• ३ चैत २०८१, आइतबार

ताप्लेजुङ राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्षमा सेन्दाङ

blog

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ताप्लेजुङको नयाँ कार्यसमिति ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३ गते । नेकपा (एमाले) सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ताप्लेजुङको अध्यक्षमा मदनकुमार सेन्दाङ लिम्बू चयन हुनुभएको छ । सङ्गठनको १४ औं जिल्ला अधिवेशनले सेन्दाङ अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा क्षितिजकुमार गौतम, महिला उपाध्यक्षमा पूजा साम्सोहाङ, सचिव रुपेन्द्र वनेम, सहसचिव माया तामाङ, कोषाध्यक्ष नरेन्द्रकुमार अधिकारी र सहकोषाध्यक्षमा सरला नेपाली चयन हुनुभएको छ । सङ्गठनको ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेश समितिका अध्यक्ष महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो ।

सङ्गठनको विधानमा भएको व्यवस्था अनुसार जिल्ला अधिवेशनबाट निर्वाचित २४ सदस्यीय कार्यसमितिबाहेक चारजना केन्द्रीय प्रतिनिधि र नौ जना पालिका अध्यक्ष जिल्ला कार्यसमितिको पदेन सदस्य हुने गौतमले बताउनुभयो । सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद भण्डारीले जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

सङ्गठनको अधिवेशनमा एमाले पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, सङ्गठनका कोशी प्रदेश अधयक्ष गौतम, एमाले जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमु, सचिव सन्तोष चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो । सङ्गठनको जिल्ला अधिवेशन भने शनिबार राति अबेर नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।