत गर्नुभयो । “२२ किलो चरेस, २७६ ग्राम ब्राउन सुगर र अन्य थुप्रै ड्रग्स बरामद भएको छ। कञ्चनपुर कारागारमा रहेका कैदीमध्ये ४५ प्रतिशत लागुऔषधका छन्’ उहाँले भन्नुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयले यही फागुन १७ गतेदेखि लागुऔषधविरुद्धको अभियान सुरू गरेको थियो।