• ३ चैत २०८१, आइतबार

हावाहुरीले पु-याएको क्षतिको लगत सङ्कलन सुरु

blog

थाहा नगरपालिकामा बिहीबार साँझ आएको हावाहुरीबाट क्षति भएका भौतिक संरचना र त्यसपछि समस्यामा परेका स्थानीय ।

मकवानपुर समाचारदाता

हेटौँडा, चैत २ गते  । मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले घरगोठसहित तरकारी खेतीका लागि बनाएको टनेलमा क्षति पु-याएको थियो । थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले असिनापानीसहित आएको हावाहुरीले पालिकाका विभिन्न वडामा स्थानीयको घरगोठ र तरकारीबालीमा क्षति पु-याएको लगत विवरण सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले हावाहुरीले क्षति पु-याएसँगै राहत र उद्धार थालिएको भन्दै असिनापानी र हावाहुरीबाट क्षति पुगेका परिवारलाई क्षतिका आधारमा प्रतिपरिवार ३० हजार रुपियाँसम्म राहत उपलब्ध गराउने थाहा नगर विपत् व्यवस्थापन समितिको बसेको आकस्मिक बैठकले निर्णय गरेको बताउनुभयो । हावाहुरीका कारण ८६ वटा घरगोठमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । नगरपालिकाका प्रवक्ता रायमाझीले नगरपालिकाको वडा नं. ३ मा ५१ वटा, वडा नं. ४ मा २५ वटा र वडा नं. ५ मा १० वटा हावाहुरीले घरको छानो उडाएर क्षति पु-याएको विवरण प्राप्त भएको जानकारी दिनुभयो । 

नेपाल रेडव्रmस सोसाइटी जिल्ला शाखा मकवानपुरले शनिबार प्रभावित क्षेत्रमा पुगेर त्रिपाल वितरण गरेको छ । यसअघि दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले हावाहुरीबाट घरगोठ क्षति भएका परिवारलाई तत्कालका लागि राहत स्वरूप दामन रेडक्रस, जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा ६० थान त्रिपाल उपलब्ध गराइएको बताउनुभयो ।

हावाहुरीका कारण थाहानगरको घर्तीखोला, डाँडागाउँ, धारापानीलगायतका स्थानका घरगोठको छानो उडाएपछि स्थानीय समस्यामा परेका छन् ।

थाहा नगर कृषि शाखा हावाहुरीसँगै आएको असिनाका कारण टनेल र खेतीपातीमा समेत गरी लाखौँको क्षति पुगेको छ । कृषि शाखाका प्राविधिकबाट कृषि बालीमा पु-याएको क्षतिको लगत सङ्कलन गर्ने कार्य भइरहेको र असिनाले थाहाको वडा नं. ७, ८, ३, ४, ५ र ६ मा क्षति पु-याएको नगरपालिकाको भनाइ छ ।